३० मंसिर, काठमाडौं । अमेरिकाको पूर्वोत्तर प्रान्त कनेक्टीकटस्थित प्राइमरी स्कुलमा एक बन्दुकधारीले गोली चलाउँदा २० बालबालिकासहित २७ जनाको मृत्यु भएको छ ।
घटना न्यू टाउनको स्याण्डी हुक एलिमेन्टरी स्कुलमा भएको हो । यसलाई अमेरिकी इतिहासको अहिलेसम्मको सबैभन्दा ठूलो सामूहिक हत्या मानिएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार बन्दुकधारीले सयौं राउण्ड गोली चलाएको आवाज सुनिएको थियो र बाच्चाहरु डराएर भागेको देखिन्थ्यो ।
प्रहरीका अनुसार बन्दुकधारी पनि मारिएका छन् । आक्रमणकारी २० वर्षका मात्र छन् । बन्दुकधारीले आफ्नी आमाले पढाइरहेको कक्षालाई निसाना बनाएका थिए । घटनामा उनकी आमाको मृत्यु भएको छ । स्याण्डी हुक एलिमेन्टरी स्कुलमा पाँचदेखि १० वर्षसम्ममा बालबालिका पढ्छन् ।
ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनाले अमेरिकालाई ठूलो धक्का लागेको बताउनु भएको छ । उहाँले यस्ता घटना रोक्न तत्काल आवश्यक चदम चाल्नु पर्ने बताउनु भयो ।
पटक-पटक आँसु फुछ्दै गरेका ओबामाले यस घटनाले हरेक आमाबाबुलाई दुःखी बनाएको बताउनु भयो । उहाँले भन्नुभयो–‘मारिएका बच्चाहरुको उमेर १० वर्षभन्दा पनि कम थियो । जसको पूरै जिन्दगी बाँकी थियो । तर, त्यो जिन्दगी खोसिएको छ ।’