देवीप्रसाद भन्छन्- ‘मैले हात उठाएँ, सबैले एउटै पेशा गर्न मिल्दैन’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

देवीप्रसाद भन्छन्- ‘मैले हात उठाएँ, सबैले एउटै पेशा गर्न मिल्दैन’

नेतालाई गाला चड्काउने असभ्य अभियानका प्रारम्भकर्ता हुन् सुनसरीका देवीप्रसाद रेग्मी । जसले, एमाले अध्यक्ष झलनाथ खनाललाई गत माघमा इटहरीमा सार्वजनिकस्थलमा थप्पड हानेका थिए । तर, नेता कुटेकोमा रेग्मीलाई अहिलेसम्म पछुतो लागेको रहनेछ ।

शुक्रबार भृकुटीमण्डपमा माओवादी अध्यक्ष प्रचण्डमाथि देवीप्रसादकै शैलीमा हातपात भएपछि अनलाइनखबरले रेग्मीलाई प्रश्न गर्‍यो- ‘एमाले नेता खनालमाथि हातपात गरेकोमा तपाईलाई अहिले पछुतो लागेको छ कि छैन ?’ रेग्मीले जोसिंदै भने, ‘किन पछुतो लाग्ने ? मलाई त गर्व लागेको छ, अब यी नेतालाई संसद भवन -?) अगाडि खाडल खनेर जिउँदै हाल्नुपर्छ, अनिमात्रै यिनीहरु सहमतिमा आउँछन् ।’ आफ्नै पथ पछ्याउँदै प्रचण्ड पिटिएपछि रेग्मी भन्छन्- मैले पहिले हात उठाएँ, तर सबैले एउटै पेशा गर्न मिल्दैन ।’

अहिले के गर्दै हुनुहुन्छ ?

–खेती किसान गर्ने मान्छे, धान काट्ने र थन्क्याउने काम गरिँदैछ सर ।

तपाईले झलनाथ खनाललाई पिट्दा लागेको मुद्दा अझै बाँकी छ कि सिद्धियो ?

–छैन, त्यतिखेरै समाप्त भैहाल्यो नि । ५ दिन थुनामा बसियो अनि तारेखचाँहि ४/५ महिना धाइयो ।

तपाईले नेता खनालसित माफी मागेपछि छुट्नुभएको होइन ?

–मैले माफी माग्ने कारणै छैन । मैले किन माफी माग्ने ? हल्ला त उनीहरुले जे पनि गर्छन् नि, नेताहरुको बोलीको ठेगानै छैन । अहिले बोलेको कुरो अहिले हामीले गरेको होइन भन्छन् ।

तपाईले किन त्यसरी नेतालाई थप्पड हान्नुभएको ?

–मैले भलनाथलाई शिक्षाको रुपमा दिएको हुँ । वहाँ जतिबेलासम्म राजनीतिक पेशामा रहनुहुन्छ, त्यतिबेलासम्म नयाँ सोचविचार आओस् भनेर हानेको हुँ । नेताहरु हिँडेको बाटो साह्रै अप्ठ्यारो छ क्या ! उनीहरुलाई राक्षसले पनि आक्रमण गर्न सक्छन् । त्यही भएर सही बाटो हिड्नु है भनेर मैले शिक्षा दिएको हो ।

माओवादीका कुरा सुनेर तपाईले पिट्नुभएको होइन ?

–भन्नलाई त जे भने पनि हुन्छ तर, मेरो विचार र सिद्धान्त त्यही (एमाले) नै हो । अहिले म एमालेका लागि विरोधी भएको छु, तर म एउटा स्वच्छ विचारधाराको व्यक्ति हो र मैले ३ करोड जनताको हितका लागि क्रान्ति गरेको हो । खनाललाई पिटेकोमा म अहिले गर्व गरिरहेको छु । पहिले १० वर्षसम्म मुढाले झिंजा डढायो, अहिले झिँजाले मुढा डढाउन थालेको छ, त्यसैले म गर्वमा छु ।

तपाईले नेता पिट्न थालेपछि झक्कुप्रसाद सुवेदी, सुसील कोइराला र प्रचण्डले पनि पिटाइ खाए नि ?

–चुटाइ भनेर घाइते नै पार्न खोजेको होइन । तपाईहरु सुध्रनोस् भनेरै यस्ता घटनाहरु दोहोरिएका हुन् । तर, अब जति गर्दा पनि भएन त्यसैले अब म के भन्छु भने मैले शुरुमा हात उठाएँ, सबैले एउटै पेशा गर्न मिल्दैन । अहिले तेस्रो घटना भैसक्यो । अब यस्तो गर्नुभन्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हामी जनता जाग्नुपर्छ र संसद भवनअगाडि ६ सय १ जनालाई अट्नेखालको खाल्टो खनेर वहाँहरुलाई जिवितै सर्लक्कै हाल्नुपर्छ । त्यहाँबाट वार्ता मिल्छ कि ? सदनबाट त वार्ता मिलेन । अब सबैले यतातिर सोचिदिए हुन्थ्यो भन्ने मलाई लागेको छ ।

अब प्रचण्डलाई के सल्लाह दिनुहुन्छ ? पिट्ने मान्छेलाई आफूलाईजस्तै ५ दिन थुनेर छाडिदिनु भन्नुहुन्छ कि ?

–छाड्दिँन भनेर हुन्छ र ? उनीहरुले आफ्नो पालामा जनतालाई माफी दिएका छन् त ? जनतालाई त जबरजस्ती लगेर गोली हानेका छन् नि । जनतामा अहिले त्यो ताजा घाउ छँदैछ । उनीहरुले दुनियाँका छोराछोरीलाई ड्याङ कि ड्याङ गोली हानेर मार्दा उनीहरुले चाँहि जनताले माफी दिनु पर्ने, अनि जनताले चाँहि गलत बाटो नहिँड है, सचेत होऊ भनेर यसो छुँदा पनि माफी नदिने ? यस्तो व्यक्तिलाई कारवाही गरियो भने भोलि यसले कुन रुप लिन्छ भन्ने कुरो नेताहरुले सोच्न जरुरी छ ।

यसरी नेतालाई सार्वजनिक ठाउँमा थप्पड हान्नु जंगली तरिका भएन र ?

–ठीकै छ सर, यसबारेमा म कामरेड प्रचण्ड, झलनाथ खनाल वा जुनसुकै ठूला नेतासित मैले फोनमार्फत् बोल्नुपर्‍यो भने म जवाफ दिन्छु । एक किसिमले म आफ्नो ज्यान त्यागेको व्यक्ति हुँ । तीन करोड जनताका अगाडि मलाई मेरो ज्यानको कुनै पर्वाह छैन ।

अझै केही भन्नु छ कि ?

–सरलाई धेरै-धेरै धन्यवाद । देश र जनताले सुख पाउन्, सबैले शान्तिसँग हिँड्न पाउन् । सबै हामी नेपाली दाजुभाइ एकै हौं, हातेमालो गरेर अघि बढौं । यही नै मेरो चाहना हो ।

2 Comments on “देवीप्रसाद भन्छन्- ‘मैले हात उठाएँ, सबैले एउटै पेशा गर्न मिल्दैन’”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु