वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले २०१० को मइमा प्रधानमन्त्री पद गुमाएपछि २०१२ को फेब्रुअरीसम्ममा चौध लाखभन्दा बढी पाउण्ड कमाइसकेका छन भने वेलायतकै अर्का पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले २००७ मा प्रधानमन्त्री पद गुमाएपछि सोही समयसम्ममा एक करोड बीस लाख पाउण्ड । दुबै जनाको आम्दानीको मूल श्रोत अन्तराष्ट्रिय जिम्मेवारी हो भने ब्राउनले साउदी अरेबिया, मस्को र नाइजेरियामा दिएको भाषणबाट मात्रै एक लाख पचासी हजार पाउण्ड कमाए । टोनी ब्लेयरले त झन आफ्नो डेढ घण्टाको भाषणबाटै दुई लाख पचास हजार पाउण्डसम्म हात पार्छन ।
यदि उनीहरु आफ्नो प्रधानमन्त्री पद गुमाएपछि कतै नगै सांसद नै भएर बसिरहेका हुन्थे र कुर्सी गुमाउनु परेको रन्कोमा बदलाभावका कारण प्रतिपक्षी बनेर फतफताइ रहेका हुन्थे भने उनीहरुको मर्यादा समाप्त प्राय: हुन सक्थ्यो । त्यसो नगरी अन्तराष्ट्रिय एबं सामाजिक जिम्मेवारी पुरा गर्दै प्रधानमन्त्री हुँदाभन्दा धेरै गुणा बढी आम्दानी मात्रै गरिराखेका छैनन, बरु आफ्नो साख पनि जोगाइराख्न सफल भएका छन । बिकसित देशको यो संस्कारलाई हामीकहाँ भित्र्याउन नसकिउन्जेल न त बिकृत राजनीतिक अवस्थामा सुधार आउन सक्ने देखिन्छ, न त देश अगाडि बढने आशा गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा राजनीतिज्ञहरु देशको महत्वपूर्ण कुराहरुमा ध्यान केन्द्रित गर्नुभन्दा गुमेको पद पुन: कसरी हत्याउने र पाएको पद कसरी जोगाउने भन्नेतिरै संपूर्ण ध्यान केन्द्रित गरिरहेका देखिन्छन । यस्तो अवस्थामा रचनात्मक सोंच र कृयाकलाप खटकिनु स्वाभाबिकै हो, जुन हामीले देखिरहेका छौं , भोगिरहेका छौं । यो संस्कार नतोडिंदासम्म देशले यथास्थितिबाट मुक्ति पाउने संभाबना देखिन्न ।
नालायक र भ्रस्ट भनेर चिनिएका, असफल भनेर प्रमाणित भएकाहरु नै शासन पद्धति फेरिंदा समेत घुमिफिरि बारंबार सत्ता सन्चालन कार्यमा अबसर पाइरहने र जनताद्धारा तिरस्कृत हुँदा पनि राष्ट्रिय राजनीतिलाई प्रभाब पार्ने अबसर दिइरहने अनि देशमा अलि संबेदनशील अवस्था सिर्जना हुने बित्तिक्कै तिर्थस्थल जाँदै दीक्षा लिएर आउनेहरुका गतिबिधिहलाई संधै टुलुटुलु हेरेर बसिरहने हो भने यस्ले देशलाई अग्रगामी दिशातिर उन्मुख गराउने ढोकाहरु बन्द प्राय: गरिदिनु स्वाभाबिकै हो ।
बिदेशमा राष्ट्रिय जिम्मेवारी लिएका ब्यक्ति आफ्नो पुरानो सामान्य काममा फर्कनु सामान्य कुरो हो, तर हामीकहाँ ‘मन्त्रीको गाई बस्तुले बाली खायो’ भनाउनकै लागि पनि मन्त्री बन्ने र मन्त्री बनेपछि राज्यको ढिकुटी दुरुपयोग गरेर बनाइएका दुई चार जनालाई संधै अघि-पछि लगाएर आजीवन राष्ट्रिय राजनीतिज्ञको रवाफमा बस्नु पर्ने र बस्न दिने संस्कार प्रबल देखिन्छ । एक्काइसौं शताब्दीमा पनि यस्लाई कायमै हुन दिनु भनेको देशलाई संधै दबदबे हिलोमा भाँसिराख्नुभन्दा बढी केही हुने छैन ।
कुनै पेशा गरेर बाँच्न सक्ने ब्यक्ति मात्रै राष्ट्रिय राजनीतिमा प्रबेश गर्न सक्ने र बिकसित देशमा जस्तै निश्चित समयभन्दा बढी राष्ट्रिय राजनीतिमा प्रत्यक्ष रुपमा सकृय भैराख्नबाट जोगाउने ब्यबस्था नगर्ने हो भने सलाइन पानी लिंदै देश हाँक्ने महामारीबाट देश संधैं संधै आक्रान्त हुन सक्ने संभावनालाई नकार्न सकिन्न ।
कुर्सी ओगटने, ‘बलेको आगो’ बन्ने संस्कार र पदीय जिम्मेवारी अनुसार मर्यादाक्रम परिभाषित गरिने मानसिकतानुरुपको हास्यास्पद नमस्ते गर्ने र गरिने बर्ग समूहहरु सिर्जना हुने परंपराको निरन्तरता बिकासको लागि बाधक बन्न सक्छ । किनकि यस्ले गर्दा पूँजिबादी भनिने देशहरुमा समाजबादी भन्न मिल्ने प्रसस्त छनक पाइने जत्ति पनि छनक समाजबादीको रुपमा देखाउन खोज्ने हाम्रा समाजबादीहरुमा देख्न नसकिने पक्ष एकातिर छ भने अर्कोतिर कुर्सीको लागि प्रसस्त रकम खर्चने र आसेपासेलाई राख्ने कार्यले भ्रस्टाचारलाई प्रश्रय दिइरहेको हुन्छ । यही परंपराको कारण राजनीतिज्ञहरु आफ्नो पुरानो पेशामा नै फर्कने अथवा सामाजिक कार्यमा लाग्ने भन्ने कुरा हाम्रो सन्दर्भमा ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ ।
राजनीतिलाई देश बिकासभन्दा पनि सबैभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गराइसकेको भन्ने सन्दर्भमा एउटा नयाँ संस्कार बिकासको लागि पत्रकारिता क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्नु पर्छ । खोजपूर्ण पत्रकारिताको भूमिका निर्बाह गरी प्रकाशमा ल्याउनु पर्ने कुराहरुलाई प्रकाशमा ल्याउनुको अलावा सबैलाई थाहा भैसकेको र थाहा पाउनुको औचित्य खासै नहुने समाचारलाई प्रकाशित र प्रसारित गर्ने कार्यलाई राज्यको चौथो अंग कसरी भन्ने प्रश्न एकातिर छ भने भाषिक वैशिष्ठ्यता र शुद्धता बिनाका बग्रेल्ती समाचार प्रबाहले नेपाली भाषा बिकृतिको चिन्ता पनि त्यत्तिकै छ । चौथो अंग हुनाका लागि त आवाजविहीनका आवाज उठाउने, नसुनिएका कुरा सुनाउने गर्नुपर्छ ।
भारतदत्त कोइरालाले जसरी नेपाली पत्रकारिता क्षेत्रलाई नयाँ उचाइमा पुर्याए, त्यसपछि पत्रकारिता क्षेत्रलाई आवश्यकतानुरुप नयाँ मोड दिने काम खासै हुन सकेको देखिन्न । पत्रकारितालाई पत्रकारहरुले नै गहन रुपमा लिएको नपाइनाले यो क्षेत्रले समाज र देश परिवर्तनको लागि भूमिका निर्बाह गर्न सकिरहेको देखिन्न । पूर्वमन्त्री डा उपेन्द्र देवकोटा र पूर्वसभामुख सुवास नेम्बाङका भलै सबै कुरा स्वीकार्य हुन नसक्लान र पनि यहाँ जुन संस्कारको प्रसंग उठान गरिएको छ, सोअनुरुप आफ्नो पूर्व पेशामा फर्कने उहाँहरुलाई हाम्रा संचारका माध्यमहरुले राम्रो सदुपयोग गर्न सकेको देखिन्न ।
अन्तरराष्ट्रिय पत्रिका इकोनोमिस्टका अनुसार वेलायत, फ्रान्स, जर्मन र अमेरिकाका नेताहरुको सरदर उमेर ७० बर्षभन्दा माथि देखिन्छ । त्यसरी नै ७० देखि ८० को दशकमा नेताहरुको सरदर उमेर ६० भन्दा कम देखिन्छ । २०१० सम्मका नेताहरुको सरदर उमेर ६० भन्दा कम देखिन्छ । यी चार देश बाहेक अन्य बिकसित देशहरुमा समेत नेताहरुको उमेर प्रायश: ६० भन्दा कम देखिन्छ । हरेक कुरा तिब्र गतिमा परिवर्तनशील आजको बिज्ञान र प्रबिधिको युगमा राष्ट्रिय, अन्तराष्ट्रिय र बिभिन्न पुस्ताहरुका बीच सन्तुलन कायम गर्न पनि यो उमेरका ब्यक्तिहरुको नेतृत्वदायी भूमिका उपयुक्त देखिन्छ । प्राप्त जिम्मेवारी पुरा गर्नुपर्ने जिम्मेवारी बोधका कारण पश्चिमा देशहरुमा सकभर पाएको जिमेवारीबाट समेत पन्छनेहरु प्रसस्त पाईन्छन, तर हामीकहाँ अधिकारमुखी मात्रै भएर व्यबहारमा कर्तब्यबोध नभएकाहरु बलेको आगो बन्न र केही गर्न नसके पनि राष्ट्रिय सुबिधाको उपभोग गर्न बिना संकोच तछड मछाड गर्नेहरुको हावी छ ।
बहुदलीय प्रजातन्त्रको समयमा राप्रपाको च्याँखे जस्तै गणतान्त्रिक नेपालमा एमाले र मधेसबादी पार्टीहरुले च्याँखेमा नै साइत हेरिराख्ने र पार्टीभित्र पनि च्याँखे थाप्नेहरुको जोखनालाई ध्यानमा राखेर जन चाहना बिपरितका अनुहारहरुलाई प्राथमिकता दिने हो भने यस्ले प्रजातन्त्रको उपहास हुने मात्रै नभएर नरहरी आचार्य जस्तै गगन थापाहरु बिस्तारै ओझेलमा पर्दै जानेछन र देशलाई यथास्थितिमा नै जकड्याइराख्ने काम हुनेछ ।
त्यस्तै अनावश्यक किसिमले देखा परेका अनगिन्ति पार्टीहरुका कारण समानुपातिक मार्फत पुराना अनुहारहरु नै संसदमा फुतु फुतु देखा पर्ने संभावनालाई नकार्न सकिन्न । यसरी समयानुकूल मान्न नसकिने असफल र अयोग्य प्रमाणित भैसकेकाहरुकै राष्ट्रिय राजनीतिमा प्राचुर्यताबाट देशलाई जोगाउन नसकिंदासम्म देश संधै यस्तै दलदलमा फँसिराख्ने कुरामा सन्देह छैन ।
नयाँ पुस्ता भन्दैमा बिभिन्न कारणले गर्दा संचारमा अनाबस्यक प्रभाब जमाएका, तर बेला बखतमा उनीहरुबारे देखा परेका डरलाग्दा र शंकास्पद गतिबिधिहरुतिर पनि सतर्कता अपनाउनै पर्छ । हाम्रो राजनीतिको पुरातनबादी संस्कारलाई निरन्तरता दिने अत्यन्तै ब्यक्तिबादी सुबिधाभोगीहरुसंग समेत सजग हुन सकिएन भने क्षणिक समयको लागि राम्रो देखिने तन्ना फेरिएको थोत्रो बिछौनाबाट मुक्ति पाउन सकिनेछैन । ठोस काम गर्नुभन्दा पनि आफ्नो अनुकूलताको लागि उपयुक्त वाताबरण सिर्जनाकै लागि संधै संघर्षरतहरुबाट केही अपेक्षा गर्नु ठूलो भूलभन्दा केही हुनेछैन, किनकि उनीहरुको लागि पनि देश भनेको हातीको देखाउने दाँत मात्रै हो भन्ने कुरा बिभिन्न कुराहरुले पुष्टि गरिसकेको छ ।