अरुण बराल
राजनीतिक टिप्पणी । संविधानसभा चुनावमा ५ हजार मत ल्याएर तेस्रो स्थान हासिल गरेका कांग्रेस सभापति सुशील कोइराला त्यागी एवं समर्पित नेता हुन् भन्नेमा शायदै कसैको विमति होला । तर, जब प्रधानमन्त्रीका रुपमा कोइरालाको नाम अगाडि आयो, त्यसपछि भने उनको नाममाथि दुईखाले बहस छेडिएका छन् । एउटा बहस कोइरालाको विचार र कार्यशैलीमाथि छ भने अर्कोचाहिँ बाबुरामका ठाउँमा उनी प्रधानमन्त्री हुँदैमा कुन राजनीतिक कार्यक्रमका आधारमा उनी सफल होलान् भन्ने आशंकासँग सम्बन्धित छ ।
सुशील कोइराला त्यागी हुन्, यसमा शंका छैन । उनी लोकतन्त्रवादी (खासमा प्रजातन्त्रवादी शब्द प्रयोग गर्ने उनको आदत छ) पनि हुन्, यसमा पनि कुनै विवाद छैन । तर, उनी लोकतन्त्रवादीमात्रै हुन् कि लोकतान्त्रिक पनि हुन् ? कांग्रेसभित्रको उनको कार्यशैलीले उनी लोकतान्त्रिक हुन् कि हैनन् भन्ने प्रश्न उठाउने गरेको छ । पार्टीको महाधिवेशन सकिएको दुईवर्षसम्म उनले केन्द्रीय कार्यसमितिमा रिक्त रहेका पद पूर्ति गर्न सकेका छैनन् । भातृ संगठनहरुको विवाद मिलेको छैन । संसदीय विभाग बन्न सकेको छैन । पार्टीभित्रको बहुमत संसद् पुनस्र्थापनाको पक्षमा छ, तर अल्पमतले बैधानिकता पाइरहेको छ । यसरी दुईवर्षसम्म आफ्नै पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन नसक्ने नेताले कसरी सिंगै देशको नेतृत्व गर्न सक्लान् ? कोइरालामाथि उठेको यो प्रश्न निराधार छैन ।
कोइराला निर्णय क्षमताका आधारमा मात्रै होइन, विचारका हिसाबले पनि ‘डाइनामिक’ देखिँदैनन् । जतिखेर गिरिजाप्रसादले शेखर कोइरालाहरुको सहयोगमा माओवादीसँग १२ बुँदे सम्झौता गर्ने हिम्मत गरेका थिए, त्यसबेला सुशीलचाहिं माओवादीको कडा आलोचना गरिरहेका थिए । कांग्रेसभित्र सुशील सबैलाई मिलाउनेखालका नेताभन्दा पनि निश्चित गुटमा रमाउने नेताका रुपमा चिनिन्छन् । उनको विचार सबैलाई मिलाएर लैजानेखालको र सिर्जनात्मक भन्दा पनि रुढ प्रकारको, ‘आउट डेटेड’ जस्तो देखिन्छ । कांग्रेसभित्रका उनी असाध्यै इमान्दार तर अनुदार नेता हुन् ।
जननिर्वाचित प्रधानमन्त्रीलाई ‘रिप्लेस’ गर्न लागेका कोइराला संविधानसभामा बाँके ३ मा सर्वदेव ओझासँग हारेका मात्रै नभई तेस्रो स्थान हासिल गरेका नेता हुन् । कोइरालाले सार्वजनिकस्थलमा भाषण गर्ने क्रममा भट्टराई सरकारलाई राणा शासन र ३० वर्षे पञ्चायती शासन अनि ज्ञानेन्द्रको शाही शासनसँग तुलना गर्ने गरेका छन् । तर, चुनाव हारेका उनी प्रधानमन्त्री बन्नासाथ त्यो सरकार कसरी अहिलेको भन्दा लोकतान्त्रिक हुन्छ ? लोकतन्त्रमा त चुनाव हारेका नेताले सत्ता लिन जुलुम गर्नै हुँदैन । कांग्रेसमा प्रधानमन्त्री बन्नका लागि चुनाव जितेका नेताहरु पनि एक से एक योग्य थिए । यहीँबाट प्रष्ट हुन्छ, सुशील कोइरालाको प्रजातन्त्र र लोकतन्त्रप्रतिको व्यवहारिक निष्ठा । उनी लोकतान्त्रिक हुन्थे भने चुनाव हारेकालाई प्रधानमन्त्री बनाउनुहँदैन भन्ने लविङ जरुर गर्ने थिए ।
सुशील कोइराला धर्म निरपेक्षता, संघीयता एवं राज्य पुनसंरचनाका विषयमा समेत अनुदार रहेको आरोप जनजाति र मधेसी नेताले लगाउँदै आएका छन् । उनी मुखले यी मुद्दाहरुको समर्थन त गर्छन्, तर यसबारे उनीसित कुनै खास ‘भिजन’ छैन । संविधानसभामा कांग्रेसले बेलैमा यसबारे प्रष्टखाका ल्याउन नसक्नुमा यही नेतृत्व क्षमताको कमजोरीले काम गरेको छ ।
अहिलेको जटिल परिस्थितिमा बन्ने प्रधानमन्त्रीमा तीब्र निर्णय क्षमता एवं अग्रगामी विचार आवश्यक छ । संक्रमणकालीन राजनीतिमा इमान्दार भएरमात्रै पुग्दैन, योग्यता पनि उत्तिकै आवश्यक पर्छ । त्यसैले सुशील कोइरालाको नेतृत्वमाथि जसरी शंकाको दृष्टिकोणले हेरिँदैछ, त्यो आधारहीन आशंका विल्कुलै होइन ।
मुलुकमा देखिएको अहिलेको राजनीतिक संकट भनेको व्यक्तिको समस्या होइन । संविधानसभाको विघटनपछि संवैधानिक शुन्यता आएकाले नै अहिलेे राजनीतिक गत्यावरोध देखिएको हो । सुशील कोइराला प्रधानमन्त्री हुँदैमा जादुको छडीले समस्या समाधान हुने र बाबुराम भइराख्दा समस्या थाती रहने होइन । बरु, कोइरालासित प्रधानमन्त्री बनेपछि अहिलेको जटिलता फुकाउने हतियार के छ ? यो प्रश्न महत्वपूर्ण छ । बाबुरामले अध्यादेश ल्याउँदा असंबैधानिक हुन्छ भने राष्ट्रपतिले टीको लगाएको पंधानमन्त्रीले भोलि ल्याउने अध्यादेश कसरी संवैधानिक हुन्छ ?
सुशील कोइराला प्रधानमन्त्री हुने प्रश्न गौण महत्वको हुनुपर्छ र राजनीतिक समस्या कसरी हल गर्ने भन्ने विषयलाई चाहिँ यतिबेला दलहरुले मुख्य एजेन्डा बनाउनुपर्छ । बाबुरामले छाडेर कोइराला प्रधानमन्त्री हुँदैमा सबै समस्या हल हुन्छ भन्ने ठान्नु भ्रममात्रै हो । कोइरालासित न कुनै अग्रगामी विचार छ, न कुनै निर्णय क्षमता छ । उनीसित न त वर्तमान राजनीतिक संकटलाई टार्ने कुनै स्पष्ट कार्यक्रम नै छ । उनीसँग भएको एउटै कुरा त्याग र इमान्दारिता मात्र हो, यतिलेमात्रै अहिलेको राजनीतिक जटिलता हल हुनै सक्दैन । साधुपनले मात्रै राजनीति अघि बढ्ने भए बेलायतमा क्रमबेलको ‘साधु संसद्’ असफल हुने नै थिएन ।
कतिपय विश्लेषकहरुले बाबुरामले कुर्सी छाडिदिएपछि अहिलेको गत्यावरोध आफसे आफ हल हुन्छ भनिरहेका छन् । तर, कसरी हल हुन्छ ? यसको संवैधानिक विधि के हो ? चुनाव कहिले हुन्छ र कसरी हुन्छ ? यसको ग्यारेन्टी नगरी सरकार मात्रै फेरियो भने मुलुक ००७ देखि ०१७ सालको संक्रमणमा फस्ने खतरा छ । त्यसैले कोइरालालाई प्रधानमन्त्री बनाउनुपूर्व दलहरुले कसरी बैसाखमा चुनाव सफल पार्ने भन्ने राजनीतिक एजेन्डामा सहमति गर्न जरुरी छ । नेपाली कांग्रेसले आफ्नै हितका लागि पनि यसो गर्नु जरुरी छ । अन्यथा, पुस १ पछि प्रधानमन्त्री बन्न लागेका सुशील भोलि ‘मात्रिकाप्रसाद कोइराला’ बनेको खण्डमा अचम्म नमाने हुन्छ ।
Yes,kunai man6e aaudaima desle rahat mahasus gardaina,baburam hatayera shusillai nai kina p.m.banaune,sattako moha navayekko netako 6abi aakhir kongresle kina aafnai savapatile kurchi paos vandai6,Ani pahile pahile hami sarkarma nagai pratipa6ama basi sahoyogi ban6au vanne n ahile kurchi matrai leu vanne ani sarkarko kunai nirnaya namanne ra rastrapati guharne?k vako ho kongress?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]