कांग्रेस नेताका ढोकामा एकाबिहानै देखिने जुत्ताको संख्याले कार्यकर्तामा उनीहरुको प्रभावको मापन गर्छ भनेजस्तै अन्तरवार्ताका लागि आइतबार बिहान अनलाइनखबरका सम्पादक अरूण बराल रातोपुलस्थित गगन थापाको निवासमा पुग्दा त्यहाँ निकै ठूलो भीडभाड थियो । श्रीमतीलाई वीर अस्पतालमा पथ्थरीको अप्रेसन गराएर धपेडीमा रहनुभएका थापाले कांग्रेसले प्रधानमन्त्रीबाट आफ्नो दाबी फिर्ता लिनुपर्ने नयाँ विचार अघि सार्दै सरकारको नेतृत्वलाई भन्दा चुनावलाई प्राथमिता दिनुपर्ने धारणा राख्नुभएको छ । आफ्ना शर्तहरु मानेको खण्डमा प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न सकिने उहाँको तर्क छ । यस्तो प्रस्ताव राख्दा आफू १४ क्यारेटको र अरु २४ क्यारेटको कांग्रेस नठहरिने थापाको तर्क छ ।
कतिपय मान्छेहरु देशलाई संकट पर्दा सूर्यबहादुर थापालाई सम्झनुपर्छ भन्छन्, तर यस्तो बेलामा झर्झराउँदो युवा नेता गगन थापासँग पनि ‘आइडिया’ छ होला भनेर सम्झे पनि त हुन्थ्यो नि हैन ?
(हाँस्दै) मेरो पार्टीभन्दा बाहिरकाले यिनीहरुसँग पनि केही दृष्टिकोण हुन सक्छ भन्ने अपेक्षा गर्दैनन् वा सोध्दैनन् भन्ने कुरामा मलाई ठूलो गुनासो छैन । मलाई अलि चित्त दुखेको वा मेरो असन्तुष्टि आफ्नो दलभित्रै छ । म नेपाली कांग्रेसको केन्द्रीय समितिको सदस्य छु, यसले मलाई ठाउँ उपलब्ध गराएको छ । तर, जुन पुस्ताले अहिले नेतृत्व गरिरहेको छ, त्यसले हाम्रो अस्तित्व नै स्वीकार गरिरहेको छैन । यसमा हामीले हाम्रो कुरा राख्न पाएनौं भन्ने गुनासो एकातिर होला, तर यसले स्वयं नेतृत्वलाई पनि घाटा पुगिरहेको छ । किनभने वहाँहरु एउटै तरिकाले हुर्कनुभएको, एउटैखाले जीवनको अनुभव गर्नुभएको , एउटै ‘लाइन अफ थिंकिङ’ बोक्ने र एउटै उमेर समूहका नेता हुनुहुन्छ । हाम्रो ‘लाइन अफ थिंकिङ’ वहाँहरुको भन्दा एकदमै फरक हुन्छ ।
हामी अर्कै पुस्ताका हौं, अर्कै ठाउँबाट आएका हौं । कहिलेकाँहि एउटा ‘लाइन अफ थिंकिङ’ले समस्याको हल गर्न नसकिरहेका बेला हाम्रो ‘लाइन अफ थिंकिङ’लाई ठाउँ दिँदा विल्कुल फरक धारणा बनाउन सहयोग पुग्छ । हाम्रो कुरा मान्नैपर्छ भन्ने छैन, तर हामीबाट पनि नयाँ दृष्टिकोण प्राप्त हुन सक्छ । आखिर निर्णय अवलम्बन गर्ने ठाउँमा त वहाँहरु नै हुनहुन्छ । तर, पार्टीमा फरक ‘लाइन अफ थिंकिङ’ पनि छ है भन्ने पटक्कै स्वीकार गरिएको अवस्था छैन । यो मेरो व्यक्तिगत विषय होइन, अहिलेको यथार्थ हो ।
पुरानो पुस्ताका नेताले युवापुस्तासित सल्लाह गरेर अघि बढेको भए समस्या समाधान गर्न सजिलो हुन्थ्यो भन्ने तपाईको दाबी हो ?
हामीले ०१५ सालतिरको कांग्रेसलाई हेर्यौं भने त्यो अहिलेको माओवादी भन्दा तन्नेरी थियो । त्योबेला ४० वर्षभन्दा कम उमेर समूहका नेताले पार्टीलाईर् नेतृत्व गरेका थिए । अहिले कांग्रेसको उमेर बढ्दै गर्दा नेतृत्वको उमेर पनि बढ्यो । नेकपा एमालेको ०४८ सालतिरको अवस्था ठ्याक्कै त्यस्तै थियो । माओवादीको अहिलेको अवस्था ०१५ सालको कांग्रेसको जस्तो छ । तर, नेपालका राजनीतिक दलहरुको नेतृत्व चयनको विधि र संरचना जस्तो छ, माओवादी पनि त्यतैतिर लाग्ने निश्चित छ । एकीकृत माओवादी पनि हाम्रो अवस्थामा पुग्छ, पुग्छ । अहिले पार्टी नै फरक-फरक उमेर समूहका भएका हुनाले त्यहाँभित्रको पुस्ताहरुको व्यवस्थापन फरक-फरक छ ।
उसोभए तपाईको विचारमा अहिलेको राजनीतिको निकास के हो ?
बैसाखमा चुनाब गर्ने नै हो । मसँग एउटा धारणा छ, मैले त्यसलाई पार्टीभित्र राखें, सार्वजनिकरुपमा लेखें, संवैधानिक कानूनका अभिवक्ताहरुसित पनि भनिराखेको छु । कसैले हुँदैन पनि भन्दैनन् तर मेरो प्रस्ताव कार्यसूचीभित्र प्रवेशै गरेको छैन । मेरो प्रस्ताव के हो भने बैसाखमा निर्वाचन गरौं । तर, एकैपटक एउटा व्यक्तिले तीनवटा मतपत्रमा भोट हाल्न पाउने निर्वाचन गरौं । पहिलो मत उसले संविधानसभाका लागि हाल्छ, दोस्ो मत उसले आफ्नो सांसद्का लागि हाल्छ र उसले तेस्रो मत आफ्नो स्थानीय निकायको प्रतिनिधिका लागि हाल्छ । किनभने नेपालमा संविधान बनाएपछि पनि अर्काे १० वर्ष स्थानीय निकायको निर्वाचन नहुने खतरा छ । ३ हजार ९ सय १५ वटा गाविसलाई भत्काएर नयाँ संरचना बनाउँदा समय लाग्न सक्छ । दोस्रो हामीले संविधान दिन नसकेपछि अर्को ३/४ वर्ष ‘हल्ट’ गर्नुभन्दा सँगै संसद्को पनि चुनाव गर्नुपर्छ र सहमतीय नभएर बहुमतको सरकार अल्पमतको विपक्ष रहने प्रणालीमा जानुपर्छ । सरकार सहमतिले चलाउन नहुनेरहेछ । त्यसैले संसदलाई ५ वर्ष अवधि दिनुपर्छ । बहुमत ल्याउनेले सरकार चलाउँछ, अल्पमत थपक्क प्रतिपक्षमा बस्छ । त्यसले दायाँ-बाँया गर्न र सरकारमा मेरो दाबी छ, मेरो पालो छ, केही पनि भन्न पाउँदैन । संविधानसभामा बस्नेलाई सरकारमा आउनै दिनुहुँदैन । अघिल्लो संविधानसभाले गरेका कामलाई त्यसले ‘सन्दर्भ’मा लिन्छ र दुई वर्षमा संविधान बनाउँछ । बाँकी ३ वर्षमा संसद्ले नयाँ संविधानका आधारमा कानूनहरु बनाउँछ र त्यसपछि नेपाल नयाँ चुनावमा जान्छ । बैसाखमा यसरी चुनावमा जानुपर्छ भन्ने मेरो प्रस्ताव छ । २ सय ४० जनाको संसद् बनाऔं, ३ सयजतिको संविधानसभा बनाऔं । दुबैलाई समावेशी बनाउन सकिन्छ ।
दलहरु झन् दलदलमा फस्दैछन्, कसरी होला बैसाखमा निर्वाचन ?
मेरो आरोप के हो भने एकीकृत नेकपा माओवादी बैसाखमा चुनाव गर्ने पक्षमा छैन । उसले आफ्नो पार्टीको महाधिवेशन गर्नु छ, पार्टी फुटेको छ । फुटेको पार्टीलाई कि जोड्नुपर्यो, कि त फुट्नेहरुलाई निर्वाचनमा प्रभाव पार्न नसक्ने गरी कमजोर बनाउनुपर्यो । फुटेको सबै पार्टीको मनोविज्ञान यही हुन्छ ।
मैले कांग्रेसको ठाउँबाट हेर्दा आज कांग्रेसले बैसाखमा हुने निर्वाचनलाई सुनिश्चित गर्न आवश्यक छ । हाम्रो दाबी के छ भने हाम्रो नेतृत्वको सरकारले मात्रै निश्पक्ष चुनाव गर्न सक्छ । आफ्नो नेतृत्वमा विश्वास गर्नु गलत होइन । तर, अहिले हाम्रो दाबी नै बैसाखमा चुनाव नगराउनेहरुका लागि सबैभन्दा ठूलो आधार बन्न लागेको छ । एमाओवादीलाई के थाहा छ भने कांग्रेसले आफ्नो दाबी छाड्दैन, जबसम्म कांग्रेसले दाबी गर्छ, तबसम्म ऊ समझदारीमा आउनेवाला छैन । यसैले मेरो आरोप के छ भने यही बाहनामा एमाओवादी निर्वाचन सार्न चाहन्छ । कांग्रेसले प्रधानमन्त्रीको दाबी नछाडेकोमा एमाओवादी आज सबैभन्दा बढी खुशी भएको छ । यस्तो हो भने बैसाखमा निर्वाचन गर्नका लागि अब कांग्रेस आफ्नो दाबीमा रहनुहुँदैन ।
भनेपछि त्याग गर्नका लागि कांग्रेस तयार हुनुपर्यो हैन ?
यसलाई म त्याग पनि भन्दिँन । हामीले के पाएको छ र त्याग गर्नु ? तर, पार्टीले राष्ट्रको स्वार्थ हेर्नुपर्छ र देशको आवश्यकताअनुसार निर्णय गर्नुपर्ने हुनसक्छ ।
आजसम्म नेपाली कांग्रेसका मूल नेताहरुमा एकखालको ‘लाइन अफ थिंकिङ’ छ, त्यो के हो भने हाम्रो नेतृत्वको सरकार । यसको अर्थ वहाँहरु २४ क्यारेटको कांग्रेस र मचाँहि १४ क्यारेटको होइन । मपनि वहाँहरु बराबरकै कांग्रेस हुँ । तर, म ठाउँमा भएको भए अहिले के भन्ने थिएँ भने हाम्रै पार्टीको फाइदाका लागि हामी अब प्रधानमन्त्रीको दाबी छाडौं ।
तर, कांग्रेसको नेतृत्वमा भएमात्रै चुनाव निश्पक्ष हुन्छ भन्ने छ नि ?
त्यसोभए ०६४ को संविधानसभाको चुनाव निश्पक्ष थियो त ? संविधानसभाको चुनावको पराजयलगत्तै बसेको हाम्रो पार्टीको ४ दिन लामो बैठकल निर्णय गरेको थियो कि नेपालको इतिहासमा यति धाँधलीपूर्ण निर्वाचन कहिल्यै भएको थिएन । खुमबहादुर, बलबहादुरहरु मैदानमा जान पाएनन् । त्यतिबेला प्रधानमन्त्री को थियो ? गृह र रक्षामन्त्री को थियो ? निर्वाचन आयोगका प्रमुख कसको प्रस्तावमा बनेका थिए ? सबै हाम्रो हुँदा पनि त आखिर राम्रो निर्वाचन भएन । त्यसैले आफ्नो नेतृत्वमा चुनाव हुँदैमा निश्पक्ष हुँदैनरहेछ । चुनाव निश्पक्ष हुने अरु नै आधारहरु छन्, बरु त्यसमा काम गरौं न ।
यही सरकारकै नेतृत्वमा चुनावमा जाने हो कि सरकार फेर्ने ?
प्रचण्ड अहिले पनि ‘वार-लिडर’ जस्ता छन् । वार लिडरले ‘ब्याटल’का नयाँ-नयाँ ‘ट्याक्टिस’हरु बनाउँछ र अर्को पक्षलाई मूल्यांकन गरेर तुरुन्त आफ्नो दाउ परिवर्तन गर्छ । प्रचण्डले यसैगरी दाउहरु चलाइराख्नुभएको छ, तर हाम्रो चाँहि एकदम परम्परागत ढंगले अघि बढिराखेको स्थिति छ र यसले गर्दा हामी एकदमै कमजोर भएका छौं । त्यसैले हामीले पनि यही कोणबाट सोच्नुपर्छ ।
तपाईको विचारमा अब कांग्रेसले कस्तो कार्ड खेल्नुपर्ला ? प्रचण्डलाई नै प्रधानमन्त्री बनाउँछौं भन्ने हो ?
हिजो प्रचण्डजीले फ्याट्ट महन्त ठाकुरजीलाई प्रधानमन्त्री बनाऔं भन्दिनु भो । वहाँको अपेक्षित उत्तर के थियो भने कांग्रेस र एमाले नेताले तत्कालै हुन्न भन्नेछन् । हुँदैन भन्छन् भन्ने थाहा पाएर प्रचण्डले त्यो प्रस्ताव राख्नुभएको हो । यसबाट प्रचण्डलाई दोस्रो फाइदा भो, एउटा वहाँको गठबन्धन बलियो भो, दास्रो प्रचण्ड सबै विकल्पमा तयार छन् भन्ने देखियो र तेस्रो, मधेसका मतदातालाई वहाँले आफू नजिक ल्याउन खोज्नुभयो । त्योबेला नेपाली कांग्रेसले लु मधेसीलाई नै बनाउने भए चित्रलेखा यादवलाई बनाऔं भन्न सक्नुपथ्र्यो । अथवा विमलेन्द्र निधीलाई बनाऔं न त । कांग्रेसले यस्तो भनेको भए प्रचण्डको “मुभ”बाट उहाँले गरेको अपेक्षा पूरा गर्न सक्नुहुन्नथ्यो । यसो गरेको भए मधेसको प्रधानमन्त्रीलाई कांग्रेस, एमालेले रोके भन्ने प्रचण्डले दिन खोज्नुभएको सन्देशलाई हामी चिर्न सक्थ्यौं ।
यसैगरी मेरो अर्को विश्लेषण के छ भने महाधिवेशनअघिसम्म प्रचण्डजी सरकार फेर्ने मुडमा हुनहुन्न । बैसाखमा चुनाव नगर्ने वहाँको दाऊ छ । यस्तै हो भने कांग्रेसले प्रचण्ड नै प्रधानमन्त्री बनेर बैसाखमा चुनाव हुन्छ भने हामी तयार छौंं तर, हाम्रा शर्तहरु यी-यी छन् भन्नुपर्छ । कहिलेकाँही त प्रचण्डको अपेक्षालाई पनि हामी गलत बनाइदिऔं न । मैले छलछामलाई छलछामै गर्नुपर्छ भनेको होइन, मेरो भनाइ केमात्रे हो भने विषय र परिस्थितिलाई बुझ्न र त्यो अनुसारको निर्णय लिन हामीले जान्नुपर्छ ।
हामीले अहिले सरकारको जुन दाबी गरिरहेका छौं, तर, माओवादीको सहमति नभई सहमतिको सरकार बन्दैन । हामीले थाहा पाइसकेका छौं कि माओवादी कहिल्यै सहमतिमा आउँदैन । यस्तो बेलामा अझै हामीले जिद्दी गर्नु भनेको उसैलाई बल पुर्याउनु हो । निर्वाचन नगर्ने कुरालाई नै यसले बल दिन्छ ।
आन्दोलन हुने सम्भावनाचाँहि कत्तिको छ ?
आत्मगत चाहनाले मात्रै आन्दोलन सशक्त हुँदैन र त्यस्तो बेलामा आन्दोलन कार्यकर्तामा मात्रै सीमित हुनसक्छ । तर, मैले भाथि भनेको जसरी अघि बढ्ने हो भने यसले आन्दोलनलाई मनोवैज्ञानिक आधार बनाउन सक्छ, माओवादी सहमति चाँहदैन भन्ने जनतामा सन्देश प्रवाह गर्न सकिन्छ, जसले आन्दोलनलाई फाइदा गर्न सक्छ । तर, यसबाट अन्तरिम संविधान क्षतविक्षत हुने भएकाले र राष्ट्रपतिजस्तो संस्थाको मूल्य कमजोर पार्ने भएकाले बैसाखमा चुनाव गर्नेतिर पार्टीले जोड दिनु नै अहिलेको आवश्यकता हो । चुनाव नहुने र राष्ट्रपति पनि बद्नाम हुने स्थिति आयो भने यसबाट सबेभन्दा बढी कांग्रेसले गुमाउँछ ।
अलिकति प्रशंग बदलौं, तपाईको विचारमा उमेर नै मान्छेलाई जाँच्ने कसी हो ?
उमेरलाईमात्रै सबैथोक मानेर त्यसैका आधारमा अगाडि बढ्नु अवैज्ञानिक हुन्छ । उमेरसित जोडिएर आउने सम्पूर्ण कुराहरुप्रति आँखा चिम्लनु पनि उत्तिकै गलत निश्कर्ष हुन्छ । मैले उमेर, उमेर भनेको चाँहि पुस्तालाई भन्न खोजेको हुँ । जस्तो, मेरो पुस्ता भनेको ०४६ सालको आन्दोलनबाट आएको हो । यो पुस्तालाई देशले निकास नपाएकोमा प्रत्येक दिन पोलिरहेको छ । देशले निकास पाउँछ भने यो पुस्ता व्यक्तिगतरुपमा जस्तो क्षति व्यहोर्न पनि तयार छ । जस्तै, नेपालको राजनीतिले निकास पाउँछ र बाटो समात्छ तर, मैले मेरो राजनीतिक यात्रा यहीँ टुङ्याउनुपर्ने अवस्था आउँछ भने म यसलाई सहजतापूर्वक लिन तयार छु । किनभने मसित मैले राजनीतिमा १५ वर्ष लगानी गरेको छु, त्यसको ब्याज पाउनुपर्छ भन्ने मसित ‘ब्यागेज’ छैन । मेरो पुस्तासित खतरा मोल्न सक्ने इच्छाशक्ति पनि छ र जीवनमा अर्को राजनीति बाहेक अन्य विकल्प रोज्न सक्ने ‘क्रान्तिकारिता’ अझै बाँकी छ ।
अघिल्लो पुस्तासित पनि केही छैन भन्न खोजेको चाँहि होइन । ऊसित केही नभएको भए आफ्नो जवानी र घर परिवार छाडेर पञ्चायतविरुद्ध लड्न जाने र भूमिगत हुने गथ्र्याे होला र ? त्यो पुस्तासँग पनि केही थियो । तर, हाम्रोजस्तो समाजमा केही विशिष्टता छन्, जसबाट कोही पनि मुक्त छैन । जुनसुकै पार्टीमा पनि यो समस्या छ । यसले निश्चित उमेर समूहमा गइसकेपछि मान्छेलाई आफूमा कुण्ठा र इश्र्या भरिएको, सहास गर्न नसक्ने, आफूसित भएको कुरा जोगाउन खोज्ने बनाउँदो रहेछ । मलाई पन यिस्तो बनाउन खोज्छ कहिलेकाँहि । तर, यस्तो बनाउनुभन्दा पहिल्यै जिम्मेवारी निर्वाह गर्न पाइयो भने नेपालले अहिले खोजेको काम गर्न सकिन्छ । नेपालले अहिले खोजेको भनेको ठूलो निर्णय लिन सक्ने, सहास गर्न सक्ने, लोभबाट मुक्त हुने कुरा हो । त्यसैले नेपालका राजनीतिक पार्टीहरुले दुईवटा पुस्ताका वीचमा सन्तुलन मिलाउन जरुरी छ । यसो गरियो भने प्रारम्भमा पार्टीको र प्रकारान्तरले समग्र देशकै हित हुन्छ भन्ने मलाई लाग्छ ।
फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमार्फत् युवापुस्ताले राजनीतिक नेतालाई भरमार गाली गर्ने क्रम बढ्दै गएको छ, उनीहरुलाई यहाँको सल्लाह के छ ?
आक्रोश र आवेगलाई म स्वाभाविक ठान्छु । तर, आक्रोश र आवेगलाई विस्तारै निराशा र उदासीनताले पराजीत गर्न सक्छ । पहिले त्यो आवेग र आक्रोशका रुपमा आउँछ, जसबाट हामीले आशा र सहास जगाउन सक्यौं भने यसले गरेन, अर्कोले गर्छ भन्न सक्छौं या आफैं गर्छु भनेर अगाडि सर्न सक्छौं । तर, यसको उल्टो, आक्रोश र आवेगले हामीलाई निराशातिर लगिरहेको छ । यसबाट हामीले जोगिनुपर्छ र नयाँ पुस्तालाई जोगाउने प्रयास गर्नुपर्छ ।
मेरो सबैभन्दा बढी भरोसा यही उमेर समूह वा मभन्दा कान्छो पुस्तासँग छ । तर, मलाई के लागिरहेको छ भने यो उमेर-समूहसँग भएको उर्जालाई सही ढंगले जोड्न सकिएन भने मुलुकले नै यसबाट ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ । हाम्रो मुलुकले ठूलो सम्भावना गुमाउनुपर्ने हुन सक्छ ।
हिजो हाम्रा बाहरुको पुस्तामा असाध्यै थोरै मानिस मात्रै मुलुक र मुलुकको परिवर्तनसित जोडिएका हुन्थे । अहिले राजनीतिमा भए पनि या अन्यत्रै लागे पनि उनीहरुले देशप्रति चिन्ता व्यक्त गरिरहेका छन् । नेपालका लागि यो एउटा ठूलो पुँजी हो, यसलाई हामीले सही सदुपयोग गर्न सक्नुपर्छ ।
यो उमेर समूहका साथीहरुलाई मेरो अपील के छ भने हामी जुन-जुन पेशा र क्षेत्रमा लागेका छौं, त्यहाँभित्र म राजनीतिक गर्ने मान्छेले पनि तपाईहरुसित केही अपेक्षा अवश्यै गरिराखेको हुन्छु भन्ने बुझिदिनुपर्छ । कोही मान्छे म बैंकर्स बन्छु भन्छ, कसैले मेडिकल डाक्टर हुन्छु भन्छ, कसैले कलाकार बन्ने त कसैले खेलाडी बन्ने सोचेका हुन्छन् । कोही व्यवसायी बन्ने सोचिराख्नुभएको छ । कोही २०/२१ वर्षका साथीहरु निजामति सेवामा लाग्छु भनिरहनुभएको छ । वहाँहरु सबैलाई अहिलेको राजनीतिक व्यवस्थासँग आक्रोश छ र यो भएन, त्यो भएन भनिरहनुभएको छ । यस्तो अपेक्षा राख्नु वहाँहरुको अधिकार हो । त्यस्तै अपेक्षा मैले पनि वहाँहरुसित राखिरहेको छु । त्यसैले सबै उर्जाशील साथीहरुले मेरो पनि मुलुकप्रति दायित्व छ, मेरो बारेमा पनि निरन्तर परीक्षा भैरहेको छ र म पनि निरन्तर चुनौतीका वीचमा काम गरिरहेको छु भन्ने सोचिदिनुभयो भने वहाँहरुभित्रको आक्रोश र आवेगले निराशातिर लैजान दिँदैन । जस्तो एउटा युवाले अहिलेको व्यवस्थाप्रति आक्रोशित छ, तर उसले प्रहरी अधिकृत बन्छु भन्ने अठोट लियो भने मेरो विचारमा देशले असल प्रहरी अफिसर पाउन सक्छ । आक्रोश र आवेग निराशातिर गयो भने देशले न असल प्रहरी अफिसर पाउँछ, न त आफ्नो नागरिकको उर्जालाई नै मुलुकले सदुपयोग गर्न सक्छ । यी दुवै कुरा जोगाउने हो भने हामीले आक्रोश र आवेगको ‘बाउन्ड्री’ नाघेर निराशातर्फ जानु हुँदैन । आक्रोश र आवेग चाहिन्छ तर यसको ‘बाउन्ड्री’ जहाँ सकिन्छ, त्यहीँ बाट उदासीनता र कुण्ठाको यात्रा प्रारम्भ हुन्छ ।
केही समयअघि हामीले बैंकर्स अनिल शाहको अन्तरवार्ता लिएका थियौं । उहाँले गगन थापाजस्ता राम्रा नेताहरुले अब पुरानो पार्टीमा अल्मलिने होइन, नयाँ शक्ति बनाउने हिम्मत गर्नुपर्छ भन्नुभएको थियो । तपाई के भन्नुहुन्छ ?
यो राम्रो नियतबाट, सद्भाव र हामीप्रतिको विश्वासका साथमा आएको विचार हो । तर, पार्टीको ‘आइडियोलोजी’ भनेको केही पनि होइन भन्ने ढंगबाट हामीले बुझ्नु हँदैन । हामीले सीमाहरुलाई पनि बुझ्नुपर्छ । तर, कांग्रेस हुने वा माओवादी हुने नहुने भन्ने कुरा ‘आइडियोलोजी’सित जोडिएको हुन्छ । भर्खरै पनि जनजाति नेताहरुले नयाँ पार्टी बनाउने क्रममा कुन विचारलाई मार्गदर्शक सिद्धान्त मान्ने भन्ने कुराले उहाँहरु एकठाउँ हुन नसकेको हामीले सुनेका छौं । त्यसैले हामीले ‘आइडियोलोजी’को पाटोबाट पनि हेर्नुपर्छ ।
दोस्रो, मैले दलमा काम गर्दा गरेको अनुभव के हो भने हाम्रो लोकतन्त्रको समस्या भनेकै दलभित्रको समस्या हो । नेपालका राजनीतिक पार्टीभित्रको समस्या हल नभइकन लोकतन्त्रमाथिको समस्या हल हुँदैन । मैले १५/२० वर्ष पार्टीमा काम गर्दाको अनुभव हो यो । अहिलेको राजनीतिक समस्या भनेकै दलहरुभित्रको समस्याको ‘रिफ्लेक्सन’ हो । पार्टीलाई व्यवस्थापन गर्न नजानेका कारण यस्तो भैरहेको हो । नेपालमा मात्रै होइन, हाम्रो जस्तो तेस्रो विश्वको लोकतन्त्र यही समस्यासित जुधिरहेको छ । हामीले सभ्य देशहरुको लोकतन्त्रलाई पछ्याउन सकिरहेका छैनौं । अहिले भारतकै लोकतन्त्रलाई नै हेर्ने हो भने ऊ पनि ठूलो समस्याबाट गुजि्ररहेको छ । दक्षिण एशियाका प्रत्येक देशको लोकतन्त्र समस्यामा छ । सबैको संकट पार्टीभित्रैबाट शुरु भएको छ । त्यसैले हामी पनि यही समस्यामा छौं । बाहिरबाट हेर्दा यसले पार्टीमा लागेर के दियो भन्ने लाग्न सक्छ, तर मैले आफ्नो पार्टीलाई मात्रै सही ठाउँमा ल्याउन सकें भने त्यो लोकतन्त्र र देशका लागि धेरै ठूलो ‘सर्भिस’ ठहरिने छ । किनभने मुलुकको समस्या नै पार्टीबाट शरु भएको छ । हामी सरकारले राम्रो काम गरेन भन्छौं, तर त्यसको जरा खोज्ने हो भने पार्टीभित्रै पुगिन्छ । त्यस्तो पार्टीबाट सरकारमा गएका मान्छेले राम्रो काम गरोस् भन्ने अपेक्षा निरर्थक हुन जान्छ । त्यसैले हामीले आ-आफ्नो पार्टीलाई नै ठीक ठाउँमा ल्याउने प्रयत्न गर्नुपर्दछ ।
जहाँसम्म अनिल शाहजीले भन्नुभएको विषय छ, मैले वहाँका विचारहरु पढिरहेको छु र वहाँसँग कुराकानी पनि हुने गरेको छ । तर, साथीहरुलाई केही गर्नुपर्छ भन्ने लागिरहेको छ भने हामीलाई कुर्नुपर्दैन, नयाँ विचारबाट तन्नेरीहरुले नयाँ दल बनाए भने भने त्यसले अन्य दलहरुलाई पनि सुधारका लागि सहयोग नै पुग्ला । त्यसैले अरु दलका युवाहरु आएनन् भनेर गुनासो गर्नुभन्दा आफैंले शुरु गरे हुन्छ । आफू आफ्नो क्षेत्र छाड्न तयार नहुने अनि गुनासोमात्रै गरेर बस्नु राम्रो हुँदैन । हामी त सबैथोक छाडेर लागेका छौं ।
तर, केही मान्छेहरु त गगन थापाले पनि केही गर्न सकेन भन्न थालेका छन् नि ? तपाईलाई आफूभित्र पनि सीमाहरु रहेछन् भन्ने लागेको छैन ?
म चार वर्ष व्यवस्थापिका संसद्मा हुँदाको एउटा अनुभव सुनाउन चाहन्छु । दुबई, कतार, साउदीलगायत विदेशमा काम गर्न गएका हाम्रो नेपाली युवायुवतीको सुरक्षाका लागि केही गर्नुपर्यो भनेर मेले नेटवर्क बनाएँ, कतार दुबईमा धेरै साथीहरुलाई भेटें, वहाँहरुबाट बुद्धि प्राप्त गरें । तर, पार्टीसँग कुरा गर्यो, तर उनीहरु राजनीतिक कुरामा यसरी हराएका छन् कि यो कुरा बुझ्दै बुझ्दैनन् । संसद्मा लान खोजियो, एक्लै नहुने, अन्य दलका साथीसित मिल्नुपर्छ भनेर एमाले, माओवादीका साथीलाई मिलाइयो, प्रस्तावमा छलफल गरौं भन्यौं, तर, पार्टीहरुले यसलाई छलफलको विषय नै बनाउन मानेनन् । जो निर्णय गर्ने ठाउँमा छन्, तिनीहरु यो मुद्दाप्रति यति उदासीन छन् कि यसलाई छलफलमा प्रवेश नै गर्न दिँदैनन् । यो त एउटा उदाहरणमात्रै हो । मैले विदेशमा रहेका नेपाली दाजुभाइसित लड्छु र तपाईहरुका पक्षमा बोल्छु भनेको थिएँ । तर, परिणाम त केही पनि आएन । अब यसबारे जसरी मूल्यांकन गरे पनि हुन्छ । यी नाथे पनि त्यस्तै हुन्, यिनले गर्दै गरेनन् भने पनि भयो, हामीले सकिरहेका छैनौं । वा, यिनीहरुले प्रयास त गरिरहेका छन् तर, यिनीहरु नै निर्णय गर्ने ठाउँमा भैदिएको भए केही गर्ने थिए भनेर सद्भावपूर्ण ढंगले सोचिदिनुभए पनि हुन्छ । नेपालका यतित्रेरै मानिसहरु बाहिर काम गर्न गएका छन्, यिनीहरुको सुरक्षा होस् भन्ने सुशील कोइराला, पुष्पकमल दहाल र झलनाथ खनालका दिमागमा लाग्यो भने देशका धेरै ठूला समस्या हल हुन्छन् । तर, जसले ताकत राख्छ उसले सोच्दैन, जसले सोचिरहेको छ, उसको ताकत छैन । मैले अहिले आफ्नो बारेमा बुझेको सबैभन्दा ठूलो ‘लिमिटेशन’ यही हो । एउटा संरचनाभित्र काम गर्नुपर्दोरहेछ, त्यसबाट परिणाम निकाल्न गाह्रो हुँदोरहेछ ।
यस्तो गाह्रो हुन्छ भने कतिन्जेल यसरी काम गर्ने ?
अब थाक्ने कि, आत्मसमर्पण गर्ने कि या निरन्तर लडिरहने भन्ने तीनवटा विकल्प छन् । मचाँहि निरन्तर जुधिराख्नुपर्छ भन्ने पक्षको मान्छे हुँ । यो नगरेर पनि त मान्छेको जीवन चलेकै छ नि । म पनि पार्टीको गुटको मान्छे हुन्छु, र भर्याङ चढ्दै जान्छु भनेको भए पनि त हुन्थ्यो होला नि ? तर, हामीले गर्न सकेनौं भनेर म लत्तो छाड्ने पक्षमा छैन ।
गगन थापा कहिल्यै निराश हुँदैन ?
कहिलेकाँहि म एकदम आत्तिन्छु । सरल ढंगले हुनुपर्ने कामहरु नभएको देख्दा आत्तिन्छु । अर्कोतिर मलाई अत्यन्तै गम्भीर लागेका कुराहरुलाई नेतृत्वले हल्कारुपमा लिइदिँदा पनि म आत्तिन्छु । यसो गरौं भनेर प्रस्ताव लिएर गयो, त्यसलाई स्वीकारै गरिँदैन, अनि त्यस्तो बेला निराश भइन्छ । तर, फेरि अरु कुराबाट उर्जा प्राप्त गरिन्छ ।
राजनीतिमा आउन खोज्ने युवा पुस्तालाई के भन्नुहुन्छ ?
म तीनवटा सल्लाह दिन्छु । तपाईको आर्थिक उपार्जन गर्ने अर्को पेशा छैन भने राजनीतिलाई नै पेशा बनाएर नआउनोस् । दोस्रो, अध्ययन लगायत आफ्नो व्यक्तित्व विकासलाई प्रतिकूल असर पार्ने गरी राजनीतिमा नआउनोस् । र, तेस्रो अरुजस्तै सामान्य मान्छे बन्ने हो र लोभलालच इत्यादि त्याग्न नसक्ने हो भने तपाईहरु राजनीतिमा नआए हुन्छ ।
yes i will agree with Mr Gagan
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Prabhawsali Yuwaneta ko koora soonda ta ajahi pani khe aas ta chha hai bhanne bhan pani aaunchha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Tapaiko pidhi netritwa ma napugnu nai samasya ho vane tyaha pugnako lagi kasari agadi badnnu hunchha ta gagan sir? Netritwa lina ta ekdamai jaruri vaisakyo Kinaki tala basera ta aakhir kunai kam nanune raixa ta! Ra tapaiko pustalai thyha puryaunu saknuhunna vane tapaiko rajnik jeevanko pani kunai artha nahune nischit hunxa. So we expect u to fight for that gagan ji. U r our youth’s only hope till this date.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]