अस्तायो ‘रायमाझी-पथ’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अस्तायो ‘रायमाझी-पथ’

३ पुस, काठमाण्डौं । नेपाली कम्युनिष्ट आन्दोलनमा ‘रायमाझी-पथ’का रुपमा छुट्टै पहिचान बनाएका पूर्वकम्युनिष्ट नेता एवं वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्र शाहलाई गद्दीमा आसीन गराउने विघटित राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजङ्ग रायमाझीको सोमबार ९३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ ।

बायाँबाट बसेका – कृष्णराज बर्मा, बासुदेव ढुंगाना, महासचिव मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी, कमर शाह र उभिएका- हिक्मतसिंह भण्डारी, केदारप्रसाद उपाध्याय, कमलराज रेग्मी, शम्भुराम श्रेष्ठ, पुष्पलाल, महेशप्रसाद उपाध्याय र डीपी अधिकारी ।

नेपाली राजनीतिमा लामो समयसम्म चर्चा कमाउन सफल पुरानो पुस्ताका नेता रायमाझी केही दिन पहिले नै हिमालय हस्पिटलमा भर्ना भए पनि स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालबाट घर फर्काइएको दुईदिनपछि बित्नुभयो ।

विसं १९८३ असारमा जन्मेका रायमाझी विसं २०१० को प्रथम महाधिवेशनबाट कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य हुनुभएको थियो भने ०१२ सालको राष्ट्रिय सम्मेलनबाट पोलिटब्यूरो सदस्य बन्नुभएको थियो । ०१३ सालमा मनमोहन अघिकारी चीनमा लामो समयसम्म बसेका बेला रायमाझी कार्यबाहक महासचिव बन्नुभएको थियो । २०१४ को दोस्रो महाधिवेशनबाट उहाँ कम्युनिष्ट पार्टीको महासचिव बन्नु भएको थियो । कम्युनिष्टको महाचिव भएता पनि राजदरबारसित भित्री सम्बन्ध रहेका रायमाझीले २०१७ सालमा राजाको कूलाई समर्थन गरेपछि वहाँलाई महासचिवबाट हटाइएको थियो ।

०१७ सालमा महासचिवबाट हटाइए पनि कम्युनिष्ट पार्टीमा रायमाझीको प्रभाव पछिसम्म कायमै रह्यो । ०१७ सालको काण्डपछि बसेको दरभंगा प्लेनममा रायमाझी पार्टीको सचिवालय सचिवमा निर्वाचित हुनुभयो । ‘नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास’का लेखक डा. सुरेन्द्र केसीका अनुसार ०१९ सालमा बनारसमा भएको अल्पमत पक्षको महाधिवेशन (तेस्रो महाधिवेशन) ले रायमाझीलाई दुई वर्षका लागि पार्टीबाट निस्काशन गरेपछि उहाँले पञ्चायत कालभरि रुसपन्थी कम्युनिष्ट धारका रुपमा आफ्नो छविलाई कम्युनिष्ट र राजावादी दुबैरुपमा कायम राख्नुभयो ।

रायमाझी समूह

तेस्रो महाधिवेशनले पार्टीबाट हटाएपछि ०२३ सालमा रायमाझीले अलग्गै राष्ट्रिय सम्मेलनको आयोजना गर्नुभयो भने ०२४ सालमा अलग्गै तेस्रो महाधिवेशनको घोषणा गर्नुभयो । ०३८ सालमा उहाँको समूहबाट विष्णुबहादुर मानन्धरले विद्रोहको घोषणा गरी नेकपा (मानन्धर समूह) नामको अर्को पार्टी बनाएपछि वहाँको पार्टी फुट्ने क्रम शुरु भयो । ०४० सालमा कृष्णराज बर्माले रायमाझी समूहबाट विद्रोह गरी नेकपा (बर्मा समूह) गठन गरे । रायमाझी समूहको चोइटोबाट बनेको नेकपा संयुक्त अहिले पनि नेपालमा अस्थित्वमा छ । तर, रायमाझी भने पञ्चायतको अन्तिम घडीमा ८० जनाको दलबलसहित पञ्चायतमा प्रवेश गर्नुभयो ।

रायमाझीले कम्युनिष्ट पार्टी परित्याग गरी पञ्चायतमा पसेको औपचारिक घोषणा गरेलगत्तै पञ्चायती व्यवस्थाको अन्त्य भयो । त्यसपछि ०४७ सालमा गठित अन्तरिम सरकारमा उहाँलाई पुरस्कार स्वरुप राजाका तर्फबाट मन्त्री बसमेत बनाइयो ।

०१५ मा सम्पन्न संसदीय निर्वाचनमा क्षेत्र नं ९३, पाल्पा-पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा उठेका रायमाझीले नेपाली कांग्रेसका अच्युतराज रेग्मीसँग पराजीत भई चौथो स्थान प्राप्त गर्नुभएको थियो । नवलपरासीको जमीन्दार परिवारका रायमाझी सोही जिल्लाबाट २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो ।

०५२ मा राजपरिषद् स्थायी समितिको सदस्य बन्नुभएका रायमाझी ०५५ फागुन ७ गते राजपरिषद् स्थायी समितिको सभापति बन्नुभएको थियो । ०५८ सालको दरबार हत्याकाण्डका बेला रायमाझी नै राजपरिषद् सभापति हुनहुन्थ्यो र ०४७ सालको संविधान अनुसार शुरुमा दीपेन्द्र र केही दिनपछि ज्ञानेन्द्रलाई राजा घोषणा गर्दा रायमाझीबाटै गराइएको थियो ।

दुई छोरा र एक छोरीका पिता रायमाझीले कोलकाताको क्याम्पबेल मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातकोपाधि हासिल गर्नुभएको थियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु