राजतन्त्रसँग मेरो सम्पर्क छैन, धर्मलाई राजनीतिसँग जोड्नु हुँदैन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

राजतन्त्रसँग मेरो सम्पर्क छैन, धर्मलाई राजनीतिसँग जोड्नु हुँदैन

–कालीबाबा

संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपालको निम्तोमा जनकपुरमा हुने रथ यात्राका लागि दिल्लीबाट शुक्रबार काठमाडौं आइपुगेका कालीबाबालाई राजतन्त्रका समर्थक मान्ने गरिए पनि कालोपुलस्थित कालीबाबा आश्रममा शुक्रबार साँझ अनलाइनखबरका लागि अरुण बराल र राजकुमार श्रेष्ठसँग कुरा गर्दै उहाँले राजतन्त्रसँग आफ्नो कुनै सम्पर्क नरहेकाले यो भ्रम हटाउन आग्रह गर्नुभयो ।

‘साधु भनेको कल्पवृक्ष हो, कल्पवृक्षमा सबैले छायाँ लिन पाउँछन् । यसले गर्दा वहाँहरुलाई भ्रम परेको हो, यो भ्रमलाई हटाउँदाखेरि धेरै राम्रो हुन्छ ।’ कालीबाबाले भन्नुभयो- मेरो सबैलाई हेर्ने एउटै दृष्टिकोण छ, म कम्युनिष्टले बोलाए पनि आउँछु, कांग्रेसले बोलाए पनि आउँछु । म एउटा जोगी हुँ, राजतन्त्रप्रति निरपेक्ष छु, राजतन्त्रसँग मेरो कुनै सम्पर्क छैन ।’: 

दिल्लीबाट नेपाल आउनुको उद्देश्य ?

म हिन्दू हुँ । नेपाल वैदिक सनातन हिन्दू राष्ट्र हो । यो आजदेखि नभएर यहाँ भगवान् शिवजीले किरातको रुप धारण गर्नुभएको हो र माता पावर्तीजीले किरातिनीको रुप धारण गर्नुभएको हो । त्यतिबेलैदेखि नेपाल हिन्दरु राष्ट्र हो । यस्तो पवित्र पावन भूमि, राति सुत्दा हिन्दू राष्ट्र थियो, बिहान उठ्दा हिन्दू राष्ट्र खत्तम । यसले गर्दा अहिले हिन्दू राष्ट्रको विवाहपञ्चमी एवं रथयात्रामा मलाई निमन्त्रणा गर्नुभएकाले म यहाँ आएको हो । साथसाथै आफ्नो आश्रममा आउने मेरो कार्यक्रम पनि थियो । उहाँहरुले पनि आग्रह गरी विशिष्ट अतिथिका रुपमा बोलाउनुभएको हुनाले त्यसलाई स्वीकार गरेर म आएको हुँ ।

नेपाले बसाइ कहिलेसम्म समय हुन्छ ?

– म १९ तारेखसम्म बस्छु, २० मा र्फकेर जान्छु । भोलि गागलफेदीमा एउटा आश्रमको भूमि पूजन कार्यक्रम छ । त्यसपछि पर्सि रथ यात्राको कार्यक्रमका लागि जनकपुरधाम जाँदैछु । त्यसपछि एकदिन काठमाडौं बस्छु र उता (दिल्ली) सवारी हुन्छु ।

तपाईको दृष्टिकोणमा नेपालमा कस्तोखालको हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने हो ? राजतन्त्रसहितको कि राजतन्त्रविनाको ?

– हिन्दू राष्ट्र भन्ने कसैले बनाएको हैन । राजा महाराजाले पनि बनाएको होइन । यो त वैदिक सनातनदेखि चलेर आएको हो । हामी ८१ प्रतिशत अहिलेको दिनमा जनगणनाको हिसाबले यहाँ हिन्दू छौं । ओम परिवार सबै मिलाएर ९५ प्रतिशत छौं । यसलाई कसैले फ्याँक्दा फ्याँकिने हटाउँदा हट्ने र राख्दा राख्ने हुँदैन । यसले गर्दा यो हाम्रो हिन्दू राष्ट्र कायम रहन्छ । राजनीति जनताको हातको कुरा हो, धर्म हामी सबैको हो ।

उसोभए ‘हिन्दू राष्ट्र’ लाई राजनीतिसँग जोड्न आवश्यक छैन ?

– यो राजनीतिसँग जोडिने चिज भएन । यसलाई राजनीतिसँग जोड्न सकिँदैन । धर्मलाई काहीँ पनि राजनीतिसँग जोड्न हुँदैन । हाम्रो हिन्दू धर्म बजारमा गएर सागसब्जी खरीद गरेजस्तो होइन, यो कल्पवृक्ष हो । कल्पवृक्ष मुनि सबैले छायाँ लिन पाउँछन् । त्यहाँ बाघ पनि बस्तछ, गौमाता पनि बस्तछिन् । त्यहाँ चोर पनि बस्छ, भिखारी पनि बस्छ । त्यहाँ साधु महात्मा बसेर तप पनि गर्न सक्छन् । कल्पवृक्षले सबैलाई बराबरी छायाँ र अक्सिजन दिएको हुन्छ । त्यस्तै हाम्रो सनातन वैदिक हिन्दूधर्म सबैको रुख हो । यो कल्पवृक्ष कसैले हटाएर हटाउन सक्दैन । यसैले म हिन्दू राष्ट्रका लागि यहाँ आएको हुँ ।

काली बाबा नेपालमा आउँदा राजतन्त्र फर्काउन आउनु भो भन्ने गरिन्छ नि ? के यो सत्य हो ?

– म धर्मतन्त्र फर्काउनचाहिँ आएको हुँ, राजतन्त्रसँग मेरो कुनै सम्पर्क छैन । यो जनताले गर्ने कुरा हो । हजुरहरुले फ्याँक्नु भो, फर्काउने, नफर्काउने हजूरहरुकै हातको कुरो हो । मेरो हातको कुरो हुन्थ्यो भने म यो फकिरी लिएर किन बस्थें ?

भनेपछि राजतन्त्रसँग यहाँ निरपेक्ष हुनुहुन्छ ?

– हो, म राजतन्त्रप्रति निरपेक्ष छु ।

उसोभए कालीबाबा राजतन्त्र फर्काउन चाहन्छन् भन्ने कुरो भ्रममात्रै रहेछ हैन ?

– भन्नेले भन्छन् । तर, म साधु माहात्मा भएकाले गर्दा जसरी यहाँहरुसित भेट हुन्छ, त्यसैगरी अरुसँग पनि भेट हुन्छ । साधु भनेको कल्पवृक्ष हो, कल्पवृक्षमा सबैले छायाँ लिन पाउँछन् । यसले गर्दा वहाँहरुलाई भ्रम परेको हो । यो भ्रमलाई वहाँहरुले हटाउँदाखेरि धेरै राम्रो हुन्छ ।

भनेपछि यहाँको विचारमा नेपाल गणतन्त्र भए पनि हिन्दू राष्ट्रचाहिँ हुनुपर्छ भन्नेमात्रै हो ?

– हिन्दू राष्ट्र हुनुपर्‍यो ।

गणतन्त्र भए यहाँलाई आपत्ति छैन ?

– गणतन्त्र भए पनि हिन्दू राष्ट्र चाहिँ चाहियो । हिन्दू भएर एक फाको सातु मुखमा हालेर घुटुक्क पानी पिएर नेपाली जनताले बाँच्न पाउने अवस्था चाहियो ।

नेपालका पार्टीहरुलाई हेर्ने तपाईको दृष्टिकोण समान हो कि फरक छ ?

– मेरो सबैलाई हेर्ने एउटै दृष्टिकोण छ, केही फरक छैन । म त कम्युनिष्टले बोलाए पनि आउँछु, कांग्रेसले बोलाए पनि आउँछु । सबैप्रति मेरो समदृष्टि छ । म एउटा जोगी हुँ । म सबैको सार्वजनिक सम्पत्ति हुँ । जसले जता निमन्त्रण गर्छ, म उहाँहरु कहाँ जान्छु ।

उसोभए कालीबाबा पूर्वराजा ज्ञानेन्द्र मान्छे हुन् भन्ने भ्रम पनि नराखे भयो हैन ?

– पहिला गिरिजाबाबुसित पनि मेरो भेटघाट हुन्थ्यो, सुशीलजीसित पनि पहिला भेटघाट हुन्थ्यो । माधव नेपालजीले आमाको बाह्रौंका दिन वनकालीमा गएर मलाई भेट गर्नुभएको थियो । मलाई सबै पार्टीका मान्छेहरुले भेट्ने गर्छन् । माओवादीका झक्कुप्रसाद सुवेदीजीले पनि मलाई गएर भेट्नुभएको थियो । आज पनि एयरपोर्टमा माओवादीका मान्छेहरुले भेट्नुभयो । मेरा लागि सबै समदृष्टिका हुन् ।

यसपालिको नेपाल बसाइमा क-कसलाई भेट्ने कार्यक्रम छ ?

म कसैलाई भेट्दिँन, वहाँहरु आउनुभयो भने सबैलाई स्वागत छ ।

नेपालको भविश्य कस्तो देख्दै हुनुहुन्छ ?

– धर्म रक्षतु रक्षते । धर्मले रक्षा गर्छ । कोही पनि बिगि्रन्छ भने बन्नका लागि बिगि्रन्छ । यहाँ पनि बन्नका लागि बिगि्रएको हो । हाम्रो राष्ट्र राम्रो हुन्छ, सुखी रहन्छ । आजभन्दा १५/२० वर्ष पहिले यहाँ साँचो लगाउने चलन थिएन । अब आउने समयमा पनि यो तालाचाबी लाउनुनपर्ने पवित्र पावन भूमि हुन्छ । अब सबै जनताले जानिसकेका छन्, हिन्दू राष्ट्र हाम्रो छँदैछ, गएको छैन । यो लेखालेखीमात्रै भएको हो भन्ने सबैलाई थाहा छ ।

यहाँले नेपालमा अब राम्रो दिन आउँछ भन्नुभयो, तर यहाँका जनता त निराश छन् नि ?

– निराश हुनुपर्दैन, यहाँ राम्रो हुन्छ ।

कहिलेदेखि हुन्छ राम्रो ?

समय त लागिहाल्छ नि । बिग्रेको चिजलाई बनाउन समय लाग्छ ।

कतिवर्ष लाग्छ, भन्न सकिन्छ ?

– बिग्रिनलाई जति लागेको छ, त्यस्तै बनिनलाई पनि समय लाग्दछ । तर, हामीले निराश हुने काम छैन । हामी आशावादी हौं, निराशावादी हैनौं । हामीले राम्रो हुन्छ र राम्रो भएर जाओस् भन्ने कामना गर्नुपर्छ ।

कागजबाटै चाहिँ नेपालमा हिन्दू राष्ट्र कहिले फर्किएला त ?

– त्यो कागज लिपापोतीको चिज हो, तर हिन्दू राष्ट्र कसैले बनाउँदा बनिने अनि कसैले हटाउँदा हट्ने चिज होइन । ८१ प्रतिशत हिन्दू भएको जग्गामा अहिले जनगणनाले नै देखाइदिइहाल्यो नि । विश्वजगतमा आइसकेको छ, मैले नेटमा देखिँसकें । मलाई इन्दिरा गान्धी एयरपोर्टमा पनि पत्रकार भाइहरुले ८१ प्रतिशत हिन्दू भएको देश हिन्दू राष्ट्रै हो भन्दै हुनुहन्थ्यो ।

हिन्दू राष्ट्र यत्तिकै आउँछ कि के गर्नु पर्छ ?

– सबैले अभियान गरिराख्नुभएको छ । सन्त माहात्मा र बुद्धिजीवीहरु सबै जुट्नुभएको छ । सबै लाग्नुभएको छ । अब ८१ प्रतिशत हिन्दूहरुले हाम्रो धर्म फ्याँक्नुहुँदैन भनिराख्नुभएको छ । त्यसैले अब त्यत्तिकै आइहाल्छ नि ।

5 Comments on “राजतन्त्रसँग मेरो सम्पर्क छैन, धर्मलाई राजनीतिसँग जोड्नु हुँदैन”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु