ढुकेर बसिरहेको तानाशाही आउँछ-आउँछ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

ढुकेर बसिरहेको तानाशाही आउँछ-आउँछ

अनिल शाह, प्रमुख कार्यकारी अधिकृत मेगा बैंक, नेपाल

-अढाइ दशकभन्दा बढी बैंकिङ क्षेत्रमा आफ्नो जीवनको उर्जाशील समय खर्चिनुभएका नेपालका चर्चित बैंकर्स हुनुहुन्छ- अनिल शाह । तर, वहाँ यतिबेला जबरजस्त रुपमा राजनीतिमा समेत तानिन थाल्नुभएको छ । राजनीतिको बजारमा शाहले नयाँ पार्टी बनाउन लागेको हल्ला व्याप्त छ । देशमा उदार तानाशाह चाहिन्छ भन्ने तर्कले पनि उहाँलाई विवादमा तानेको छ । अनलाइनखबरले यसबारे मेगा बैंकमै पुगेर बैंकका अधिकृतको राजनीतिक योजनाबारे खोतल-खातल गर्ने प्रयास गर्‍यो । शाहको निश्कर्ष रहेछ, अब देशमा गल्फ खेलेर वा पैसा कमाएरमात्रै केही नहुने भो, मुलुकको रक्षा गर्न नयाँ शक्ति र समूह बनाउनै पर्ने भो ।’

नेपालको अवस्थाबारे कसरी विश्लेषण गर्नुहुन्छ ?

–नेपालमा २० वर्षयता जुन काम भयो, यसलाई हेर्दा हाम्रो देशमा जस्तो राजनीतिक रुपान्तरण दक्षिण एशियामै भएको छैन । सामाजिक रुपान्तरणमा पनि सुनामी नै भएको छ । हाम्रो समाजमा एकदम रुपान्तरण भएको छ । धार्मिक रुपान्तरण पनि गजपको भएको छ । कहाँको हिन्दु राष्ट्रबाट हामी अति निरपेक्ष र तेस्रोलिङ्गीलाई समेत मान्यता दिने भएका छौं । तर, अर्थतन्त्रमा अहिलेसम्म हाम्रो देशमा रुपान्तरण नै भएन । पञ्चायतकालमा जसले अर्थतन्त्र चलाउँदै हुनहुन्थ्यो, आज पनि वहाँहरुले नै चलाइराख्नुभएको छ । जबसम्म हाम्रो अर्थतन्त्रमा रुपान्तरण हुँदैन, अरु सबै रुपान्तरण भनेको संक्रमणकालीन रुपान्तरणमात्रै हुन् ।

पिपलको बोटमुनि बसेर कुरा गर्न सजिलो छ, तर भान्सामा भात कसरी पाक्छ भन्ने कुराको निर्धारण आर्थिक रुपान्तरणले मात्रै गर्छ । जबसम्म हाम्रा राजनीतिक दलहरुको केन्द्रविन्दू आर्थिक रुपान्तरणमा जाँदैन, त्यो बेलासम्म नेपालको पूर्ण रुपान्तरण हुन सक्दैन । पार्टीको रुपान्तरण होला, फरक मान्छेहरु प्रधानमन्त्री र मन्त्री बन्लान्, तर, हरेक नेपालीको चुलोमा दुईछाक भात पाक्ने, बिरामी भएका बेलामा राम्रो अस्पतालमा उपचार गराउने, बच्चालाई राम्ररी पढाउन सक्ने र आफ्नो उत्पादन वा सीपलाई राम्रो मार्केटमा बेच्न सक्ने आर्थिक रुपान्तरण चाहिएको छ नेपालीलाई । सरकारले माछापालन गरिदेओस् वा केराखेती गरिदेओस् भन्ने हामीले खोजेको होइन । अहिलेसम्म यो आर्थिक रुपान्तरणमा पञ्चायतकालदेखि नै कुनै राजनीतिक शक्तिहरु लागेनन् । हाम्रो देश किन अगाडि बढ्न सकेन भन्दा द्वन्द्वको मूल कारकका रुपमा रहेको पेटको आगो निभाउने काम हुन सकेन । अहिलेसम्म जति युद्ध भयो, सबैले यसैका लागि लडेका थिए ।

दोस्रो, अहिले हामीलाई के चाहिएको छ भन्दा नेताको परिवर्तन होइन, हामीलाई चाहिँ अहिले नेपालमा जुन परिवर्तन भैराखेको छ, त्यसो चाँहि नेता चाहिएको छ, जसले परिवर्तनको घोडालाई समाएर नेपाललाई अगाडि बढाउन सकोस् । परिवर्तनलाई बुझेको मान्छे अब नेतृत्वमा आउनुपर्छ । परिवर्तन भनेको पानीजस्तै हो, खोलालाई राम्ररी प्रयोग गरियो भने विजुली निकाल्न वा सिंचाइमा लगाउन सकिन्छ, तर त्यही पानीलाई सदुपयोग गर्न सकिएन भने त्यसले विध्वंश गर्छ । परिवर्तनलाई राम्ररी सदुपयोग गर्न सकियो भने भ्यागुतेमात्रै होइन, रकेटको गतिमा छलाङ मार्न सकिन्छ ।

अनिल शाहले नयाँ पार्टी खोल्ने हल्ला छ नि ?

–म आर्थिक क्षेत्रमा लागेको मान्छे । हाम्रो अर्थतन्त्र एकदम व्यापारिक मानसिकतामा चलिरहेको छ । सात/आठ वर्ष लगाएर, उद्योग धन्दा खोलेर पैसा कमाउँछु भन्ने भन्दा पनि हङकङको सामान ल्याएर नाफा कमाउने भन्नेतिर छ हाम्रो मानसिकता । यस्तो व्यापारिक मानसिकता सबैक्षेत्रमा छ र अनिल शाहले पार्टी खोल्न लागेको हल्ला पनि त्यही अल्पकालीन सोचाइबाट आएको हो ।

हामीले पार्टी खडा गरेर पनि हुनेचाँहि के त ? नेपाल त यही हो । हाम्रो समस्या यही हो । कसैसँग पनि जादुको छडी छैन कि उसलाई ल्याउनेवित्तिकै त्यो छडीले छोएर सत्ययुगमा पुगियोस् । त्यसैले राजनीतिक पार्टी खोलेर अगाडि बढ्नु भनेको एउटा हौवा मात्रै हो । अनिल, राम वा श्याम, कोही मान्छेले पनि राजनीतिक पार्टी खोलिसकेपछि गर्ने के त ? हाम्रो देशमा नेता भएपछि सत्तामा जाऔं र पैसा कमाऔं भन्ने उद्देश्य राखेको देखिन्छ । तर, म जहाँ छु, पैसा राम्रै कमाइ भैराखेको छ, त्यसैले त्यो लक्षका लागि मैले राजनीतिमा जानु परेको छैन । दोस्रो लक्ष हो, देश बनाउने । तर, अहिले राजनीतिमा गएर हामीले देश बनाउन सक्छौं त ? सिस्टम यही हो । मैले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन लगानी गरेजस्तै धेरै मानिसहरुले २५/३० वर्ष राजनीतिमा लगानी गरेका छन् । त्यसैले राजनीतिमा राम्रा मान्छे छैनन् म भन्दिँन । मजस्तै दाजुभाइ, दिदीबहिनीहरु पनि देश बनाउने भनेर राजनीतिमा लाग्नुभएको छ । तर, वहाँहरुले दशौंवर्ष पार्टीको झण्डा बोकिसक्नुभएको छ, अब त्यो झण्डा छाडेर अर्काेतिर जाऔं भने के होला, कसो होला भन्ने वहाँहरुलाई डर छ ।

त्यसो भए यहाँले राजनीतिमा गर्न खोज्नुभएको चाहिँ के त ?

मजस्तो मान्छेले अहिले के गर्न लागेको हो भने नन्पोलिटिकल प्रेसर ग्रुप -गैरराजनीतिक दबाव समूह) बनाऔं भन्ने हो । म चुनाव लड्दिँन, राजनीतिमा जाँदिन । तर, राम राम्रो, सीता नराम्रो, गीता राम्रो, श्याम नराम्रो भन्न सक्छु । पार्टीलाई मात्रै हेरेर भोट नहालौं, राम्रो नराम्रो हेरेर छानौं भन्ने हो ।

राजनीतिक समूह बनाउने तर चुनाव नलड्ने ?

म पहिले नै वित्तीय क्षेत्रमा नलागेको भए फोटोग्राफर बन्ने थिएँ । तर, मैले यो क्षेत्रमा धेरै लगानी गरिसकेको छु । मलाई मान्छेहरुले सक्षम बैंकर्स भन्छन् । नयाँ बैंक खोलेको छु, राम्र्रै चलिराखेको पनि छ । आउने दिनमा मेरो इच्छा बैंकर्स नै बनिराखौं भन्ने छ । अहिले नै राजनीतिमा जाने, पार्टी खडा गर्ने या अरुले खडा गरेको पार्टीमा टिकट होल्डर हुने केही इच्छा छैन । तर, नेपालको राजनीतिमा मेरो चासोचाँहि छ । राजनीतिमा हाम्फाल्ने होइन, तर अहिलेको राजनीतिलाई सही दिशातिर कसरी लाने ? यसबारेमा म लेख्छु र बोल्छु पनि । म नेपाली नागरिक हुँ । विदेश नगई नेपालमै बसेको कारण पनि यही हो । मलाई कसैले तँ विदेशी होस्, आफ्नो घर जा भन्न सक्दैन । नेपाल मेरी आमा हो, यहाँ बोल्न तपाईलाई जति हक छ, मलाई पनि त्यति नै हक छ । यो हकको म प्रयोग गर्छु । मैले २० वर्ष रामै्र काम गरें हुँला, त्यसैले मैले बोलेको अरुले सुन्छन् । मेरो कुरा कसैलाई राम्रो लाग्न सक्छ, नराम्रो पनि लाग्न सक्छ ।

भनेपछि राजनीतिक पार्टी पक्कै खोल्नुहुन्न ?

म राजनीतिक पार्टी खोल्दै छैन र कुनै राजनीतिक पार्टीमा प्रवेश पनि गर्दै छैन । म मन्त्री हुन त परै छोडौं, राजदूत हुन पनि लागेको छैन । तर, अब राजनीतिभन्दा पर बसेर कोही नेपालीले पनि आफ्नो जिन्दगी बनाउन सक्दैनन् ।

राजनीतिमा चासो दिइरहनुभएको छ कि समूह खडा गर्ने गृहकार्य पनि गर्दै हुनुहुन्छ ?

गृहकार्य पनि भैराखेको छ । समस्याचाँहि के छ भने धेरै ग्रुपहरुले गृहकार्य गरिरहेका छन् । नेपालको अवस्थाबारे धेरै मानिसहरु चिन्तित छन्, युवा त झनै चिन्तित छन् । मलाई सबै ग्रुपले बोलाउँछन् । म १५/२० वटा ग्रुपमा गएर कुरा गरिरहेको छु । यी ग्रुपमा रहेका सबैको चासो एउटै छ । यिनीहरुले राजनीतिक पार्टी खडा गर्छन् भने ठीकै छ, म नगर भन्दिँन । मेचीदेखि महाकालीसम्म देशमा केही गर्नुपर्‍यो भनेर युवाहरु उठिरहेका छन् । यो नेटवर्कलाई लिंकमात्रै गरिदियो भने योजस्तो बलियो राजनीतिक नेटवर्क नेपालमा अर्काे हुँदैनजस्तो लाग्छ ।

समूहमा को-को हुनहुन्छ ?

प्रोफेसनल मानिसहरु पनि हुनुहन्छ । अहिले वहाँहरुको नामचाँहि नभनौंं । नाम दिनेभए वहाँहरुले नै दिनुहुन्छ । यसमा विज्ञदेखि लिएर कलेजका युवा विद्यार्थी पनि छन् । राजनीतिकरुपमा सक्रिय तर, कुनै पार्टीमा नलागेकाहरु छन् । प्रतिवद्धता कस्तोसम्म देखिन्छ भने कतिजना त आफ्नो पेशा नै छाडेर यसमा लागिसक्नुभएको छ । हामी केही गर्छौं भनेर उनीहरुले प्रतिवद्धता देखाएका छन् । यस्ता मानिसहरुको सोच मसित मिल्छ । कसैले राजा लिएर आउँछौं या कम्युनिज्म लिएर आउँछौं भन्छ भने उनीहरुसित मेरो सोच मिल्दैन, म वहाँहरुको ग्रुपमा जादिँन ।

अहिले हाम्रो टिममा एकजना उज्जल थापाजी हुनुहन्छ । सम्वृद्ध नेपालका साथीहरुको टिम छ । सम्वृद्ध नेपालमा मदनकृष्ण, हरिबंशजीहरुको पनि सहभागिता छ । मिडियाको टिम पनि छ । युवाहरुको त फरक-फरक समूह छन् । नेपालको विकास गरौं भन्ने जुनसुकै टिम हामीसित सहकार्य गर्न सक्छ । हामी सबैलाई डरचाँहि के छ भने हाम्रो नाममा कसैले राजनीति नगरोस् ।

नेता चाहिँ को ?

–एउटा कुरा के प्रष्ट गर्न चाहन्छु भने हामीले जहिले पनि नेतालाई हेर्ने भएकाले यस्तो दुर्दशा आएको हो । हामी मान्छे हेर्छौं र त्यसैका पछाडि लाग्छौं । अब यसो गर्न छाडिदिऔं । अनिल शाहले पार्टी खोल्न लाग्यो रे, को हो अनिल शाह ? हामी सोच र विचारको पछि लाग्नुपर्छ, व्यक्तिको पछि होइन ।

राम्रो मान्छेलाई जिताऔं भन्दै जागरण त ल्याउनुहोला तर, आफैं राजनीतिमा होमिनुभएन भने नेतृत्व त फेरि उही पुरानैका हातमा रहला नि हैन र ? यो अवस्थामा तपाईहरुको जागरणको के अर्थ ?

–यसबारे हामीवीच छलफल भएको छ । मेरो सोच के छ भने गृहकार्य राम्ररी नगरिकन जनतालाई खुल्लामञ्चमा उतार्नु हुँदैन । हामीले यसो गरेर चुनाब पनि जितौंला, तर त्यसपछि के गर्ने ? कुर्सीका लागि मात्रै हो भने चुनाव लडे हुन्छ, देश बनाउने हो भने कुर्सीका लागि लड्नुभन्दा अगाडि गृहकार्य गर्नुपर्छ । हामीले जुन समूहसित कुरा गरिराखेका छौं, वहाँहरु गृहकार्यमा एकदम व्यस्त हुनुहन्छ । हामी आयौं भने के गर्ने त ? हामीसित भएका स्रोत र जनशक्तिलाई परिचालन कसरी गर्ने भनेर हामी यतातिरको गृहकार्यमा लागिराखेका छौं । सबैले राजनीतिमा कुर्सीकै पछाडि जानु पर्दैन । अहिले कुनै पनि दलहरु कार्यकर्तामा आधारित छन् । कार्यकर्ताले नेतालाई १०/२० वर्ष बोकेका छन् । कतिले बन्दूक लिएर नेतालाई बोकेका छन्, कतिले भोटका लागि डण्डा लिएर बोकेका छन् । त्यसैले उसले कुर्सीमा आएपछि कार्यकर्तालाई कसरी छाड्ने ? मेरो मूल विश्वास के हो भने हाम्रो हैन, राम्रोलाई प्राथमिकता दिऔं । अहिलेको राजनीतिक सिस्टमले हाम्रो हैन, राम्रोलाई प्राथमिकता दिनै सक्दैन । हाम्राले बोकेको हुनाले नेताले तिनै हाम्रालाई प्राथमिकता दिनैपर्छ ।

अहिलेको स्थितिमा सबैले आफ्नो काम आफै गर्नुपर्छ । एनजीओ चलाउने होस्, विद्यालयको शिक्षक होस वा बैंक चलाउने होस् । तर, चुनावका बेला आफू जुन ठाउँमा भइन्छ, त्यहाँ राम्रा मान्छेका पक्षमा कुरा गरिदिनुपर्छ । काम धन्दा नै सबै छोडेर पार्टीमा लागिसकेपछि त उसले आफ्नो परिवार कसरी पाल्ने ? उसले पेट कसरी पाल्ने ? यही कारणले गर्दा हाम्रो देशमा भ्रष्टाचार बढ्ने गरेको हो ।

बैसाखमै चुनाब भैहाल्यो भने तपाईहरु के गर्नुहुन्छ ?

–चुनाव भयो भने जुन साथीहरु राजनीतिक शक्ति बनाउनेतिर लाग्नुभएको छ, त्यो गर्नुभयो त्यसैलाई सघाइन्छ । वहाँहरुले त्यसो गर्न सक्नुभएन भने हामी विभिन्न पार्टीमा रहेका राम्रो व्यक्तिहरुको सूचि र रिपोर्ट बनाएर यो-यो कारणले वहाँहरुलाई जिताऔं भन्छौं ।

भनेपछि, चुनावका बेला तपाईहरुका हातमा राम्रा उमेद्वारको सूचि हुन्छ ?

