१ पुस, काठमाण्डौ । गुड फर पेमेन्ट र क्यास हिनामिना गर्न कुलेश्वर शाखा प्रमुख निरज नेपाललाई सघाएको भन्दै एचएण्डवी डेभलपमेन्ट बैंकले १२ जना कर्मचारीलाई निलम्बन गरेको छ ।
बैंकको कुलेश्वर शाखामा कार्यरत पाँच जना कर्मचारी, बैंक बित्त प्रमुख र संचार प्रमुखलाई निलम्बन गरिएको बैंककी प्रमुख कार्यकारी अधिकृत जोसुदा सैँजुले जानकारी दिनुभयो ।
कुलेश्वर शाखामा कार्यरत कर्मचारीलाई हटाएर त्यहाँ नयाँ टीम पठाइएको छ भने बित्त प्रमुख र संचार प्रमुखलाई निलम्बन गरि सोधपुछ भइरहेको सैंजुले जानकारी दिनुभयो । बित्त प्रमुख निर्मल नेपाल निरजकै दाजु हुन् । उनको संलग्नतामा अनियमितता भएको शंकामा निलम्बन गरिएको बताइएको छ ।
प्रमुख कार्यकारी अधिकृत सैंजुले बैंकले आन्तरिक छानविन गरिरहेको भन्दै निक्षेपकर्ता आत्तिनुपर्ने अबस्था भने नआएको बताउनुभयो । कति हिनामिना भयो भन्नेबारे यकिन तथ्याङ्क अझै नआएको उहाँले बताउनुभयो । बैंक स्रोतका अनुसार ५० करोडभन्दा माथि हिनामिना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यसैवीच नेपाल राष्ट्र बैंकले पनि उप निर्देशकको नेतृत्वमा तीन सदस्यीय छानविन टोली बनाएको छ । टोलीले छानविनपछि प्रतिबेदन दिने बताइएको छ । अघिल्लो सालमात्र हिमचुली बिकाश वैंक र वीरगंज फाइनान्स गाभिएर एचएण्डवी डेभलपमेन्ट बैंक बनेको थियो ।