प्रेमप्रसाद भट्टराई
मानिसको परिचय दिने धेरै चिजहरूमध्ये झोला पनि एक हो । झोला प्रत्येक व्यक्तिको पहिचान बोक्ने धेरै पुरानो र भरपर्दो साधन हो । झोलाकै माध्यमबाट झोलाधारी को र कस्तो व्यक्ति हो भनेर छुट्ट्याउन सकिन्छ । हुन पनि झोलाको रूप र रङ, प्रकृति र प्रवृत्ति, बनोट र बुनोट आदि जे जस्तो भए पनि यसले गर्ने काम भने उस्तै हुन्छ र मानिसले झोलामा पनि त्यही चिज राख्छ जुन उसको पेसागत, कर्मगत आचरणसँग दुरुस्त मेल खान्छ । कसैको झोला अलपत्र परेको रहेछ भने पनि त्यो कुन पेसा वा व्यवसाय अपनाउने व्यक्तिको हो भनेर चिन्नका लागि त्यसभित्र हेरे पुगिहाल्छ तर हिजोआज त्यस्ता झोलामा बमगोला जस्ता प्राणघातक वस्तु राखी मान्छेको त्रासदीपूर्ण मृत्यु हेरेर मनोरञ्जन लिन खोज्नेहरूले धराप थापेको हुनसक्ने हुनाले झोलाभित्र हेर्न त के त्यसका छेउमा जानु पनि खतरामुक्त नहुन सक्छ । यद्यपि त्यस्तो झोलाले पनि झोलाधारीको चिनारी भने स्वतः दिइरहेकै हुन्छ ।
मानिस आफ्नो झोलाप्रति कति उत्तरदायी छ या छैन भनेर मापन गर्न त्यति सजिलो पनि हुँदैन । झोला आफै पनि स्वामीभक्त हुने हुनाले स्वामीका सबै इच्छा आकाङ्क्षाहरूलाई शिरोधार्य गरी आफूभित्र जे राखिदिए पनि सहज ढङ्गले बोकिदिन्छ । कहिलेकाहीँ त आफूले कहिल्यै बोक्नु नपरोस् भन्ने लागेका सामानहरू पनि बोक्न बाध्य हुनुपर्छ झोलाले । त्यसबेला झोला साँच्चिकै निरीह, बबुरो र ज्यादै अधीनस्थ देखिन्छ तर पनि मालिकको भावना विपरीत यसले कुनै सिकायत नगर्ने हुनाले झोलाधारी झोलाप्रति कति उत्तरदायी छ या छैन भनेर खुट्ट्याउने कार्यमा बाधा पुग्न जान्छ ।
सबै खाले मानिसले कुनै न कुनै रूपमा कुनै न कुनै किसिमका झोला बोक्ने भए पनि बोकाइको निरन्तरतामा भने एकरूपता नहुन सक्छ । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने यहाँ सबभन्दा बढी निरन्तर झोला बोक्नेमा शिक्षक, डाक्टर, वकिल, प्राइभेट स्कुलमा पढ्ने विद्यार्थीहरू, भर्खर भर्खर राजनीतिमा लागेका कार्यकर्ताहरू, कर्मचारीहरू, हटियारेहरू, गाडीका कन्डक्टरहरू, व्यापार व्यवसाय गर्नेहरू आदिलाई लिन सकिन्छ । यीमध्ये धेरैका झोला आफ्नो कर्मगत उद्देश्यअनुसारका हुँदा हुन् तर कतिका भने बाहिर हेर्दा एउटा किसिमका भित्र खोतल्दा अर्कै किसिमका पनि हुन सक्छन् ।
अनुशासन, कर्मशीलता र इमानदारीलाई आफ्नो सर्वस्व ठानी तदनुरूप चल्ने व्यक्ति अरूको झोलाप्रति आकृष्ट हुँदैन । अर्काको झोला बोक्नु भनेको आफ्नो झोलाप्रति बेइमान हुनु हो भन्ने कुरा त्यस्तो व्यक्तिले राम्ररी बुझेको हुन्छ । आफूलाई परिआउँदा साथ दिने आफ्नो सर्वस्व पहिचान बोकेको झोलाले मात्र आफूलाई संरक्षण गर्छ भन्ने कुरा त्यस्तो व्यक्तिले आत्मसात् गरेको हुन्छ । कतिका आँखामा ऊ हेय देखिए पनि वास्तवमा ऊ इमानदार र कर्तव्यनिष्ठ व्यक्ति हो । कतिपय आफ्नो स्वतन्त्र क्षमता र हैसियत नभएका मानिसहरू भने आफ्नो झोलासँग भन्दा अरूकै झोलासँग बढी लहसिन्छन् र आफू गतिलो भएको स्वाँग पार्छन् । त्यस्ता तथाकथित विज्ञहरूप्रति असीम करुणा राखी चाणक्य गुरुले यसो भनेका छन् -
यो ध्रुवाणि परित्यज्य अध्रुवं परिसेवते
ध्रुवाणि तस्य नश्यन्ति अध्रुवं नष्टमेवहि
भावार्थमा : आफ्नो वास्तविकतालाई त्यागेर अन्यत्र लहसिने त्यो अवसरवादीले त्यहाँचाहिँ धोका नदेला भन्ने आधार नहुने हुनाले पछिल्लोले पनि त्यसलाई त्यागिदिन्छ पहिलोसँग त त्यस कपटीले अगि नै सम्बन्धविच्छेद गरिसकेकै हुन्छ अथवा त्यो घरको न घाटको हुन्छ ।
यसबाट अर्काको झोला भिर्नु वा आफ्ना झोलामा अर्काका सामान बोकेर हिँड्नु आफ्नो अस्तित्व ,सत्त्व र पहिचान गुमाउनु हो, पथभ्रष्ट हुनु हो भन्ने प्रस्ट हुन्छ । यस्तो कुरा भारी बोक्ने श्रम गरी खाने र त्यस्तो श्रमलाई नै आफ्नो जीवन निर्वाहको आधार बनाएका व्यक्तिहरूका हकमा लागू हुँदैन तर शिक्षित तथा बुद्धिजीवी भनाउँदाहरूका हकमा भने स्वतः लागू हुन्छ । आफ्नो पेसा वा व्यवसाय र त्यसबाट प्राप्त परिणामलाई स्वाद मानी मानी उपभोग गर्ने तर त्यही पेसागत झोला भने फालेर अर्काको झोला बोकिहिँड्ने तथाकथित महान् व्यक्तिहरू समाज वा संस्थाका शुभेच्छुकहरू हुन सक्छन् र ? बिचाराहरू बादशाहको नयाँ लुगा भन्ने कथाका बादशाह नै हुन्छन् ।
हामीले वास्तविक धरातललाई ख्याल गर्ने हो भने अरूको झोला बोक्ने बानीले हाम्रो समाज, राष्ट्र र हामीसम्बद्ध सबै गतिविधिहरूलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ । उदाहरणका लागि -एउटा शिक्षकले आफ्नो पेसागत झोला नबोकेर अरूको झोला बोके भने विद्यार्थीले प्राप्त गर्ने ज्ञानको अवस्था के हुन्छ ? त्यसैगरी एउटा डाक्टरले आफ्नो झोला नबोकी अर्काको झोला बोक्न थाले भने रोगीको हालत के होला ? यस्तो क्रम रहिरहृयो भने कस्ता कहाली लाग्दा दिनहरू आइलाग्लान् ? वकिलले आफ्नो झोला नबोके न्याय के होला ? विद्यार्थीले अरूको झोला बोके शिक्षा के होला ? कृषकले आफ्नो झोला नबोके अनाज के होला ? सोचौँ न , यस्ता कर्महरूले राष्ट्रलाई कता धकेल्लान् , के बनाउलान् ? यसरी एउटा कामका लागि झोला लिने अनि अर्कै कामको झोला भिरेर कहाँ पुग्न सकिन्छ ? यो क्रम कहिलेसम्म जारी राख्न सकिन्छ ? विश्वासमा परेकाहरूलाई कहिलेसम्म छल्न सकिन्छ ? आफै आफूबाट कहिलेसम्म छलिन र भाग्न सकिन्छ ? फेरि अर्काका कर्म क्षेत्रमा त्यसरी अनधिकृत ढङ्गले प्रवेश गर्नेलाई कसले पाती लगाइदिन्छ र ? यी र यस्तै विविध कारणहरूले पनि हामीलाई अरूको झोला भिर्न दिँदैन । आफ्नो कर्मानुसारको पहिचान दिने झोलालाई नै उत्तम मानी तदनुरूप कार्य गर्नु उचित हुने कुरा निम्न कथनबाट पनि पुष्टि हुन्छ, सके यसलाई आत्मसात् गरौँ र अझ कर्तव्यनिष्ठ बनौँ
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः।। (गीता, अ.३ :३५)
भावार्थ : (राम्रो अरू धर्मभन्दा दोषी श्रेष्ठ छ आफनू । मर्नू स्वधर्ममै श्रेय अर्कामा डर राखनू ।। कोमलगीता)
(भट्टराई सकुना क्याम्पस, मोरङका सहायक क्याम्पस प्रमुख हुन्)