–हो । एउटा गैरराजनीतिक सिभिल ग्रुपले अलिकति गृहकार्य गर्नुपर्छ र किन जिताउने पनि भनिदिनुपर्छ । वहाँको रेकर्ड यस्तो छ भनेर देखाइ दिनुपर्छ । यतिबवर्ष जेल बस्नुभयो या यति वर्ष राजनीति गर्नुभयो भन्ने आधारमा होइन, काम के गर्नुभयो र वहाँको भिजन के छ भन्ने आधारमा भोट दिनुपर्छ । राम्रो उमेद्वार जुन पार्टीका पनि हुन सक्छन् । संविधानसभामा पनि ६ सय १ मध्ये धेरैजनाले राम्रो काम गर्नुभएको छ । वहाँहरुको राम्रो कामका बारेमा पनि हामी भन्छौं ।

‘राम्रा मान्छे’हरुको चुनाव प्रचारमा पनि लाग्नुहुन्छ कि ?

–त्योचाहिँ हामीबाट हुँदैन । त्यसो गर्दा राजनीतिक पार्टीमा लागेको जस्तो हुन्छ । यसो गर्दा वहाँहरुलाई पनि गाह्रो हुन्छ । हामीले वहाँहरको पनि विचार गरिदिनुपर्‍यो नि ।

अहिल्यै भन्नुपर्दा नेपालका प्रमुख नेतामध्ये राम्रा को हुन् ?

–अहिलेचाँहि कसैलाई राम्रो वा नराम्रो नभनौं । किनकि परिस्थिति नै यस्तो छ कि जसको नाम भन्यो त्यतैतिरको राजनीतिक संलग्नताको रुपमा लिने सम्भावना हुन्छ । यस्तो अवस्थामा मजस्तो मान्छेले धेरै सतर्क हुनुपर्छ । चुनावका बेला यसबारे मेरो गृहकार्य हुन्छ र कारणसहित नाम आउँछ, त्यही बेलामा भनौंला । नेपालमा किताबको कभरमात्रै हेरेर राम्रो नराम्रो भनी विश्लेषण गर्ने चलन छ । म यतातिर जान चाहन्न ।

शीर्ष बैठकमा सहभागी नेताहरुभित्रै राम्रा छन् या बाहिरबाट खोज्नुपर्ला ?

–शीर्ष नेताभित्र राम्रा छैनन् म भन्दिँन । तर, चारवर्षको अवधिमा वहाँहरुले राम्रो काम गर्न सक्नुभएन । नौ अरब रुपैयाँ सकियो तर, नो संविधान । अहिले पनि संविधान बनाउनेतिर होइन, प्रधानमन्त्री को बन्ने भन्नेतिरै अहिलेसम्म केन्द्रविन्दु बनाइएको छ । कसैले पनि संविधानको कुरै गरेको छैन । वहाँहरुको विचार राम्रो होला, तर परिणाम खोइ त ? हामी नेपालीले खाजेको पनि धेरै छैन, ट्याक्क स्वीच अन गर्दा बत्ती आओस् । धारो खोल्दा खलल पानी आओस् । अलिकति बिरामी भइयो भने औषधि खाने ठाउँमा जान पाइयोस् । र आफूले बनाएको सामानलाई बेचेर पेट पाल्न पाइयोस् । तर, सबै जनाले राम्रो काम गरेको भए यो अन्तरवार्ता नै हुँदैनथ्यो, कुन पार्टीलाई समर्थन गर्ने भन्ने हुन्थ्यो होला । तर, म के भन्छु भने नेपाललाई विदेशीले बनाउने होइन । विष्णु अवतार आएर बनाउने पनि होइन । नेताहरुले चाहनुभयो भने गर्न सक्नुहुन्छ ।

पार्टीभित्र पुराना मात्रै होइन, युवा नेता पनि हुनुहन्छ, वहाँहरुलाई के भन्नुहुन्छ ?

–उहाँहरु पार्टीबाटै पीडित हुनुहुन्छ । म आफ्नै उदाहरण दिन चाहन्छु । मेरो पहिलो करियर गि्रनल्याण्ड बैंक स्ट्याण्डर्ड चार्टरबाट शुरु भयो । मैले १६ वर्षजति त्यहाँ काम गरें । त्यति काम गरेपछि त्यो बैंकले अब तिमी यो बैंकमा बस्ने हो भने तिम्रो सिनियरिटीले गर्दा नेपाल बाहिर जानुपर्छ भन्यो । मलाई बाहिर जाने इच्छा थिएन । तर, मैले कति रिस्क लिनुपर्‍यो ? त्यही बैंकमा बसेर बाहिर गएको भए आज म जति कमाउछु यति डलरमै कमाउने थिएँ होला । तर, मेरो इच्छा म नेपाल छाड्दिँन भन्ने थियो । त्यसैले मैले रिस्क लिएँ र नबिल बैंकमा गएँ । त्यो बेलामा सबैले मलाई यत्रो मल्टिनेशनल बैंक छाडेर यस्तो के गरेको भने । तर मेरो लक्ष नबिललाई नम्बर वन् बैंक बनाउँछौं भन्ने थियो, हाम्रो टिम राम्रो थियो, सबैजनाले पसीना बगायौं, नम्बर वन् बैंक भयो । अहिले पनि नम्बर वन् बैंक नै छ । तर, मैले त्यो बैंक किन छाडें भने त्यहाँ जति धन आर्जन भयो, त्यो सीमित वर्गमा जाँदाखेरि मलाई आत्मसन्तुष्टि भएन । नेपाल बैंकमा जाऔं भनेर प्रयास गरें, तर त्यो नभए पनि मेगा बैंकमा आएँ । यो १२ सय १९ जना हामीजस्तै नेपाली मिलेर नयाँ आर्थिक सोचले खोलेको बैंक हो । नबिल छाडेर म यहाँ आउँदा मान्छेले मलाई पागल भयो भने । ६ वर्ष काम गरेर नबिल बैंक नम्बर वन् भएको छ, अझै सम्झौता अवधि २/३ वर्ष बाँकी छ, बस् न भने साथीहरुले । तर, रिस्क लिएर म यहाँ आएँ । अब यहाँ शुरुवात् भएको छ, बैंकले राम्रो गरिराखेको छ तर, अगाडि जान अझै धेरै बाँकी छ । म हाम्रा युवा नेताहरुलाई पनि के भन्छु भने तपाईहरु आफ्नो ‘कम्फोर्ट जोन’ बाट बाहिर आउनोस् । साच्चै नै तपाईहरुलाई नेपालको माया छ भने बाहिर आएर एकगठ बन्नोस् र नेपाललाई हाँक्नोस् । तपाईहरु अब कतिवर्ष पर्खिनुहुन्छ ?

यसबारे गगन थापालगायतका नेताहरुसित तपाईको छलफल भएको छ कि छैन ?

–छलफल हुने गरेको छ । वहाँलाई पनि मै यो कुरा भनेको छु । सबै युवा नेताहरुसित यो कुरा भैसकेको छ । वहाँहरुलाई ‘हामी छौं’ भनेका पनि छौं । तर, वहाँहरुलाई पनि यो गु्रपले भनेपछि मेरो कति भोट आउँछ त भन्नेमा विश्वास नलागिरहेको हुन सक्छ । हामी सबैले के प्रमाणित गर्नुपर्छ भने यो ग्रुपले भनेपछि त्यो चुनाव क्षेत्रको ४० प्रतिशत भोट उहाँहरुलाई खस्छ । यो विश्वास जब युवा नेताहरुमा आउँछ, त्यसपछि वहाँहरुले आँट गर्नुहुन्छ होला ।

नेपाली राजनीतिमा उमेरका आधारमा मात्रै ‘नयाँ पुस्ता’ भन्ने गरिन्छ नि हैन ?

–म नबिलको सिइओ भएका बेला एकजना पत्रकार मेरो अन्तरवार्ता लिन आउनुभएको थियो । वहाँ मलाईर् देखेर छक्क पर्नुभयो । मैले के भयो भनेर सोध्दा वहाँले भन्नुभयो, यत्रो बैंकको सिइओ भैसकेको मान्छे, ठिटो हुनुहुँदोरहेछ, एउटा कपाल पनि फुलेको छैन । मैले वहाँलाई भनें, टाउकोको कपाल कति फुलेको छ भनेर सिइओ भइँदैन, टाउकोभित्रको गिदीमा के छ भन्ने आधारमा भइन्छ । त्यसैले उमेरले मात्रै मान्छे लिडर हुने वा नहुने भन्ने हुँदैन । मेरो विचारमा सोच ‘मोर्डन’ हुनुपर्छ, सोच जवान हुनुपर्छ, उमेरमात्रै भएर हुँदैन । कति मान्छे ३० वर्ष पनि पुगेका छैनन्, तर सोचाइचाँहि राणाकालको जस्तो पुरानो छ । कोही ७० वर्ष कटिसकेका छन्, तर सोचाइ कलेका युवायुवतीको जस्तो छ । त्यसैले विचारतिर जानुपर्छ, मान्छेले लुगा कस्तो लगाउँछ, वा उमेर कति छ भन्नेतिर होइन । हामी बिगि्रएकै यही कारणले हो । दौरा सुरुवाल लगाएकै कति मान्छेले राष्ट्रघात गरेका छन् । सुटटाई लगाउँदैमा कोही पनि देशद्रोही हुँदैन ।

वित्तीय क्षेत्रमा काम गर्दागर्दै राजनीतितिर लाग्नुको कारण ?

–मानौं म एकदम सक्षम बैंकर भएँ, यो बैंक इन्टरनेशनल नै भयो रे, मेरो तलब पनि टन्न भयो, पैसा पनि कमाइयो रे, तर अन्तिममा मैले परिवारलाई प्लेनमा हालेर अर्काे देशको पासपोर्ट लिएर दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्‍यो भने मेरो जिन्दगी सफल भयो त ? कसैलाई पैसा भएपछि जिन्दगी सफल भयो भन्ने लाग्ला, तर मलाई लाग्दैन । हुन त म एक्लैले लाग्दैमा देश राम्रो हुन्छ भन्ने छैन, तर प्रयास त गरौं । कोशिसै नगरी खाली समयमा गल्फ खेल्ने, देशलाई सतीले सरापेको छ केही हुँदैन भन्ने अनि देश खर्‍यामखुरुम भएपछि प्लेन चढेर भाग्ने ? योचाँहि मेरो आत्माले मान्दैन । यही कारणले मैले युवाहरुसित छलफल गर्ने र लेख्ने काम गरिरहेको हुँ ।

यतिखेर देशमा उदार तानाशाह चाहिन्छ भन्न थाल्नुभएको छ नि ?

–लोकतन्त्रप्रति मेरो प्रतिवद्धता अटल छ । तर, त्यो लोकतन्त्र राम्रो हुन्छ, जहाँ मान्छे राम्रा हुन्छन् । मान्छे भन्नाले नेतामात्रै होइन, हामीजस्ता जनता पनि राम्रो हुनुपर्छ । ‘सिभिल सोसाइटी’ भन्ने शब्दप्रति मलाई अलि एलर्जी हुन्छ । सबै नेपालीले जबसम्म नेपालीले २ सय रुपैयाँमा आफ्नो भोट बेच्छ र आफ्नो पार्टीलाई मात्रै भोट हाल्छु भन्छ, त्यो बेलासम्म यस्तै हुन्छ । त्यसैले हाम्रो सोचमा परिवर्तन गर्नुपर्छ ताकि राम्रो व्यक्तिले भोट पाओस् । हाम्रो देशमा अब भेडाजस्तो एकातिर लिएर हिँड्दा उतै लाग्ने नेपाली छैनन् । त्यसैले मैले भनेजस्तो थिंक ट्यांक ग्रुपहरुले राम्रा मान्छेलाई अगाडि लिएर आउनुपर्छ । जितेको मान्छेले ४ वर्ष ५ वर्ष कति हो, आफ्नो भिजनअनुसार काम गर्न पाउनुपर्दछ । फुटबलमा समेत एउटा खेल हार्ने वित्तिकै कोच फेर्ने हो भने खेल राम्रो हुँदैन । अहिले इङ्लिस प्रिमियर लिगमा चेल्सीको यस्तै हालत भैरहेको छ । देशमा पनि यही हो, एकजनाले आफ्नो पूरा कार्यकाल चलाउन पाउनुपर्छ । तर, मेरो डर के छ भने हामी जनताले यस्तो सोचअनुसारको मानिसलाई शासनमा ल्याएनौं भने ढुकेर बसिरहेको तानाशाही आउँछ-आउँछ । र, त्यो तानाशाहीले जनताको विचार गर्दैन ।

यहाँले खोज्नुभएको जस्तो उदार तानाशाह विश्वमा को-को छन् ?

–सिंगापुरका ली क्वान हुनुहन्छ । आफ्नै किसिमले इन्दिरा गान्धी पनि हुनुहन्थ्यो । मार्गेट थ्याचरले पनि राम्रो काम गरेका थिए । दक्षिण अमेरिकामा पनि छन् ।

हामी अझै संविधान बनाउने चरणमै छौं, शासकीय स्वरुप कस्तो हुनुपर्छ भनेर छलफल चलिरहेको छ, योबेला हामी अमेरिकाको जस्तो राष्ट्रपतीय प्रणालीमा जानु ठीक कि अहिलेकैजस्तो संसदीय प्रणाली ?

–मैले संविधानसभामा सुझाव दिँदाखेरि नै स्पष्ट भनिसकेको छु कि नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ । उसलाई नियन्त्रण र सन्तुलनमा राख्ने एउटा संसद् हुनुपर्छ । राष्ट्रपति जो भए पनि जनताले चुनेको हुनुपर्छ । लोकतन्त्र भनेकै यही हो । बहुमतबाट निर्वाचित राष्ट्रपतिलाई नेपालमा रहेको वा बाहिर भएको असल नेपालीलाई बोलाएर मन्त्री बनाउने स्वतन्त्रता हुनुपर्छ । स्वास्थ्यमा, हाइड्रोमा, हरेक क्षेत्रमा काम गरिरहेका विशेषज्ञता हासिल गरेका नेपालीलाई बोलाएर ४/५ वर्ष देशको सेवामा लगाउन र सानो क्याबिनेट बनाएर सरकार चलाउन सकियोस् । त्यसपछि २० वर्ष पार्टीमा लागेर किन चुनावमा लड्ने ? यस्तो भयो भने बल्ल मानिसहरु देश बनाउनका लागि राजनीतिमा लाग्छन् । हाम्रोमा फ्रेन्च मोडेलको कुरो पनि आएको थियो, तर त्यता जाँदा हाम्रोमा शक्ति संघर्ष चर्किन सक्छ ।

यहाँले ली क्वानलाई सकारात्मक उदाहरणका रुपमा प्रस्तुत गर्नुभयो, तर केहीसमय पहिले नेपालमा बाबुराम भट्टराईलाई ली क्वान बन्न खोजेको भन्दै धज्जी उडाइएको थियो नि ?

–अहिलेको परिस्थितिमा सिंगापुरबाट ली क्वानलाई नै ल्याएर चलाउन खोजे पनि नेपालमा केही हुन सक्दैन । पशुपतिनाथ नै उठेर आए पनि हुँदैन । यहाँको सोच र संरचनालाई परिवर्तन गर्नुपर्छ अनि विस्तारै हुन्छ । यो परिवर्तन विदेशीले हुन दिएन भन्नुभन्दा हामी आफैंले गर्ने हो । नेपालको हित नेपालीले हेर्ने हो, विदेशीले त उसैको देशको हित हेर्छ ।

यसो गर्दा विदेशमा पढेलेखेका सम्पन्न वर्गका मानिसमात्रै सत्तामा पुग्ने हुन् कि ?

–हामीलाई हिन्दी मुभी सिन्ड्रोम भएको छ । हिन्दी चलचित्रमा जहिले पनि हिरो गरीब हुन्छ र भिलेन धनी हुन्छ । हाम्रो सोचमा के छ भने धनी हुनु भनेको नराम्रो कुरा हो । चीनमा देङ स्याओपिङले धनी हुनु राम्रो कुरा हो भन्दिएपछि चीनको अर्कै रुपान्तरण भयो । हामीले पनि देशको रुपान्तरण गर्ने हो भने धनी मान्छेलाई गरीब बनाउने होइन, गरीब मान्छेलाई धनी बनाउनुपर्‍यो । हाम्रो सोच बदलिनुपर्छ ।

देश जटिल अवस्थामा छ, अब यसबाट निकास पाउन के गर्नुपर्ला ?

हामीले चुनाब गर्नैपर्छ । चुनाब गरेनौ भने निर्वाचनविनै देश चलाउने प्रवृत्ति बढ्दै जान्छ र नेताहरुले जनताको हितमा कम काम गर्न हाल्छन् । त्यसैले चुनाव हुनैपर्छ । सबैजना मिलेर राष्ट्रिय सरकार बनाएर अनि चुनाव गर्नुपर्‍यो । तर, सबै जना मिलेर राष्ट्रिय सरकार बनाउने भएको भए संविधान आउँदैनथ्यो होला ? संविधानजस्तो चिज त ल्याउन सकेनन् भने सरकार कसरी बनाउलान् ?

3 Comments on “ढुकेर बसिरहेको तानाशाही आउँछ-आउँछ”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु