पहिले लाइन लाग्न सिकौं, समाजवाद र साम्यवाद पछि ल्याऔंला :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पहिले लाइन लाग्न सिकौं, समाजवाद र साम्यवाद पछि ल्याऔंला

डा. डोलेश्वर भण्डारी

लाइन लाग्ने कला मान्छेले जन्मिदै जानेर आएको हुँदैन । जसरी हामीले नमस्कार गर्न सिक्छौं, हात मिलाउन सिक्छौं, खुट्टामा ढोग्न सिक्छौं, अरुलाई सम्मान गर्न सिक्छौं, त्यसै गरी लाइन लाग्न पनि सिकेर जान्ने कुरा हो । लाइनमा लाग्नु भनेको सभ्यता पनि हो ।

लाइनमा लाग्दा हामीले शान्ति पाउँछौं । वुध्दले पाएको शान्ति नहोला, तर हाम्रो मानसिक र शारिरिक जोखिमलाई कम गर्न सकिन्छ । लाइनले युध्दलाई हटाउँछ, अनावस्यक रुपमा हुने जीउधनको क्षतिवाट जोगाउँछ, र हामीलाई यसले सुरक्षा पनि दिन्छ । लाइनले समानतालाई पनि वढाउँछ ।

लाइनले वच्चादेखि वुढासम्म, गरिबदेखि धनिसम्म, सक्नेदेखि नसक्नेसम्म, पहलमानदेखि असक्तसम्म, कालादेखि गोरासम्म, कार्यकर्तादेखि नेतासम्म, हाकिमदेखि पियनसम्म, तराईदेखि हिमालसम्म, पूर्वदेखि पश्चिमसम्म सवै तह र तप्काका मान्छेहलाई समान गराइदिन्छ ।

अस्पताल अगाडि लाग्ने विरामीको लाइन होस् वा जिल्ला कार्यलयमा पासपोर्ट वनाउनेको लाइन होस्, वा पानी थाप्न गाग्रा वोकेका मानिसको लाइन होस् वा पेट्रोल भर्नका लागि पेट्रोलपम्प अगाडिको लाइन होस वा टेण्डर वुझाउन लागेको लाइन होस् । यदि हामी लाइन लाग्न सिक्ने हो भने धेरै हदसम्मको समानतालाई वढाउन सकिन्छ ।

लाइन लाग्दा हामीले न्याय पाएका पनि हुन्छौं र अरुलाई न्याय दिएका पनि हुन्छौं । जो पहिले लाइनमा लागेको छ, उस्को पहिला पालो आउँदा न्याय हुन्छ, पछि आएर लाइन मिच्दा अन्याय हुन्छ ।

हामी जे जस्तो राजनीतिक विचारलाई समर्थन गर्छौं, जे जस्तो पार्टिलाई भोट हाल्छौं, लाइनमा वस्दा हामीले न्यायलाई अगाडि वढाइरहेका हुन्छौं । वलिया वांगा, पहलमान र डनलाई पनि लाइनमा लाग्दा फाइदा हुन्छ किनकी उनीहरु पनि सँधैभरि वलिया हुँदैनन्, उनीहरु पनि वुढा हुन्छन्, उनका पनि वच्चा हुन्छन्, उनका पनि परिवार र आफन्त हुन्छन्, जसलाई वलियाहरुले सँधै संरक्षण दिन गाह्रो हुन्छ ।

प्रहरी हाकीमले पनि त एक दिन सर्वसाधारण भएर मर्नु पर्छ । पैसा, शक्ति, आफन्तहरु भनेका घटवढ भइ नै रहन्छन् । यो वुझेर पैसा, शक्ति, चम्चा हुनेहरुले पनि लाइन लाग्नु र अरुलाई लाइन मिच्न नदिनु नै उचित हुन्छ दिर्घकालसम्म । त्यसैले लाइनमा लाग्नु भनेको हाताहाती न्याय पाउनु र दिनु पनि हो र यस्ले वुढेसकालसम्म नै इन्स्युरेन्सको काम पनि गर्छ ।

लाइन लाग्नु भनेको विधिको शासन तिरको पहिलो र अन्तिम पाइला पनि हो । लाइनको विधिमा सवै समान हुन्छन् र समानरुपमा छिरेका हुन्छन् । लाइनको विधि के हो भने आफ्नो पालो पर्खिएर काम लिने र अरुको पालोलाई सम्मान गर्ने । अरुको पालोलाई आफुले सम्मान गरे मात्र अरुले आफ्नो पालोलाई सम्मान गर्छन । तपाईले चिनेको सिडिओ साववाट पालो मिचाएर पासपोर्ट लिँदा खुशी नहुनुहोस् किनकी तपाईले सेवा लिने ठाउँहरु अनगिन्ती हुन्छन् हरेक ठाउँमा नचिनेको मान्छेवाट काम लिनु पर्ने हुन्छ । त्यसैले लाइनको विधिलाई सम्मान गरौं ।

नियम कानुनलाई ट्राफिक नियमसँग तुलना गर्न सकिन्छ । नियम कानुनमा त्रुटि हुन सक्छन् तर त्रुटि भएकै भए पनि नियम कानुन पालना गर्नु जरुरी हुन्छ । हामी राणा शासन वा पंचायति शासनलाई गालि गर्छौं । तर त्यो वेलामा नियम कानुनको पालना अहिलेको भन्दा वढि थियो र समग्र समाजमा अराजकता कम थियो । जसरी ट्राफिक नियमको पालना नगर्दा दुर्घटना हुन्छ त्यसैगरि नियम कानुनको पालना नगर्दा दुर्घटना हुन सक्छ, भै राखेको पनि छ ।

तपाई-हामी लाइनमा वसेको वेला कसैले लाइन मिचेर हामी भन्दा पछाडि आएर हामी भन्दा आगाडि नै काम लिए भने हामीलाई न्याय हुँदैन । लाइनमा लागेर काम लिने सवैले लाइनको विधिको विश्वास गुमाए भने हामी सवै अराजक भिडमा परिवर्तन हुन्छौं । त्यसैले लाइन मिच्ने मान्छेले खाली उस्को काम मात्र छिटो गराउँदैन कि उस्ले समग्र लाइनको विश्वासलाई छिनाउँछ । त्यसैले केहि मान्छेले मात्र लाइन मिच्दा पनि समग्र लाइनको विधिलाई विगारेर निकम्मा वनाइ दिन्छन् । त्यसैले हाम्रा प्रहरी साथीहरुले लाइन मिच्नेहरुलाई असभ्य नागरिकको रुपमा मात्र लिने हैन कि अपराधिका रुपमा हेर्नु पर्छ ।

लाइनको विधिलाई पालन गरेर लाइनमा वसेको एकजना व्यक्तिको क्रमलाई कसैले जव्वरजस्ती छिन्छ भने उसलाई घर फोरेर डाका गर्दा जे अभियोग लगाइने हो त्यहिखालको अभियोग लगाउनु पर्छ किनकी लाइन लाग्ने व्यक्तिले लाइनमा वसेर उस्को समय र धन खर्चेको हुन्छ । परिस्थीति अनुसार त्यो व्यक्तिको लाइनको क्रम अनुसार त्यो ठाउँलाई लिलाम वढावढ गर्ने हो भने त्यो ठाउँ पाउनकालागि अरु मानिसहरु पैसा तिर्न तयार हुन्छन् । त्यो पैसा थोरै नै किन नहोस तर त्यो व्यक्तिले लाइन लागेर आर्जेको धन हो । जस्ले त्यो धनलाई छिन्न खोज्छ, त्यसलाई दण्ड दिइनु पर्छ र एउटा दण्डले सैयौं अपराधलाई घटाउन सक्छ ।

हाम्रो देशमा नेताहरुको विहानदेखि वेलुकीसम्मको दिन चर्यालाई नजिकवाट हेर्दा के देखिन्छ भने उनीहरु यहि लाइन मिच्ने काममा लागि रहेका हुन्छन् – लाइन मिचेर जागिर दिने, लाइन मिचेर ठेक्का दिने, लाइन मिचेर स्कुल भर्ना गर्ने, लाइन मिचेर अस्पताल भर्ना गर्ने, लाइन मिचेर सरुवा मिलाई दिने, लाइन मिचेर नेपालगँजवाट जुम्ला जाने हवाइजहाजको टिकट मिलाईदिने, लाइन मिचेर पासपोर्ट वनाइ दिने, लाइन मिचेर लाईसेन्स वनाइदिने इत्यादि ।

हाम्रा राजनीतिक पार्टिहरुले आफ्ना कार्यकर्तालाई समाजवाद, साम्यवाद, माओवादको वलिदानी र क्रान्तिकारी गाथा गाउन कम गरेर लाइनमा मात्र लाग्न सिकाइ दिए देशले एक हदको समानता र न्याय पाउँथ्यो । खै कैले आउला अवदेखि लाइन मिचिदैन भनेर ढुक्क हुने दिन ?

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु