औसत कथाहरुको संगालो : मूल्याङ्कन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

औसत कथाहरुको संगालो : मूल्याङ्कन

मिलन संग्रौला

कथा समाजको ऐना हो । हुन त व्यक्तिगत कुण्ठा वा भोगाईहरु लेख्दा पनि कथा बन्लान् । तर नलेखुन्जेलमात्र ती व्यक्तिगत हुन्छन् । लेखेपछि ती सार्वजानिक बन्छन् । भोगाईहरु व्यक्तिगत नभएर समाजका बन्छन् । आफ्ना वा अरुका भोगाई, समाजमा घटेका विविध घटनाहरु, समाजका विसंगति र विकृतिहरु, आफू र आफूसँग जोडिन आएका पात्रहरुको मनोस्थिति आदिलाई शब्दहरुमा कलात्मक ढंगले उन्दा नै कथा बन्ने हो । यसरी लेखिएका कथाहरुलाई जब पाठकले पढ्छ ऊ कथाकै पृष्ठभूमिमा र पात्रहरुबीच भिज्छ । यदि पाठक कथाको पृष्ठभूमि र पात्रहरुबीच घुलेर कथा पढ्न सक्दैन भने त्यो गतिलो कथा बन्न सक्दैन । केवल पट्यारलाग्दो शब्दहरुको थुप्रो मात्र बन्छ ।

केही गतिला कथा, सुन्दर पृष्ठभूमि र कथानक, केही कलात्मक बान्की र मनमा भिज्न सक्ने पात्रहरु भएको कथासंग्रह “मुल्याङ्कन” साझा प्रकाशनले प्रकाशन गरेको छ । कथाकार हुन् : खड्गबहादुर चापागाई । यो कथाकारको पहिलो कथासंग्रह भए पनि कथालेखनमा भने उनी नयाँ होइनन् । २०२७ सालमै कथा प्रतियोगितामा पुरस्कृत उनी लेखनमा परिपक्व नै लाग्छन् । तर धेरै कथाहरुमा विषयवस्तु र पात्रहरुको पुनरावृत्ति र एउटै शैली भएका कारण पुरै संग्रह राम्रो कोटिको कथा संग्रह हुनबाट बन्चित भएको देखिन्छ ।

संग्रहमा २२ कथा संग्रहित छन् । कथाहरुको पृष्ठभूमिमा पूर्वी पहाड हुँदै नेपालका विभिन्न जिल्ला समेटिएको पाइन्छ । नेपालको सरकारी जागिरेको फिरन्ते जीवनमा भएका भोगाईहरु धेरैजसो कथाहरुमा मुखरित भएको पाइन्छ । कथाहरुमा नेपाल सरकारको प्रशासन सेवामा सेवारत पात्र दोहोरिरहने र लेखक पनि स्वयमं प्रशासन सेवामा आबद्ध भएकोबाट लेखकको आफ्नै भोगाइहरु कथामा पोखिएको बुझ्न पाठकलाई कुनै गाह्रो पर्दैन ।

निकै कथाहरुमा दोहोरिएको विषयवस्तु हो नारीको मनोभाव । एउटी युवती भर्खर जवानीको उत्कर्षमा पुगेकी हुन्छे । उसलाई हेर्न भनि घरमा अपरिचित युवकको प्रवेश हुन्छ । उसलाई हेरेर युवक जान्छ तर यता युवतीको मनमा विभिन्न कुराहरु खेल्न थाल्छन् । उक्त युवकलाई नै आफ्नो भविष्य मानेर सपना देख्न थाल्छे । तर विविध कारणले उक्त युवकसँग उसको बिहे हुँदैन । यसले उसको भविष्य सम्म असर गर्छ । “अन्तर्द्वन्द्व” कथाबाट सुरु भएको यस्तो चित्रण अरु कथामा पनि जोडिदै जान्छ । कुनै कथामा फरक पात्रमा यही किसीमको मनोभाव खेल्छ । कतै यसकै सिक्वेलझैं लाग्ने गरी कथा लम्बिदै जान्छ । जस्तै “अधुरो विवाह” कथामा यसरी पहिले हेर्न आउने युवकसँग विवाह नभएको कुण्ठाका कारण राधाको आफ्नो पतिसँग राम्रो सम्बन्ध रहँदैन । यो “अन्तर्द्वन्द्व”कै अर्को भाग होकि जस्तो भान हुन्छ पाठकलाई । यस्तै किसीमको चित्रण कथा “अधुरो सपना” र “रित्तिएको सपना” मा पनि दोहोरिएको पाइन्छ । यसरी एउटै विषयवस्तु र चरित्र धेरै कथामा दोहोर्याएर पाठकलाई पट्यार लगाउनुभन्दा एउटै कथामा ध्यान दिन सकेको भए धेरै राम्रो हुन सक्थ्यो । राम्रो सम्पादन र पुर्नलेखनको अभाव देखिन्छ संग्रहमा ।

जागिरेको फिरन्ते जिन्दगी, भोग्नुपर्ने दुःख, परिवारका साथ सरेको सर्यै गर्नुपर्ने बाध्यता, उधारोमा चलाउनुपर्ने जिन्दगी आदिलाई कुशलतापूर्वक चित्रण गरिएको छ केही कथाहरुमा ।

“बिरुदाई” र “अविचलित आशा”मा गाउँले दुःखलाई निकै मार्मिक ढंगले चित्रण गरिएको छ । कथाका पात्रहरु आफू दुःख गरेर, भारी बोकेर भए पनि आफ्ना सन्तानलाई राम्रो शिक्षादिक्षा दिई उच्च स्थानमा पुर्याउन सफल हुन्छन् । तर बुढेसकालमा शरीर कमजोर भएपछि जब साहाराको जरुरत पर्छ तब उनीहरुलाई हेर्ने छोराछोरी सबै आफ्नै संसारमा उडिसकेका हुन्छन् । अधिकांश दुःखी नेपालीहरुको नियति यस्तै बन्न पुगेको छ ।

बाल्यकालदेखि नै नजिकएकी केटी साथिसँगको सम्बन्ध, बढ्दै जाँदा ऊसँगको द्वन्द्ध, सामाजिक र आर्थिक अन्तरका कारण देखापरेको वैमनस्य आदिलाई उनले केही कथाहरुको पृष्ठभूमि बनाएका छन् । यि कथाहरु कुनै कुनै सिक्वेल जस्ता लाग्छन् । पात्रहरु नामले मात्र फरक फरक लाग्छन् । यसले पाठकलाई केही असमञ्जमा भने पार्छ ।

संग्रहको मुख्य कथा “मुल्याङ्कन” भने निकै दमदार नै लाग्छ । आफ्नो ज्यानको समेत प्रवाह नगरी प्रजातन्त्रको लागि लडेको एक योद्धालाई नेता र पार्टीहरुले कसरी मुल्याङ्कन गर्छन् र यसको योगदानको कदर कुन रुपमा हुन्छ भन्ने आजको नाङ्गो यथार्थलाई समेत छर्लङ्ग पारिएको छ ।

“स्मृतिका चिनो” कथा आजकालका युवाहरु विदेशीएपछि कसरी उतै पलायन हुन्छन् र गाउँमा रहेका उनीहरुका आमाबाबुसँग कसरी आँसु चुहाउँदै पर्खिनुको विकल्प हुँदैन भन्ने समाजको यथार्थवादी चित्रण गरिएको छ । तर कथाको मुख्य पात्र विनोद एउटा होनाहार विद्यार्थी, अनुशासित र छात्रवृत्ति प्राप्त गर्ने कोटिको भएर पनि कसरी उसले सारा परिवार चटक्कै माया मार्न सक्छ ? यसलाई लेखकले पुष्टी गर्न सकेका छैनन् । पात्रको चरित्र र घटनाक्रमको विकास एकअर्कामा विरोधाभासका साथ प्रस्तुत भएका छन् । एकतर्फी चित्रण मात्र गरिएको जस्तो लाग्छ । यसलाई पनि पाठकले पचाउन मुस्किलै पर्ने देखिन्छ ।

वातावरण र समाजको चित्रण अनि भाषाको दृष्टिले यो कथासंग्रह स्तरीय नै लाग्छ । यदि पात्रहरुको स्वभाविक चित्रण गर्दै विषयवस्तुको पुनरावृत्तिमा रोक लगाउने हो भने कथाकारबाट अझ उत्कृष्ट कथाहरुको अपेक्षा गर्न सकिन्छ ।

साझा प्रकाशनले प्रकाशित गरेको यस संग्रहको मुल्य रु. २१५ रहेको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु