Comments Add Comment

सप्तरीबाट राज्यलाई प्रश्नः न्याय नपाए कहाँ जानु ?

'प्रहरीले लापरवाही गरेजस्तो लाग्थ्यो, अब त शंका लाग्न थाल्यो'

Jitendra_Narayan_Dev_810

मेरो नाम चन्द्रनारायण देव हो । मेरो घर सप्तरी जिल्ला राजविराज हो । म लगभग तीन वर्षदेखि काठमाडौं बस्दैछु । मास्टर्सको अध्ययन गर्दैछु ।

मेरा दाजुको नाम जितेन्द्र नारायण देव हो । दाजुले घरमा किराना पसल चलाउनुहुन्थ्यो । घरको आर्थिक चाँजोपाँजो मिलाउने काम दाजुले नै गर्नुहुन्थ्यो । म र एकजना बहिनी छौं । बुबाआमा बूढाबूढी हुनुहुन्छ । दाजुको विवाह भएको ६ महिनामात्रै भएको थियो । दाजु फार्मेसी प्रथम वर्षमा पढ्दै हुनुहुन्थ्यो । पढाइ सकेपछि किराना पसलको साटो औषधि पसल चलाउने उहाँको योजना थियो । उहाँ भर्खर ३० वर्ष पुग्नुभएको थियो ।

लुटिएको दसैं

दसैंको विदामा म घर गएको थिएँ । ०७२ साल असोज ३० गते शनिबारको दिन थियो । बेलुका ५ बजेतिर दाजु साइकल लिएर घरबाट निस्कनुभयो । राति अबेरसम्म आउनुभएन । एनसेलको सिमवाला फोन बोक्नुभएको थियो । हामीले त्यसमा फोन गर्दा स्वीच्ड अफ भन्यो । राति १० बजेसम्म उहाँको पत्तो नभएपछि हामी जिल्ला प्रहरी कार्यालयमा गयौं । जिल्ला प्रहरी कार्यालय हाम्रो घरदेखि एक किलोमिटर टाढा पनि छैन ।

राति लिखित निवेदन दिने कुरो भएन । हामीले दाजु बेपत्ता भएको मौखिक रुपमा जानकारी गरायौं । राति नै मातहतका पुलिस चौकीहरुमा खबर गर्दिनोस् भनेर हामीले भन्यौं । उहाँहरुले हुन्छ खबर गर्दिन्छौं भन्नुभो ।

तर, बिहान जाँदा उहाँहरुमा कुनै पनि रेस्पोन्स देखिएन । त्यहाँको नजिकै एनसेलको सेन्टर छ । त्यहाँ एउटा सिफारिस लेखिदिनोस्, हामी गएर दाजुको फोनको कल डिटल माग्छौं भन्यौं । दाजुको कोकोसँग कुरा भएको रहेछ भन्ने त थाहा पाइन्छ नि त । यसले पनि त खोजतलासमा सहयोग पुर्‍याउँथ्यो नि त । तर, उहाँहरुले मान्नुभएन ।
तैपनि प्रहरीको यस्तो व्यवहारलाई हामीले लापरवाहीका रुपमा लियौं । यस्तै हो उहाँहरुको चाला भन्ने लाग्यो र हामीले आफ्नै तर्फबाट खोजतलास जारी राख्यौं । भोलिपल्ट कात्तिक एक गते भयो । दुई गते पनि हामीले खोजतलास गर्‍यौं । दसैंको बेला पत्रपत्रिका बन्द थिए । हामीले रेडियोमा पनि सूचना दियौं ।

jitendra_Narayan_Family

 

कात्तिक ३ गते बिहान राजविराजभन्दा करिब ५/७ किलोमिटर दक्षिणमा एउटा नहर छ । नजिकै सशस्त्रको बेस क्याम्प छ । त्यो नहरको साइडमा बालुवामा दाजुको शव भेटियो । शरीर पूरै रगताम्मे, शरीरभरि चोटैचोट थियो । निर्मम यातना दिएर मारेर फालेको प्रस्टै देखिन्थ्यो ।

सरकारवादी केस आफ्नै खर्चमा

राजविराजमा भन्दा राम्रो पोष्टमार्टम धरानमा हुन्छ भनेर हामीले आफ्नै पैसा खर्च गरेर एम्बुलेन्समा धरान लग्यौं । पोष्टमार्टमपछि भोलिपल्ट आफ्नो परम्पराअनुसार राजविराजमा सदगति गर्‍यौं । र, सोही दिनदेखि अहिलेसम्म हामी जिल्ला प्रहरी कार्यालय सप्तरीमा धाउँदैछौं ।

प्रहरीको भूमिका त कस्तो देखियो भने नहरमा दाजुको शव भेटिएका बेला हामीसँग मेनपावर पनि थिएन । तर, प्रहरीले क्यानलबाट माथि ल्याउनसम्म सहयोग गर्नुभएन । त्यहाँदेखि अस्पताल ल्याउनसम्म सहयोग गर्नुभएन । हामीले लगभग २५ हजार खर्च गरेर एम्बुलेन्समा शव धरान लग्यौं । त्यहाँबाट फेरि राजविराज ल्यायौं ।

घरमा मम्मी बेहोस हुनुहुन्थ्यो । भाउजू पनि बेहोस हुनुहुन्थ्यो । भाउजूले त कतिदिनसम्म एक शब्द पनि बोल्नु नै भएन । बातहरणजस्तै भयो उहाँको । मेरा दाइ, ३० वर्षका युवा । जो, घरमा पसल गर्नुहुन्थ्यो । भर्खरै विवाह भएको थियो । कुनै राजनीतिक गतिविधिमा पनि सक्रिय हुनुहुन्थेन । दाइ नै घरको सबैथोक व्यवहार हेर्ने मान्छे हुनुहुन्थ्यो ।

ढुंगो पग्लिएला, प्रहरीको मन पग्लिएन

हामीले प्रहरीलाई भन्यौं, हाम्रो परिवारमाथि बज्रपात भएको छ, तपाईहरुले यसको अनुसन्धान गरिदिनोस् र हामीले न्याय पाइयोस् । हाम्रो बाँच्न पाउने अधिकार कुण्ठित भएको छ । यस्तो असुरक्षित भइन्छ भने मान्छे गाउँघरमा कसरी बस्ने ? त्यसैले छिटोभन्दा छिटो अनुसन्धान गरी अपराधीलाई कानूनी कठघरामा ल्याउनोस् । तपाईहरुको अनुसन्धानकै आधारमा कानूनले सजायँ दिने हो ।

सुरु सुरुमा त प्रहरीको लापरवाही देखियो । आजको मितिसम्म आइपुग्दा उहाँहरुको रोलचाहिँ प्रभावकारी त भएन नै तर, शंकास्पद पनि देखियो ।

प्रथमतः वेपत्ता र हत्याको तीन दिनको वीचमा उहाँहरुले केही पनि पहल गर्नुभएन । त्यो तीन दिनको वीचमा जिल्ला मातहतका कुनै पनि कार्यालयमा घटनाको बारेमा उहाँहरुले जानकारीसम्म नगराउनुभएको पछि थाहा भयो । मैले राजविराजबाहेक हनुमाननगर, रुपनी, गोबरगाडा सबैतिर सोधें । मातहतका कुनै पनि प्रहरी कार्यालयलाई जानकारी नै रहेनछ । एउटा मान्छे बेपत्ता भएको छ, कुनै पनि मातहतका कार्यालयलाई जानकारी नै छैन । भनेपछि उहाँहरुले (सप्तरी जिप्रका)ले केही गर्नु नै भएन । यो स्पष्टै छ ।

jitendra_narayan_dev
दोस्रो कुरा, पोष्टमार्टम रिपोर्ट सामान्यतः तीन चार दिन वा एक हप्तामा आउनुपर्ने हो । त्यो पोष्टमार्ट रिपोर्ट २२ औं दिनसम्म त उहाँहरुले मगाउनुभएको थिएन, पछि गएर हामीले मगायौं भन्नुभयो । जब कि सप्तरीकै डाक्टर वीपी कोइराला धरानमा डा. बीएन यादव हुनुहुन्थ्यो । उहाँसँग फोनमा कुरा हुँदा पोष्टमार्टम रिपोर्ट बनिसकेको छ र सो रिपोर्टमा हत्या गरेको प्रष्टै देखिएको छ भन्नुभएको थियो ।

सप्तरी जिप्रकामा त्यतिबेला डीएसपी नारायण चिमौरिया हुनुहुन्थ्यो । एसपी भीम ढकाल हुनुहुन्थ्यो । तर, वहाँहरुले आज जान्छौं, भोलि जान्छौं भन्नुभयो । त्यहाँ उहाँहरुको ग्याप देखियो । किन देखियो ? सामान्य लापरवाहीमात्रै हो कि अरु नै कुरा छ ?

त्यसपछि हामीले राजविराजमा पत्रकार सम्मेलन गर्‍यौं । त्यतिबेलादेखि हामी प्रहरीसँग निरन्तर सम्पर्कमा छौं । त्यहाँ धेरै घटनाहरु भए । आन्दोलनको बेला थियो । अनुसन्धान अधिकृत लालध्वज सुवेदी सरकारले भन्नुभयो कि हामी अनुसन्धानमा छौं, मैले प्रष्टैसँग भन्दा हामीले अहिलेसम्म तपाईका दाजुको अनुसन्धान शुन्य गरेका छौं । वहाँले यो स्वीकार गर्नुभयो । उहाँसँगको सम्वाद पनि मसँग सुरक्षित छ ।

त्यसको दुईदिन दिनपछि रुपनीको आन्दोलन अलि साम्य भयो । र, पोष्टमार्टम रिपोर्ट आइसकेपछि इन्स्पेक्टर लालध्वज सुवेदीले के भन्नुभयो भने जुन कुरा तपाईले सुरुमै भन्नुभएको थियो, त्यो कुरा आज आएर प्रमाणित भयो, यो हत्यामात्रै होइन, निकै संघर्षपूर्ण हत्या भएको छ । एक जनामात्रै होइन, दुई/तीनजनाको संलग्नता देखिन्छ । लालध्वजले यसो भन्नुभयो ।

तर, भोलिपल्ट त्यो इन्स्पेक्टरले बोक्ने नम्बरमा सम्पर्क गर्दा उहाँ सरुवा हुनुभएछ । अनुसन्धान अन्वेषण महाशाखा प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा हुनुभो । त्यसपछि दाजुको हत्याको अनुसन्धानको जिम्मा इन्स्पेक्टर सुरज खड्कालाई दिइयो ।

सुरज खड्का सरलाई फोन गरेर, भेटेर सर अनुसन्धान गर्नुहोस् , यो तपाईको जिम्मेवारी हो हामीले भन्यौं । लालध्वजले त मुखलेसम्म हुन्छ गर्छु भन्नुभएको थियो । तर, सुरज खड्का इन्स्पेक्टरले त मुखलेसम्म पनि गर्छु भन्नुभएन । छेउछाऊमा हेर्दा तपाईको दाजु सोझा सीधा मान्छे रहेछन्, यसमा अब हामीले के गर्न सक्छौं, भनेर गैरजिम्मेवारी शब्द प्रयोग गर्नुभयो ।

घरमा प्रहरी अहिलेसम्म पसेनन्

मलाई यस्ता कुराहरु केही पनि थाहा थिएन, तर पछि बुझ्दाखेरि कसैको हत्या भएको रहेछ भने मृतकको बेडरुम पनि शील गरिन्छ । कतै, कसैले धम्की दिएको छ कि ? आफूले कुनै डायरी मेन्टेन गरेको छ कि ? त्यहाँ धेरै कुरा लुकेको हुन्छ । तर, प्रहरीहरु आजसम्म हाम्रो घरमा पनि आउनुभएको छैन । जबकि जिल्ला प्रहरी कार्यालय र हाम्रो घरको दुरी एक किलोमिटर पनि टाढा छैन ।

हाम्रो घरमा केही खानतलासी र सोधपुछ, जाँचबुझ यस्तो हुन्छ नि, काँही केही गर्नुभएको छैन । पीडित परिवारका सदस्यलाई प्रहरीले आएर शान्त्वना दिनु त धेरै टाढाको कुरा भयो । उहाँहरु घर जानुभएको छैन, अनुसन्धान गर्नुभएको छैन, कल डिटेल निकाल्नुभएको छैन ।

दाजु ५ बजे घरबाट निस्कँदा उहाँको मोबाइल अन थियो । हामीले साढे ७ बजेतिर फोन गर्दा उहाँको मोबाइल अफ थियो । वहाँको मोबाइल कहाँ अफ भयो ? त्यसको लास्ट लोकेसन त प्रविधिले प्रष्टै देखाउँछ । म यहाँ तपाईँसँग गफ गरिरहेको छु, अहिले सीआइबीले अनुसन्धान गर्दा हामी दुबैजनाको लोकेसन यहीँ देखिन्छ ।

मोबाइलको आइएमई नम्बर हुन्छ, त्यो पनि प्रहरीले ट्रयाक गर्नुभएको छैन । उहाँले घरबाट लगेको साइकल फेला पार्नुभएको छैन । म त भन्छु साइकल खोज्नु नै भएको छैन । वहाँको चप्पल भेटिएको छैन । जबकि एउटा सानो भन्दा सानो कुरा पनि हत्याको अनुसन्धानका लागि ठूलो सबुद बन्न सक्छ ।

हामीले एसपी भीम ढकाल सरसँग पनि कुरा गर्‍यौं । ल हामी गर्छौं, यो हाम्रो टिपिकल जिम्मेवारी हो हामी स्वीकार्छौं, तर टाइम लाग्छ हामीले कतिपय ढाउँमा कंकालसमेत उखेलेका छौं भन्नेजस्ता विभिन्न शब्दहरु सुनाउनुभयो । तर, उहाँहरुले अनुसन्धानका नाममा के गर्नुभयो भन्दा जीरो । शुन्य गर्नुभयो उहाँहरुले । अहिले घटना भएको ११ महिना भइसक्यो ।

घरमा भएको उपभोक्ता किराना पसललाई प्रतिस्थापन गरी फार्मेसी खोल्ने दाजुको योजना थियो । त्यसका लागि लाइसेन्स लिन डिप्लोमा गर्ने प्लान थियो । यसका लागि राजविराजको अलि उत्तरतिर युनिक एकेडेमी भन्ने एउटा प्रतिष्ठित शैक्षिक संस्था छ । त्यसमा डिप्लोमा इन फार्मेसी प्रथम वर्षको नियमित विद्यार्थी हुनुहुन्थ्यो उहाँ । पहिले पनि अहेब गरेको कलेज जाने विद्यार्थी हो । सामान्य झैंझगडा हुँदा पनि मानिसको पृष्ठभूमि के हो भन्ने क्याम्पस प्रशासनमा प्रहरी जानुपर्ने हो । तर, अहिलेसम्म प्रहरीले त्यो क्याम्पसमा पाइलासम्म टेक्नुभएको छैन । यो के हो प्रहरीको ताल ? अनुसन्धानका लागि उहाँहरुले कुनै कदम चाल्नुभएको छैन ।

अनि म न्याय खोज्न काठमाडौं आएँ

यो त भयो राजविराजको कुरा । त्यसपछि मैले तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतज्यूलाई उहाँकै निवास पुल्चोकमा भेटें । सम्भवतः ०७२ साल माघ ५ गतेको कुरा हो । उहाँलाई लिखित रुपमा र मौखिकरुपमा जानकारी गराएँ । उहाँले ठीक छ हामी हेर्दिन्छौं भन्नुभयो ।

उहाँका स्वकीय सचिव उपेन्द्र राउत र विन्दमान विष्टलाई फलोअप गर्दा तपाईको फायल सीआइबीमा, महाराजगञ्ज गएको छ भन्नुभयो । यो सुनेपछि म अलि ढुक्क भएँ । समय लम्बिँदै जाँदा प्रमाणहरु नष्ट हुने सम्भावना भएकाले यसलाई सीआइबीले सुक्ष्म अनुसन्धान गर्‍यो भने एक वर्षमात्रै होइन, पाँच वर्षको पनि पत्तो लगाउँछ भन्ने लाग्यो । तर, यसपछि पनि केही भएन ।

मैले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालज्यूलाई पत्र लेखें । त्यो पत्र माधवराज जोशी डीआइजीसा’बलाई भेटेर प्रहरी प्रधान कार्यालय सचिवालयमा दिएँ

मैले राष्ट्रिय योजना आयोगका आयुक्त माननीय सुदीप पाठकज्यूलाई भेटेर निवेदन दर्ता गराएर फलोअप गराएँ ।

मानवअधिकार आयोगको एउटा टोली मधेस आन्दोलनका बेला मधेसतिर गएको थियो । संयोगवस उहाँहरु राजविराज पनि जानुभएको थियो । यज्ञ अर्याल, नाम हुनुपर्छ, उहाँसँग सम्पर्क गरेर यो घटनाका बारेमा पनि बुझिदिनोस् भनें । उहाँले जनकपुरका डाइरेक्टर सूवर्ण कर्माचार्यलाई पनि फोन गर्नुभयो ।

पुल्चोकमा हामीले दिएको निवेदन जनकपुर ट्रान्सफर भयो । जनकपुरले रिपोर्ट आइसकेको छ, यो रिपोर्ट हामी पुल्चोक पुर्‍याउँछौं, त्यसपछि कारवाही हुन्छ भन्नुभयो । तर, पुल्चोकमा धाउँदा-धाउँदा विस्तारै विस्तारै रेस्पोन्स नै लिन छाडियो । ‘गर्छौं नि, तपाईको त यो धेरै छिटो भएको छ त, कति केसहरु मानवअधिकार आयोगमा पाँच वर्षसम्म पेन्डिङमा छन् भन्ने उत्तर आयो ।

हुन त सुदीप पाठकज्यूले मेरो अगाडिबाटै अहिले प्रहरी प्रधान कार्यालय नक्सालमा रहेका प्रहरी प्रवक्ता डीआइजी माधवराज जोशी (त्यतिबेला उहाँ पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा हुनुहन्थ्यो) लाई जानकारी पनि गराउनुभयो । तर, केसमा केही पनि प्रगति देखिएन ।

मैले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालज्यूलाई पत्र लेखें । त्यो पत्र माधवराज जोशी डीआइजीसा’बलाई भेटेर प्रहरी प्रधान कार्यालय सचिवालयमा दिएँ । र, त्यसको बोधार्थ मैले महाराजगञ्ज सीआइबीमा पनि दिएँ । सीआइबीका डाइरेक्टर नवराज सिलवाल सरलाई भेटेरै दिएँ । उहाँले के भन्नुभयो भने यो केसको गम्भीरतालाई हेरेर जिल्लाले हामीलाई ट्रान्सफर गर्‍यो भने हामी हेर्छौं । तर, डाइरेक्ट हामीले हस्तक्षेप गरेर यो केस हामीलाई देउ भन्न मिलेन । उहाँले एसपीलाई फोन गरेर सिरियसरुपमा हेर्नु भन्नुभयो ।

अनुसन्धान गर्ने हाम्रो एउटै निकाय भनेको त नेपाल प्रहरी नै त हो । हामीले विश्वास, अविश्वास जे भए पनि फेरि जानुपर्ने त उहीँ हो । त्यसपछि फेरि हामीले एसपीसँग कुरा गरेर फलोअप गर्‍यौं । तर, केही प्रगति देखिएन ।

Jitendra narayan Wifeहामी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि गयौं । त्यहाँका आयुक्त माननीय राजनारायण पाठकज्यूलाई भेट्यौं । उहाँलाई घटनाका बारेमा जानकारी गरायौं । उहाँले पनि त्यही एसपीलाई फोन गरेर यसोउसो भन्नुभयो । तर, फेरि पनि मैले चाहेको कुरा भएन । र, आजको मितिसम्म यस्तो पीडित अवस्थामा छौं ।

मुमा पहिल्यैदेखि बिरामी हुनुहुन्छ । मजदुरी गर्ने मान्छे, अहिले त मम्मी बुबा एकदमै बिरामी हुनुहुन्छ । भाउजू पनि एकदमै शोकाकुल हुनुहुन्छ । विवाह गरेको भर्खरै छ महिना मात्रै भएको थियो, बच्चा पनि छैन, केही पनि छैन । यस्तो अवस्था छ । बहिनी एकजना पढ्दैछिन् । घरमा मानिसहरु, छरछिमेक आउँदा दिनहुँ यही कुरा हुन्छ । एकदम शोकाकुल अवस्था अझै पनि छ ।

फोनमा कुरा हुँदा मम्मीले कहाँ कहाँ गयौ, के प्रगति भयो भनेर सधैं यही कुरा सोध्नुहुन्छ । मैले एक दिन, दुई दिन, महिना दिनसम्म पो रेडिमेड जवाफ दिन सक्छु, तर, फेरि-फेरि के भन्नु बाआमालाई ? यस्तो अवस्था सिर्जना भएको छ ।

म आफैं पनि विद्यार्थी हुँ । हत्या, हत्यापछिको शोक अनि यताउता गर्नका लागि आर्थिक कुराहरु, यी विभिन्न कारणले समस्यै समस्यामा पिरोलिएको अवस्था छ । गाउँमा हाम्रो खेत छैन । बजारमा दाइले थापेको पसलबाटै गुजारा चलेको थियो । अहिले त्यो पसल बन्द छ ।

आर्थिक कुराले त केही माने नै राख्दैन, तर कम्तिमा यो अनुसन्धान भएर घटनामा को संलग्न छ र किन यो घटना भयो भन्ने जानकारी पाउन पाए हुन्थ्यो । अरु त केही पाउने त होइन, तर तुष्टि त हुने थियो । यो पनि हुन सकेन, जुन यो राज्यको दायित्व हो । राज्यलाई हाम्रो प्रश्न छ अब हामीले न्याय माग्न कहाँ जाने होला ?

-कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment