-हिसिला यमी, प्रमपत्नी एवं एमाओवादी नेतृ
(अमेरिकी प्रथम महिला मिचेल ओबामा शायदै विवादमा पर्छिन् । तर, नेपालकी प्रथम महिला अर्थात् प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी धर्मपत्नी हिसिला यमी नेपाली मिडियामा विवादित पात्रका रुपमा चर्चामा आउने गर्नुभएको छ । कतिपय मानिसले कस्तो तर्क गर्न थालेका छन् भने बाबुराम भट्टराई राम्रा मान्छे हुन् तर, हिसिलाले उनलाई बिगारिरहेकी छन् । के वास्तविकता यही हो त ? अनलाइनखबरले यो साता एमाओवादी पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री, इञ्जिनियर, लेखिका एवं नेपालकी एक विदुषी हिसिलालाई बालुवाटारमै गएर र्याख र्याखी पार्ने प्रयास गरेको छ )
माओवादी नेतृ हिसिला यमी पहिलेभन्दा अलोकप्रिय बन्न थाल्नुभएको हो ?
मलाई अचम्म लाग्छ, बाबुरामजी प्रधानमन्त्री भएपछि मलाई फस्ट लेडी (प्रथम महिला) का रुपमा लिनुपर्दा कतिपय पोलिटिसियनले मलाई तिमी फस्ट लेडी होइनौ, किनभने हामीकहाँ फस्ट लेडीको प्रचलन छैन, त्यसैले आफूलाई फस्ट लेडी भन्दै नहिँड भने । मैले उनीहरुलाई भनें, ऐनमा छ कि छैन भन्ने कुरा होइन, यो त एउटा अन्तरराष्ट्रिय प्रचलनको कुरा हो ।
तर, वहाँ प्रधानमन्त्री भएपछि अहिले म अलिकति सेफडाउन भएकी छु । म पनि त तीनचोटि मन्त्री भैसकेकी मान्छे हुँ, मैले पनि अन्तरवार्ता दिँदै हिँड्न र बोल्न सक्थें, तर त्यसो गरेकी छैन र आफैं सचेत भएर बाहिर त्यति देखा परिरहेकी छैन ।
प्रधानमन्त्रीका हरेक काममा हिसिलाको हस्तक्षेप हुन्छ भन्ने सुनिन्छ नि ?
हैन । म उहाँको काममा सहजीकरणचाँहि गर्छु । जस्तै भर्खरैको एउटा उदाहरण दिन्छु, पाटन अस्पतालमा समस्या भो, प्रधानमन्त्रीले नै एकचोटि बुझ त के भएको हो भन्नुभयो । मैले प्रारम्भिकरुपमा बुझें, तर वहाँले यसको जिम्मा त्यहाँका एक सचिवलाई दिनुभयो र म ब्याक भएँ । यसैगरी म कतिपय संयोजनका काम परे भने मैले संयोजन गरिदिने गरेकी छु । जे गर्छु म उहाँको सल्लाह अनुसार गर्छु । मलाई यति थाहा छ कि यतिबेला मैले प्रधानमन्त्रीलाई मद्दत गर्नुपर्छ, चाहे त्यो पार्टीभित्रको कुरा होस्, चाहे सरकारको । वहाँको इमोसनल कुरा पनि त हुन्छ नि । यस्तो बेलामा मैले उहाँसित झगडा गर्ने कुरा त आएन । त्यसैले म आफैंले सचेतरुपमा आफ्नो हैसियतबाट आफूलाई तलै राखेकी छु ।
नेपालमा ‘फस्ट लेडी’ को पनि कानूनी प्रावधान छैन, राजनीतिकरुपमा पनि तपाई खरो जिम्मेवारीमा हुनुहन्न, तर, तपाई बालुवाटारभित्रै हुनहुन्छ । मान्छेहरु प्रश्न गर्छन् कि बिहानदेखि बेलुकासम्म हिसिला यमीले बालुवाटारमा के गर्छे ? मान्छेहरु त खाली रहेका ती ८ वटै मन्त्रालय हिसिलाले हेर्ने हो भन्छन् नि ?
यस्तो होइन । अहिले हाम्रो पार्टीभित्र कोही एकदमै रिसाएका छन् भने बाबुरामजीसँगै रिसाएका छन् । किनभने हिजो कतिपय लाभको पदमा सीधै पार्टीको मान्छेलाई नियुक्त गरिन्थ्यो, अहिले बाबुरामजीले त्यस्तो गुर्नभएको छैन । हिजो कांग्रेस, एमालेका पालामा आफ्नो मान्छेलाई राख्ने गरिन्थ्यो । यस्तो मामिलामा बाबुारमजी एकदमै कडा हुनुहुन्छ । मेरो पार्टीबाट लौ न त्यो मान्छे राखिदिनुपर्यो भन्दै मलाई दबाव आउँछ, तर मैले बाबुराम भट्टराईजीमा के देखेकी छु भने उहाँ दायाँ-वायाँ, तल-माथि हेर्नुहुन्छ र सिस्टमअनुसार काम गर्न खोज्नुहुन्छ । विशेषज्ञता भएको मान्छे छ भने त्यसलाई राख्न खोज्नुहुन्छ । मलाई के लाग्छ भने यसले तत्काले पार्टीभित्र असन्तुष्टि त ल्याउला तर, देशका लागि यसले राम्रो गरेको छ ।
तर, सरकारले गरेका नियुक्तिप्रति विपक्षी सन्तुष्ट देखिँदैनन्, किन ?
पछि मनपरि गर्न नपाइने भो भनेर । एक त उनीहरुको एजेन्टा हामीले हाइज्याक गर्यौं , बाबुराम भट्टराईले अहिले बोकेको एजेन्डा भनेको कांग्रेस, एमालेकै एजेन्डा हो । अर्को, अहिले सिस्टम बसाइदिएपछि उनीहरुले पछि आफ्ना मान्छे नियुक्त गर्न नसक्ने अवस्था आयो । उनीहरुलाई घाटादेखि बाहेक केही भैरहेको छैन । तर, हामीले देशलाई माया गर्नुपर्छ, देश रह्यो भने मात्रै पार्टी रहन्छ । तर, सबै त्यस्ता छैनन्, कांग्रेस, एमालेभित्रकै कतिपय मानिसहरु यो सरकारमा सहभागी हुनुपर्छ भनिरहनुभएको छ ।
नेपाली समाज यस्तै छ, तपाईसित जागिर माग्न आउनेहरुको कत्तिको भीड लाग्छ ?
हैरान गर्छन् । मकहाँ विद्यार्थीबाट पनि आउँछन् र जिल्ला-जिल्लाबाट पनि आउँछन् । तर, यसलाई न्यूनीकरण गर्न थालेपछि अहिले केही कम भएको छ । पहिले-पहिले धेरै आउँथे ।
दिनमा कतिजनाले जागिर माग्छन् ?
अहिले त मलाई सजिलो छ, मेरो दाँत पातलो हुँदै गएकाले तार स्टील हालेको छ, डाक्टरले धेरै नबोल्न सल्लाह दिएको छ । त्यसैले मैले फोन धेरै रिसिभ गरिराखेको छैन । डाक्टरको यो सल्लाहले मलाई लो प्रोफाइलमा बस्न झन् सजिलो भएको छ । अचेल दिनमा दुइ/तीनवटा यस्ता केसहरु आउँछन् ।
नयाँ जागिर माग्नेहरुमात्रै आउँछन् कि सरुवा-बढुवाका लागि कर्मचारी पनि आउँछन् ?
आउँछन् ।
उनीहरुलाई के भनेर पठाउनुहुन्छ ?
म भन्दिउँला भन्छु । आफ्नै पार्टीका साथीहरु आउँदा भन्दिँन भन्न त मिलेन नि । पार्टीका साथीहरुले अपेक्षा पनि गरेका हुन्छन् । म बाबुरामजीलाई यस्तो कुरा आएको छ है तर, तपाई आफैं विचार गर्नुहोस् भन्दिन्छु । तर, उहाँले सिस्टममा काम गर्नुहुन्छ ।
यसरी भनसुनका आधारमा अघि बढ्ने प्रचलन तपाईलाई कस्तो लाग्छ ?
अहिले त मलाई सजिलो छ । अहिले जहाँ पनि आयोगको जाँच हुन्छ । संस्थानमा पनि प्रतिश्पर्धा हुन्छ । अनि लिखितमा त तपाईको नाम आउनुपर्यो नि भन्छु । अहिले मलाई सजिलो छ ।
भनेपछि संस्थानतिर जीएम, अध्यक्ष खानुपर्यो भन्नेहरुको दबावचाँहि बढी आउँछ ?
पहिले बढी आउँथ्यो । तर, अहिले मैले धेरै फोनहरु रिसिभ गर्न छाडेकी छु ।
जागिर पाएनन् भने हिसिलाले गर्दा भएन भनेर रिसाउने कत्ति होलान् ?
त्यसरी रीस गर्दैनन् ।
जागिर मिलाइदिनुपर्यो भनेर कसैले तपाईलाई पैसा दिने प्रस्ताव पनि गरेका छन् कि ?
आबुई गर्छन् नि । तर, म तिनीहरुलाई गाली गरेर पठाउँछु । आजै मकहाँ आएको एउटा मान्छेलाई मैले गाली गरेर पठाएँ । आफ्नै पार्टीभित्रबाट आयो र पैसा लिनुपर्यो भन्यो । मैले भनें, तिमीले यो के भनेको ? पत्रपत्रिकामा आएको समाचार पढेर तिमीलाई पनि हिसिलाको इमेज पैसा खाने को भन्ने लाग्यो कि क्या हो ? मैले उहाँलाई तपाईले यसरी मलाई सोध्न आँट गर्नु नै मेरो लागि दुखको कुरा हो भन्दिएँ । मलाई बडो दुख लाग्यो ।
तपाईले पैसा लिने गरेको समाचार मिडियामा आइरन्छन्, किन ?
आजै आयो । एउटा आइतबारे साप्ताहिकमा मेरो फोटोसहित आयो । त्यसमा एकरत्ति पनि सत्यता छैन । के गर्नु ? कहिलेकाँही पत्रकारहरु देखेर माया पनि लाग्छ मलाई । एउटा सामान्य कुरा पनि सोध्ने भन्ने नै छैन, खालि लेखेको छ, लेखेको छ । कहिलेकाँहि त कस्तो लाग्छ भने म असाध्यै महत्वपूर्ण मान्छे भएर मेरो बारेमा छाप्दा पत्रिका बिक्ने भएर पो त्यो गरेको हो कि भन्ने पनि लाग्छ । कोह पत्रकारले भन्छन्, तपाई यस्तो ठाउँमा हुनुहन्छ, त्यसैले तपाईको समाचार बिक्छ ।
बेलाबेला पार्टीका कार्यक्रम हुन्छन्, महाधिवेशन हुन्छ, त्यस्तो बेला पार्टीले गर्ने चन्दा अभियानमा तपाईको कस्तो भूमिका रहन्छ ? तपाईहरु बालुवाटारमा भएकाले पार्टीले पनि त तपाईहरुसित पैसाको अपेक्षा गर्दो हो….
पार्टीले मलाई बारम्बार पैसा उठाउने जिम्मा दिन्छ । पार्टीले यस्ता अभियानहरु गर्छ, म त्यसमा नकुदेको दिन कुन छ र ? तर यसमा पनि मलाई जोडिन्छ । कि पार्टीले मेरो डिफेन्ड गर्नुपर्यो, हैन भने पार्टीको यस्तो अभियानमा मेरो नाम नजोडियोस् भन्दै आएकी छु । तैपनि पार्टीले अभियानमा मेरो नाम जोडेकै हुन्छ । फेरि हाम्रो कम्युनिष्ट पार्टीमा के हुन्छ भने पार्टीले जिम्मा दिए पनि नो भन्न पनि मिल्दैन । तर, मैले भन्ने गरेकी छु, मलाई यस्तो आरोप लागिराखेको छ, त्यसैले तपाईहरुले मलाई यसबाट छुट्टी दिनुपर्छ ।
बाबुरामले पनि हिसिलालाई आर्थिक काममा नराख भन्नुभएको छ । किनभने मेरो इमेज बिग्रनु भनेको उहाँको पनि इमेज बिग्रनु हो ।
अर्को पाटो पनि त होला नि, कार्यकर्ता कर्णलीबाट आउला, भाडा छैन भन्यो भने दिएर पठाउनुपर्यो । विचार समूह पनि छ, पैसा त निकाल्नुपर्यो होला नि ?
विचार समूह भएका बेला यस्तो समस्या थियो, अहिले छैन ।
तर, स्रोत साधनका हिसाबले लाजिम्पाटको आँखा यतिबेला बालुवाटारतिरै होला नि ?
बालुवाटारमा स्रोत हुनु पनि त पर्यो नि । बाबुराम त कस्तो भने अमेरिकाबाट आउँदाखेरि आफूसित भएको डलर पनि सरकारलाई दिनुभयो । यस्तो मान्छेसित के पैसा हुन्छ ?
बाबुराम एकदमै सादगी मान्छे हुन् तर, हिसिलाका कारण उनको छवि धुमील हुँदैछ भन्ने धारणा बढ्दो छ……
पत्रिकाहरुले पनि त्यसै गर्छन् । मेरो फोटो छाप्दा पनि रिसाएको जस्तो, कपाल जिंग्रिङ्ग भएको बहुलाएको जस्तो छानेर छाप्छन् र हिसिला एकदमै खराब मान्छे हो भन्ने देखाउन खोज्छन् । कसैलाई मैले भ्रष्टाचार गरेको भन्ने लाग्छ भने मेरो बैंक खाता चेक गरे हुन्छ । मैले जग्गा जमीन किनेको कसैले प्रमाण ल्याउँछ भने त्यो जग्गा उसैका नाममा नामसारी गरिदिनु तयार छु ।
यस्तो भएपछि तपाईलाई नेपालको मिडियाबारे कस्तो अुनभूति हुन्छ ?
मिडियाको स्तर पार्टीहरुको स्तरले पनि त निर्धारण गर्छ । मलाई त हाम्रा यतिधेरै मिडियाहरु कसरी बाँचेका होलान् भन्ने चिन्ता लाग्छ । जतिपनि निजी क्षेत्रका व्यवसायीहरु आउँछन्, सानो सानो कुारले उनीहरु अगाडि बढ्न सकिरहेका छैनन् । देशमा उत्पादन नै राम्रो हुन नसकेपछि मिडियालाई पनि गाह्रो परिरहेको छ जस्तो लाग्छ । मलाई माया लाग्छ । कतिपय व्यवसायीहरुको समस्या समाधान गरिदिन मन लाग्छ, तर फाइल हेर्न पाएको छैन, हिसिलाले पैसा खाई भनेर मिडियामा आउँछ । के भन्ने मैले ? तर, फेरि पनि म उनीहरुलाई हेल्प गर्छु । उनीहरुको काम प्रोसेसमा हुन्छ, फेरि फाइल रोकिन्छ । अनि म फोन गरेर काम गरिदेऊ भाइ भन्छु । देशमा उत्पादन त बढाउनुपर्यो नि । दक्ष मान्छेले मसित काम चाहियो भन्दै आयो भने हाम्रो पनि त मन रुन्छ नि । हामी इन्जिनियर हुँदा सानका साथ भएका थियौं, अहिले त के भन्ने खै ! म कम्युनिष्ट मान्छे, तर नेपालमा निजी उद्यमीहरुको स्थिति देखेर माया लाग्न थालेको छ । कमसेकम उनीहरुले मान्छेलाई रोजगारी दिएका छन् । त्यहीँ पनि पार्टीका मान्छे गएर धम्की दिन्छन् यता, सरकारी निकायबाट फइलहरु लुकाएर दुख दिने काम भइरहेको छ ।
भनेपछि राजनीतिज्ञबाट भन्दा ब्यूरोक्रेसीबाट व्यवसायीहरुले दुःख पाइरहेका छन् हैन ?
देश गरिब हुनु भनेको एउटा व्यक्ति र निकायमात्रै होइन, समग्र संरचनाले नै काम नगरेर हो । एउटालाई मात्रै दोष दिन मिल्दैन । समग्र सिस्टमलाई दोष दिनुपर्छ ।
हिसिला यमीले आफ्ना मान्छेलाई धेरै ठाउँमा जागिर खुवाउनु भो रे नि ?
अस्ति हामी दिदी-बहिनी वीचमा जोक पनि भयो । मेरो दोष भनौं कि के भनौं, हामी असाध्यै शिक्षित परिवारका पर्यौं । मेरी जेठी दिदी धर्मयमी राजभण्डारी अंकोलोजिष्ट -क्यान्सर रोग विशेषज्ञ) हुनुहन्छ । उहाँ विदामा अमेरिकाबाट यहाँ आउनुभएको थियो । हामी दिदी बहिनीका वीचमा आफन्तले जोक गर्दै के भने भने, ‘तिमी सबै दिदी-बहिनी मिलेर एउटा पत्रकार सम्मेलन गर र विावद भैरहेको पाटन अस्पतालमा नियुक्तिका लागि हिसिला यमीको एकजना अंकोलोजिष्ट दिदी बाँकी छ है भन ।’
हाम्रा सबै दिदी बहिनी आ-आफ्नो ठाउँमा सक्षम छन् । मेरी अर्की दिदीलाई पीके क्याम्पसमा एमाले, कांग्रेसहरुले नै क्याम्पस चीफ बनाएका हुन्, माओवादी बनाएको त होइन । क्षमताले गर्दा उहाँहरु ठाउँमा पुग्नुभएको हो, यसमा मैले कतै भनसुन गरेकै होइन । उनीहरुको आफ्नै प्रोफेसन छ । मभन्दा माथि कोयोदेवीले माइक्रो बायोलोजीमा पीएचडी गरिन् । चिरिक कोयोदेवीले केमेस्ट्रीमा एमए गरेको । न्हुच्छे शोभाले म्याथमा एमए गरिन् । तिमिला यमीले कानपुरबाट इलेक्ट्रोनिक इन्जिनियरिङ गरेकी हुन् । मेरा दाजु पनि सिभिल इन्जिनियर हुन्, अहिले रिटायर्ड भएर बसेका छन् । म आफैं पनि इन्जिनियर हुँ । यस्तो छ हाम्रो परिवार ।
तपाई पावरमा हुनुहन्छ, यतिबेला दिदीबहिनीले अवसर पाउँदा कुरा उठ्नु स्वाभाविकै हैन र ?
मैले तपाईलाई के भन्ने ? वहाँहरुले आफ्नै क्षमताका आधारमा अवसर पाउनुभएको हो । चिरिकले सिनियरिटीका आधारमा पाएकी हुन् । मान्छेले मसित जोड्छन् त मैले के गर्नु सक्छु । उनीहरुले अवसर पाउनुमा मेरो कुनै भूमिका छैन, यो सबै पार्टीले गर्ने कुरा हो । के गर्नु त, हाम्रो पार्टीभित्र मान्छेहरुको खडेरी छ । त्यसैले अलि पढेलेखेकै मानिसहरु त्यहाँ जान्छन् । हाम्रा नेता हरिबोल गजुरेलका दाजुभाइहरु पनि एक से एक पढेलेखेका छन् । तर, उनीहरुको नाम नआउने अनि मेरो मात्रै आउने ? विद्यादेवी भण्डारीले रक्षामन्त्री हुँदा आफ्नै छोरीलाई स्वकीय सचिव बनाइन्, त्यो समाचार बनेन, अनि मेरी दिदीको ठूलो न्युज बन्ने । मैले के गर्ने भन्या ।
अहिले नयाँ पुस्तामा राजनीति र नेताहरुप्रति घृणा एवं नैराश्यता बढ्दै गएको छ, यसबारे के भन्नुहुन्छ ?
अस्तिमात्रै ‘इन्टरनेशनल हेराल्ड’ भन्ने पत्रिकामा मान्छेहरु राजनीतिलाई घृणा गर्छन्, तर राजनीतिले नै मान्छेलाई डायलिक्टिकल बनाउँछ भनेर अस्तिमात्रै लेखिएको छ । राजनीति गर्ने र सरकार चालाउने बेलामा तपाईले आफू बच्ने किसिमले सम्झौता गर्नुपर्छ । मान्छेको महानता नै त्यहीँनेर हुन्छ । त्यसैले राजनीति भनेको समग्रता हो, डायलिक्टिस हो । राजनीति भनेको अन्तरविरोधलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि हो ।
राजनीति जे सुकै भए पनि नेताहरुले ४ वर्षसम्म जनतालाई संविधान दिन नसक्दा नेताप्रति जनतामा घृणा बढेकै छ नि ?
उनीहरुले राजनीतिलाई समग्रतामा बुझ्न सकेनन् । आखिर यो समस्या सबै पार्टीमा देखियो । कांग्रेस, एमाले र माओवादीमा पनि देखियो र पार्टीसमेत टुक्रियो । हाम्रोमा साँच्चैको दलीय अभ्यास ६ वर्षमात्रै भयो । यसअघि राजतन्त्रको छाँयामा दलीय अभ्यास राम्रो हुन सकिरहेको थिएन । यो ६ वर्षको अवधिमा पार्टीहरु आफ्नो भिजन हराएको र आफैंभित्र टोकाटोक गरिराखेको अवस्था हो । बच्चाले दाँत निस्कने बेलामा यसैगरी जे पायो त्यही टोक्दै हिँड्छ । त्यतिबेला एउटा अभिभावकले बच्चालाई टोक्नका लागि प्लाटिक दिनुपर्छ, तर फोहोर चिज दिनुहुँदैन । अहिले पार्टीभित्र पनि आफू परिपक्व हुनका लागि टोकाइ भइराखेको छ, यसलाई सहज गराइदिनुपर्छ भन्ने हाम्रो माग हो ।
तर, जनतामा त झन् निराशा बढिरहेको छ….
किन बढ्दैन त ? जब पार्टीहरु आफैंले आफ्नो भिजन दिनु पर्यो नि । कांग्रेस भनेको उत्पादनलाई बढाउनुपर्छ भन्ने पार्टी हो नि, अहिलेको सरकारले पनि त्यही वातावरण बनाइरहेका बेला कांग्रेस त खुशीसाथ सरकारमा आउनु पर्ने हो तर, आफ्नै नीतिबाट कांग्रेस आफैं तर्सिएको छ, त्यसैगरी एमाले एनजीओमा धेरै अभ्यस्त पार्टी हो, समाजिक क्षेत्रमा सरकारले धेरै राम्रा काम गर्न खोजिरहेका बेला उ पनि खुशीसाथ सरकारमा आउनुपर्ने तर, उन पनि माओवादीदेखि तर्सिराखेको छ । जनताको नेतृत्व गर्ने पार्टीहरु यसरी आफ्नो छायाँबाट आफैं तर्सिएपछि जनतामा निराशा आउनु स्वाभाविक हो । बा आमा नै तर्सिएपछि बच्चाहरु तर्सिन्नन् त ?
माओवादीसित भन्दा पनि कांग्रेस, एमालेप्रतिमात्रै जनताको वितृष्णा बढेको छ भन्न खोज्नुभएको हो ?
त्यस्तै देखिन्छ । इन्टरनेट फेसबुक आदिले गर्दा जनता सचेत भएका छन्, त्यसैले उनीहरुले हेर्ने भनेको व्यवहार हो । हामीले पनि दम्भ देखाउँनु हुँदैन, जनतासित नरम हुन सिक्नुपर्छ ।
कांग्रेस र एमालेले आफ्नो नीतिमा अडान लिनुपर्यो । उनीहरुको नीति भनेको संसदीय व्यवस्था हो, त्यसका लागि अहिले हामीले लडिदिइराख्नुपरेको छ । हाम्रो नीति त राष्ट्रपतीय प्रणालीमा जान खोजेको हो नि त । अहिलेको सरकारले लगानी वर्ष घोषणा गर्यो, लगानी बोर्ड बनायो यो त कांग्रेसकै एजेन्डा हो ।
विपक्षीलाई सत्तामा नल्याएर यस्तो भएको हैन र ?
सत्तामा आउन पनि उहाँहरुलाई विधिवत् रुपमा आउन कसले रोकेको छ ? बाबुराम भट्टराईजस्तो डबल बोर्ड फस्ट, सडकदेखि युद्धसम्म मोर्चा ह्यान्डल गरेर आको मान्छे हो । अहिले उसलाई कति हम्मेहम्मे भैराखेको छ ।
बाबुरामकै नेतृत्वमा चुनाव हुनेमा तपाई विश्वस्त हुनुहन्छ ?
मलाई के लाग्छ भने अहिले अनतरराष्ट्रिय समुदायले पनि नेपालमा हेरिराखेको छ र उसको पनि हेर्ने आधार भनेको विधि नै हो । उनीहरुले नेपालमा स्थायित्व चाहिन्छ भनिराखेका छन् । अस्तिमात्रै चीनियाँ राजदूतले हाम्रो र इण्डियाको एक मत छ भन्नुभएको छ ।
पहिले बाबुराममाथि जनताको एकदमै हाइहाइ थियो । वहाँको महानता भनेको वहाँमा धैयर्ता छ । यो सुन्दा मान्छेहरु हाँस्छन्, तर मैले बारम्बार भन्ने गरेकी छु कि बाबुरामजीमा महिलामा हुने गुण छ । वहाँमा असाध्यै धैर्यता छ । तपाई नै विचार गर्नोस् न, खालि रहेका आठवटा मन्त्रालयहरु वहाँले आफैं हेरिराख्नुभएको छ । वहाँ ‘ओभर वक्र्ड’ हुनुहन्छ । असाध्यै गाह्रो छ, तैपनि हार्नुभएको छैन ।
चुनाव भयो भने एमाओवादी तेस्रो शक्तितिर र्झछ, त्यसैले चुनाब चाहँदैन भन्ने विश्लेषण गरिँदै छ नि ?
पहिलो संविधानसभाको चुनावमा पनि हामीलाई यस्तै अवमूल्यन गरिएको थियो । हामीले हाम्रो व्यवहार जनमुखी बनायौं भने मान्छेहरुले हामीलाई चिन्छन् ।
I like the way u express ur ans. these present so called nepalese media are now a days being run by money/dollar.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]