भात खान नि बिर्सन लाग्या थिएँ सर ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

भात खान नि बिर्सन लाग्या थिएँ सर !

३० मंसिर, काठमाडौं । स्कूल पढ्ने धेरै विद्यार्थीले अनुभव गरेको कुरा हो-गृहकार्य नगरेको दिन सर, मिसले सजाय दिन्छन् । गृहकार्य किन नगरेको भनेर सर र मिसले सोध्दा धेरै विद्यार्थीको जवाफ हुन्छ- बिर्सिएँ सर । अनि उत्तिखेरै सर मिसले प्रश्न गर्छन्- भात खान चाहिँ बिर्सिस् कि बिर्सिनस् ? यसोभन्दा धेरै विद्यार्थी ङ्चिच हाँसेर उभिन्छन् र सजाय भोग्छन् ।

तर, एकजना यस्ता विद्यार्थी थिए, जसले कडा स्वभावका सर र मिसलाई पनि ठट्यौली जवाफ दिएर हँसाउन सक्थे । तत्कालीन नेकपा माओवादीले जनयुद्ध गरेको बेला सेनाको कार्वाहीमा मारिएका धादिङ  नलाङका हरिप्रसाद तिमिल्सिनाको यस्तै व्यवहारलाई उहाँका आफन्त, गाउँले र समकालीन नेताहरुले सम्झेका छन् ।

‘हाम्रा दाजु निकै तार्किक व्यक्ति हुनुहुन्थ्यो’ हरिप्रसादको स्मृतिसभामा उहाँका भाइ एवं एमाले धादिङका नेता जगन्नाथ शर्माले भन्नुभयो-’उहाँले धेरै पढ्न त सक्नुभएन, तर उहाँमा पढेकामा भन्दा बढी ज्ञान थियो ।’

शर्माका अनुसार धादिङको एउटा स्कूलमा उहाँहरु प्राविसम्म सँगै पढ्नुभयो । त्यो स्कूलमा एकजना शिक्षक निकै कडा स्वभावका थिए । विद्यार्थीले गृहकार्य नगरेको दिन हातमा सुम्ला बस्ने गरी ठटाउँथे । एक दिन हरिप्रसादले गृहकार्य गर्न बिर्सनुभएछ । कक्षामा तिनै कडाखाले शिक्षकले सोधे-’खै गृहकार्य ?’ हरिप्रसादले भन्नुभयो-’बिर्सेछु सर ।’

‘भात खान चाहिँ बिर्सिनस् ?’ शिक्षकले फेरि प्रश्न गरे । हरिप्रसाद अरु जस्तो ङ्चिच हाँसेर बस्नुभएन । निकै स्वभाविक रुपमा उत्तर दिनुभयो-’सर भात खान पनि बिर्सन लागेको थिएँ, यो भाइले हैन भात खानुपर्छ भनेर सम्झायो । अनि खाएर आएँ ।’

‘दाइले यस्तो जवाफ दिँदा शिक्षक हाँस्न थाले’ जगन्नाथले भन्नुभयो-’सरले सजाय नै दिन सकेनन् ।’

खुर्सानी किस्सा

माओवादी जनयुद्धका शहिद हरिप्रसादले चितवनबाट राजनीति शुरु गर्नुभएको हो । उहाँको तार्किक र रमाइला क्षणलाई चितवनमा रहेका उहाँका समकालीन नेता र छिमेकी अहिले पनि सम्झन्छन् ।

नेकपा-माओवादीका केन्द्रीय सदस्य अनिल शर्मा विरहीका अनुसार एक दिन हरिप्रसाद विरहीका घरमा बास बस्न पुग्नुभयो । भात खाने बेला अनिलकी आमाले खुर्सानी दिन खोज्दा हरिप्रसादले हात थाप्नुभयो । आमाले हुँदैन बाबु हातमा त, झगडा पर्छ भन्नुभयो । अनि तुरुन्तै हरिप्रसादले भन्नुभयो-’यसो गरौं न आमा आज हातमा दिनुस्, हाम्रो कतिदिनमा झगडा पर्दोरहेछ हेरौं । झगडा भयो भने अर्कोपटक हातमा नलिउँला । भएन भने होइन रहेछ भनौंला ।’

‘साधारण कुराबाटै अरुलाई प्रभाव पार्ने क्षमता थियो उहाँमा’ हरिप्रसादको स्मृतिमा धादिङमा भएको कार्यक्रममा शर्माले भन्नुभयो ।

‘चितुने’बाट बढी परिचित

चितवनबाट बसाईं सरेर धादिङ नलाङमा बसाईं सरेर गएका हुनाले हरिप्रसादलाई धेरैले चितुने भनेर बोलाउँथे । उहाँ अहिले पनि यही नामबाट बढी परिचित हुनुहुन्छ । उहाँको बारेमा पत्रकार एवं उहाँका आफन्त मिलन तिमिल्सिनाले आफ्नो पुस्तकमा यसरी स्मरण गर्नुभएको छ :

‘आच्या यो सुन्तलाको बिरुवालाई किन बेस्याहार गरेको तिमीहरुले । लौ झारले छोपिसकेछ । पानी पनि हाल्दा रैन्छन् । किन यसलाई हेलाँ गरेको हँ ? भात खाएपछि यहाँ आएर चुठ्ने गर न यसले पानी पाउँछ ।’ तगाराबाट छिर्ने बेला दायाँबायाँ नियाल्दै आउने चितुने हजुरबा सुन्तलाको फेदमा रहेका दुईचार त्यान्द्रा झार उखेल्दै हाम्लाई गाली गर्थे । वरपर पानीको भाँडा देखे भने त्यहाँ घोप्टाइदिन्थे ।

पिँढीको भित्तो, दलीनतिर माकुरो जालो रहेछ भने लौरोले पन्छाइदिन्थे । गाईबाख्रा कराइराखेका छन् भने घाँस हालिदिन्थे । हाम्रो घरमा मात्रै होइन, जसको घरमा पस्दा पनि उनी आफ्नै घरमा पसेको झैं गर्थे । तरकारी र फलफूलको बेर्नालाई स्याहार-सम्भार गर्न, गाईवस्तुलाई घाँसपानी र कुँडोभकाराको ख्याल गर्न तथा घर वरिपरि सरसफाइ गर्न सचेत गराउँथे । रछ्यानको छेउमा फलेको पाकेको गोलभेंडा टिपेर क्वाप्प खान्थे । ‘अँ गजब रैछ ।’ भन्दै स्वाद मान्थे । ‘छ्या काँचो गोलभेंडा पनि के खाएको होला बुढाले’ भनेजस्तो हामीलाई लाग्थ्यो । ‘गोलभेंडाले स्वास्थ्यलाई फाइदा गर्छ, तिमीहरु पनि खाने गर्नू’ चितुने हजुरबाले उल्टै भन्थे ।

चितवन बसाईं सरेर फेरि हाम्रै गाउँमा फर्केपछि उनको नाम चितुने भएको रे । हाम्रा हजुरबाहरुले चितुने कान्छा भन्थे । हामी चाहिं चितुने हजुर बा भनेर बोलाउँथ्यौं । चितुने हजुरबा घरमा आउँदा हामीलाई आनन्द लाग्थ्यो । अरु ठूलाबडा झैं उनी बा हजुरबासँग मात्रै बात मार्दैनथे । ठूलो मान्छे नभइकन हामी केटाकेटीसँग पनि गफ गर्थे । ठालु पल्टेर फलैँचामा उपरखुट्टी लगाउँदैनथे । यताउता मिल्केको चकटी आफैं सारेर पिंढीमा बस्थे । आँबै, आमाहरुसँग पनि दुःख-सुखका कुरा गर्थे । सञ्चोबिसञ्चो, कामधन्दा, वस्तुभाऊ सबका बारेमा जानकारी लिन्थे । निकै रसिला र फरासिला चितुने हजुरबा ।

एकपटक म सानो छँदा पखालाले थलिएको थिएँ रे । पेटमा खानेकुरा नै नअडिने । मुखभित्र राख्ने बित्तिकै तुरुन्तै चुहिहाल्ने । आकाश गड्याङगुडुङ् गरेजस्तो पेट कराउने । घरिघरि छेरिरहने । फेरि छेर्ला भनेर घरकाले मरिगए पानी खान नदिने । मचाहिँ पानी खान बल गर्ने । कहिँ कतै पानी नपाएपछि मैले चर्पी लैजाने लोटामा पानी खान खोजेको बेला चितुने बा टुप्लुक्क आँगनमा आइ पुगेछन् । धन्न बुढा पुगेछन् र त्योबेला गुहृये पानी मैले खान परेन । बूढाले मलाई सफा पानी खुवाएछन् । पछि ठूलो भएपछि चितुने हजुरबाले नै मलाई त्यो घटना सुनाएका । ऊबेलै त्यस्ता कुरा जान्ने बूढा साँच्चै ठूलै मान्छे हुन् नि ।

मेरो माइलो भाइ हामीभन्दा अलि बढी बोल्ने । एकदिन चुरोट खाँदै हाम्रो घर पुगेका चितुने हजुरबालाई ‘धत् बुढा बाउनले पनि के चुरोट खाएको’ भन्यो । भाइको कुरा सुनेर बुढा छाँगाबाट खसेजस्ता भए । बा, हजुरबा मुर्छा परेर हाँसे, हामी वाल्लजिल्ल पर्‍यौं । भाइको कुराले बुढालाई भित्रैदेखि छोएछ । त्यसपछि बुढाले भाइले देख्ने गरी कहिल्यै चुरोट खाएनन् । त्यसमाथि हाम्रो हजुरबाको अघिल्तिर पनि चितुने हजुरबा चुरोट खान डराउँथे । बुढीगैरे तिम्सिना खलकमा अबदेखि चुरोट सूर्ति बन्द गर्ने भनेर पहिल्यै भएको सहमतिविपरीत चितुने हजुरबालगायत केहीले चुरोट सूर्ति छाड्न सकेका रहेनछन् । चितुने हजुरबा जस्तै जगन्नाथ हजुरबा, रामकाकाहरु पनि हाम्रो हजुरबाको आँखा छलेर चुरोट खान्थे । हाम्रो हजुरबा, बाहरुले चाहिं चुरोट, सूर्ति खाएको कहिल्यै थाहा पाएनौं ।

चितुने हजुरबासँग गफ गरेर कसैले नसक्ने । खेतीपातीदेखि राजनीतिसम्मका सबै कुरा उनलाई कण्ठस्थ । गाउँका बुढाहरुसँग भन्दा पढेलेखेका ठिटाहरुसँग उनको कुरा बढी मिल्थ्यो । त्यसैले बुढाहरु चितुने बढी बाठो हुन खोज्छ भन्थे । ठिटाहरु चाहिं बुढाले कति जानेका भनेर जिब्रो टोक्थे । पढे लेखेकासँग गाउँका अरु बुढाको कुरो मिल्दैनथियो । तर लेखपढ नभएका चितुने हजुरबासँग पढेलेखेका आजकलका ठिटाहरुले कुरा गरेर कहिल्यै नसक्ने ।

कतैबाट पत्रिका फेला पारे भने बुढाले हामीलाई पढ्न लगाउँथे । महिना दिनअघिका दैनिक साप्ताहिक पत्रिका पाए भने पनि उनलाई त्यसमा लेखेका कुरा जान्न औधि मन लाग्ने । तर चश्मा नलगाई उनी राम्रोसँग पढ्न नसक्ने । त्यसैले उनी जसलाई भेटेपनि पत्रिका पढेर सुनाउन लगाइहाल्थे । हामी बूढालाई सुनाउन र छिटो सक्नको लागि खररररर पढ्थ्यौं । पढिसकेपछि बूढाले यो के भन्न खोजेको लौ भन त भनेर सोध्थे, हामी अलमलिन्थ्यौं । अनि बुढा हामीसँग रिसाउँथे -अर्थ नबुझीकन पनि पढ्ने हो भनेर गाली गर्थे ।

देशविदेशका राजनीतिक घटनाक्रम के भैरहेको छ भनेर उनले हामीसँग बेलाबेला जिज्ञासा राख्थे । उनका लागि हामी पढेलेखेका केटाकेटी सबै कुरामा जानकार हुनुपर्ने । सबै कुराको हेक्का राख्नुपर्ने । बाटोमा हिंड्दा बूढालाई परैबाट देखियो भने ला आज पनि बुढाले के सोध्ने हुन् भनेर हामी झस्किन्थ्यौं । पछि बुढाले सोध्ने राजनीतिक कुरा भन्न सक्ने तयारीका साथ हामी बाटोमा हिंड्न थाल्यौं । राजनीतिक र सामाजिक कुरा जान्न थालेकोमा उनी पनि निकै गद्गद् हुन्थे । बुझेर पढ्न र त्यसलाई व्यवहारमा ढाल्न उनले सधैं सचेत गराइरहने ।

गाउँका नेता हुँ भन्नेहरुले समेत नजानेका कुरा चितुने हजुरबालाई खररर आउने । विश्व कम्युनिष्ट इतिहास, दर्शन, सिद्धान्त हरेक विषय उनलाई कण्ठस्थ । देशविदेशका नेताहरुको भनाइ र गतिबिधि उद्धृत गर्दै उनी गफ झिक्थे । उनीसँग बहस र तर्कवितर्क गर्न पढेलेखेका र राजनीतिक दलका नेता कार्यकर्ता पनि हच्किन्थे । अरु गाउँलेहरुले सोधेको कुरामा झारा टारेर उत्तर दिने गाउँका नेताहरु चितुने हजुरबासँग चाहिं तौलीतौली कुरा गर्थे ।

तिनै हजुरबाले हामी जान्नेबुझ्ने भएपछि गाउँमा उदाहरणीय काम गर्न प्रेरित गरे । विकृति विसंगतिको विरोध र सभ्य समाज निर्माणमा ध्यान दिन आग्रह गरे । उनले भने अनुसार हामीले काम गर्न पनि खोज्यौं तर अपुरो र अधुरै रहृयो । अरु बूढाहरुले झैं उनले फाल्तु गफ गरेर समय बिताएनन् । बूढाहरुसँग भेट्दा खेतीपातीका, ठिटाहरुसँग भेट्दा राजनीतिका गफ मिलाउन खप्पिस बुढालाई गाउँ, छिमेकदेखि अलि परसम्मकाले पनि राम्रोसँग चिन्थे ।

पछि चितुने हजुरबा माओवादीको सक्रिय कार्यकर्ता भए । जिल्लास्तरीय नेता भएपछि उनीसँग भेट हुन पनि छाड्यो । पछि सेनाको कार्वाहीमा चितुने हजुरबा मारिएको खबर सुन्दा हामी छाँगाबाट खसेजस्तो भयौं । नौला र अद्भूत कुरा सिकाउने तथा राम्रो काम गर्न प्रेरित गर्ने एकजना पाका मान्छेको अभाव सधैं खड्किरहेको छ ।

One Comment on “भात खान नि बिर्सन लाग्या थिएँ सर !”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु