माधव धिताल
४ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गर्न अस्वीकार गरेको छ । कांग्रेस-एमाले संघीयताविरोधी भएको भन्दै मधेसी मोर्चाले प्याकेजमा सहमति गर्दै चुनाव सुनिश्चित भएपछि मात्र सरकार छाड्न सकिने बताएको हो । बुधबार बसेको मधेसी मोर्चाको बैठकले वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिएर निर्वाचनको मिति घोषणा, निर्वाचनका लागि ऐन कानुन संशोधन, संवैधानिक निकायमा पदपूर्तिसहित निर्वाचनको सुनिश्चितता भएपछि मात्रै कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने निष्कर्ष निकालेको छ ।

‘कांग्रेसले चुनाव गराउँछ भन्नेमा हामीलाई आशंका छ’ तमलोपा नेपालका नेता दानबहादुर चौधरीले अनलाइनखबरसँग भन्नुभयो-’प्याकेजमा सहमति भएर निर्वाचन सुनिश्चित भएपछि मात्र उनीहरुको नेतृत्व स्वीकार गर्न सकिन्छ ।’ मधेसी मोर्चाले बाबुराम भट्टराईको नेतृत्वलाई राष्ट्रिय स्वरुप दिन नसके गठवन्धनभित्रैबाट विकल्प खोज्नुपर्ने बताएको छ ।
मोर्चाले सरकार गठनसहितका विषयमा प्याकेजमा सहमति गर्दा मधेसको मुद्दा र अहिलेसम्म भएका सहमतिलाई पनि स्वीकार गर्नु पर्ने शर्तसमेत राखेको छ । ‘अब हुने प्याकेजको सहमतिमा मधेससँग भएको २२ बुँदे, ८ बुँदे र ४ बुँदेलाई दस्तावेजिकरण गरेर स्वीकार गर्नुपर्छ’ सद्भावनाका नेता मनिष सुमनले अनलाइनखबरसँग भन्नुभयो- ‘मधेसलाई बासपास गरेर हुने सहमति लागू हुन सक्दैन ।’
मधेसी मोर्चाको बैठकले आफूहरुको शर्तअनुसार प्याकेजमा सहमति भए कांग्रेस सभापति कोइरालाको नेतृत्वमा सरकार बने तोकिएको समयमा चुनाव हुनुपर्ने र नभए त्यसको भोलिपल्टै सरकार छाड्नुपर्ने अर्को कडा शर्त पनि राखेको छ । ‘प्याकेजमा सहमतिपछि बन्ने चुनावी सरकारले तोकिएको मितिमा चुनाव भएन भने भोलिपल्टै सत्ता छाड्नुपर्छ भन्ने पनि हाम्रो शर्त छ’ नेता चौधरीले भन्नुभयो । कांग्रेस सभापति कोइरालालाई स्वीकार्न एकीकृत माओवादीले अन्कनाइरहेका बेला मधेसी मोर्चाका तर्फबाट पनि एमाओवादीकै भाषामा शर्त अगाडि सारिएको हो ।