दामोदर नेपाल
मंशिर २०, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सानडियागो क्षेत्रका लागि नेपाल सरकारले पुन्नाखर ढकाल -ऋषी) लाई अवैतनिक बाणिज्यदूतमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले ढकाललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
गोरखा जिल्ला पृथ्वीनारायण नगरपालिका वार्ड नं. १० श्रीडांडामा जन्मेका युवा व्यवसायी ढकाल विगत सात वर्षदेखि अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा बसेर व्यवसाय गर्दै विभिन्न सामाजिक सेवाका कार्यमा समेत सक्रिय रहंदै आएका छन् । उक्त क्षेत्रका सामाजिक कार्यहरुमा सक्रिय रुपमा लाग्नु भएका ढकाल एक सफल युवा व्यवसायी हुनुहुन्छ । लस एन्जलसको अर्केडियामा बस्दै आउनु भएका ढकाल सो क्षेत्रमा नेपाल सरकारद्वारा नियुक्त प्रथम नेपाली हुनुहुन्छ ।
युवा अवस्थादेखि नै व्यवासायमा सक्रिय रुपमा लाग्नु भएका ढकाल हाल अमेरिकाको लस एन्जलस क्षेत्रमा राईजिंग ईन्टरनेशनल ईन्क नामक कम्पनीको माध्यमबाट अमेरिका र क्यानडामा समेन नेपाली सामानहरुको निर्यात गरिरहनु भएको छ । निज ढकाल व्यावसायिक रुपमा मात्र होइन समाज सेवाका क्षेत्रमा समेत सफल हुनुहुन्छ । लस एन्जलस क्षेत्रमा सक्रिय रहेको सामाजिक संस्था श्री पशुपतिनाथ फाउण्डेसन यूएसए को स्थापनार्थ ठूलो योगदान पुर्याउनु भएका ढकाल उक्त संस्थापको कोषाध्यक्ष समेत हुनुहुन्छ । ढकालकै संयोजकत्वमा गत साल मात्र उक्त फाण्डेशनले महायज्ञ आयोजना गरेको थियो भने उक्त महायज्ञबाट ठूलो रकम जम्मा भएको थियो । फलस्वरुप हालै मात्र सो संस्थाले नेपाल बाहिर पशुपतिनाथको मन्दिर निर्माण गर्ने तथा बुद्ध स्तुपा निर्माण गर्ने उद्देश्य अनुरुप सोही क्षेत्रमा रहेको एक चर्च आफ्नो संस्थाको नाममा किन्न सफल भएको छ ।
अहिलेसम्म अमेरिकाको विभिन्न क्षेत्रमा गरी सात जना अवैतनिक बाणिज्यदूत नियुक्त भैसकेको भए पनि उक्त पदमा नियुक्त हुने नेपालीहरु भने केबल दुई जना मात्र हुनुहुन्छ । जसमा सो पदमा नियुक्त हुनेमा ढकाल दोश्रो नेपाली हुनु भएको छ भने यस अघि लोक गायक प्रेमराजा महत मेरिल्याण्ड तथा पेन्सिलभेनिया क्षेत्रको लागि महाबाणिज्यदूत हुनुहुन्छ ।