तिहारमा अँध्यारो भए अलक्ष्मीको बास हुन्छ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

तिहारमा अँध्यारो भए अलक्ष्मीको बास हुन्छ

-सूर्यप्रसाद ढुंगेल

यतिबेला देशैभरी तिहारको रमझम शुरु भएको छ । फूलमाला, झिलिमिली बत्ती र देउसीभैलोको उमंगले तिहारलाई थप उल्लासमय बनाएको छ । तिहारको महत्वको विषयमा हामीले नेपाल पञ्चांग निर्णाय समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलसित अनलाइनखबरले गरेको कुराकानी ।

· तिहारको महत्व के छ ?

तिहार भनेको दाजुभाइ, दिदीबहिनीको सम्बन्ध प्रगाढ बनाउने तथा प्रकृति र पशुपंक्षीको समेत पूजा गर्ने भएकाले अरु चाडपर्व जस्तै यसको पनि निकै महत्व छ । तिहारमा खास गरी लक्ष्मी र यमराजको पूजा गरिन्छ ।

· तिहारमा बत्ती र फूलमालाको प्रयोग बढी हुनुको कारण के हो ?

तिहारमा लक्ष्मीको पूजा आराधना गरिन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीसँगै तेल र पानीको समेत प्रयोग धेरै हुन्छ । उज्यालोमा लक्ष्मी बास बस्छिन् । अँध्यारोमा अलक्ष्मी । त्यसैले लक्ष्मी डाक्ने पर्व भएकाले बत्तीको प्रयोग अध्यधिक हुन्छ ।

· तिहारमा काग र कुकुरको पूजा गरिन्छ किन ?

हाम्रो धर्म, संस्कृति, संस्कार र परम्परा अनुसार हामी प्रकृतिको पूजा गर्छौं । तुच्छ चुच्छ प्राणीको पनि हामी सत्कार र सेवा गर्छौं । काग र कुकुर दुवैलाई यमराजको दूतको रुपमा लिइन्छ । यिनको पूजा गर्दा यमराज पनि खुशी हुन्छन् भन्ने कुरा जोडिएको छ । त्यसमाथि कुकुरको त धेरै गुण हुन्छन् । कुकुरमा संुघ्ने शक्ति एकदम राम्रो हुन्छ । धेरै टाढाको गन्ध पनि थाहा पाउन सक्छ । त्यसैले चोर पक्रनको लागि पनि कुकुरकै सहायता लिइन्छ । निदाएको बेलामा पनि उ सानो आवाजमा बिउँझिन सक्छ । कुकुरभन्दा विश्वाशिलो पात्र अरु छैन । स्वामीभक्त पनि कुकुर नै हो । खानेकुरा थोरै पाएमा पनि सन्तुष्ट, धेरै दिएपनि खाने खालको हुन्छ । त्यसैले कुकुरका यी गुण सम्झँदै उसलाई पूजा गरेर मीठो खानेकुरा खान दिइन्छ ।

· गाईगोरु र गोबरको पनि पूजा हुन्छ नि ?

गाईलाई त लक्ष्मीको रुपमा नै मानिन्छ । द्वापरयुगमा गाईलाई गोबरधन पहाडले रक्षा गरेको हुनाले गोबर्धन पूजा गरिन्छ । अनि प्रकृतिलाई संरक्षण तथा जोतखन गर्ने हिसाबले गोरुको पूजा गरिन्छ ।

· भाइपूजा चाहिँ किन गरिन्छ ?

आफ्नो दाजुभाइलाई आयु, आरोग्यबृद्धि र सम्बृद्धिको कामना गरेर दाजुभाइको पूजा गर्ने चलन बसेको हो । त्यसमाथि यमराज र बहिनी यमुनाको कथासँग पनि यसलाई जोडिने गरिन्छ । कहिल्यै नसुक्ने तेल र मखमली फूलको माला तथा जलले घेरेर दाजुभाइको पूजा पूजा गर्दा यमराजको दूतले पनि केही गर्न सक्दैन भन्ने विश्वास छ । दाजुभाइलाई पानीले छेक्ने, सप्तरंगी टीका लगाउने चलनले दिदीबहिनी र दाजुभाइबीचको आपसी सम्बन्ध प्रगाढ गर्न मद्दत पुर्याउँछ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु