४ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीद्वारा बुधबार दिउँसो आयोजित ब्यूरो प्रमुखसहितको पदाधिकारी बैठक प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहिस्कार गर्नुभएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा बसेको बैठकले यही सरकारले संवैधानिक बाधा फुकाउने पार्टीको पूर्वअडानलाई कायम राख्दै बाबुराम-प्रचण्डवीच दुईपक्षीय छलफल गर्ने निर्णय गरेको छ ।
सरकारबारे विवाद मिलाउन बुधबार बिहानका लागि तय गरिएको प्रचण्ड र बाबुरामको ‘वान-टु-वान’ मिटिङ स्थगित गरेर प्रचण्ड एमाले नेताहरुसँग छलफलमा जुटेपछि प्रधानमन्त्रीले प्रचण्डले बोलाएको बैठक बहिस्कार गरेको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ । दिउँसो प्रचण्ड निवासमा बाबुराम बाहेकका नेताहरु बैठक बसिरहँदा प्रधानमन्त्री भट्टराई भने प्रधानमन्त्री कार्यालय सिंहदरवारमा हुनुहुन्थ्यो । प्रधानमन्त्रीका स्वकीय सचिव बिश्वदीप पाण्डेले भने समयमै खबर नगरिएको र खासै महत्वपूर्ण बैठक नभएकाले प्रधानमन्त्री नजानुभएको बताउनुभयो । ‘बैठक अनौपचारिक रहेछ, उहाँको ब्यस्तता र समयमै जानकारी नभएकाले जान सक्नुभएन’ पाण्डेले भन्नुभयो ।
पूर्वनिर्णय कायमै, बाबुरामसँग प्रचण्डले छलफल गर्ने
प्रधानमन्त्री अनुपस्थित भएको बैठकले गतिरोध अन्त्यका लागि भइरहेको पहल सकारात्मक भएको निष्कर्ष निकालेको छ । ‘विघटित संविधानसभाले ४ वर्षमा गरेका सहमतिलाई स्वीकार गर्ने र नमिलेको संघीयताबारे जनतामा जाने, वैशाखमा चुनाव गर्ने, त्यसका लागि संविधान र कानुन संशोधन गर्ने, निर्वाचन आयोगलगायतमा पदपूर्ति यही सरकारले गर्ने र मुलुकलाई निकास दिने भन्ने पूर्वनिर्णय कायमै छ’ नेता गिरिराजमणि पोखरेलले भन्नुभयो । बैठकले उपाध्यक्ष समेत प्रधानमन्त्री भट्टराईसँग छलफल गरेर सहमति कायम गर्ने जिम्मा प्रचण्डलाई दिएको छ । ‘बाबुरामजीसँग छलफल गर्ने जिम्मा अध्यक्षलाई दिइएको छ’ नेता पोखरेलले भन्नुभयो-’उहाँहरुबीच कुरा भएपछि निर्णयमा पुग्छौं ।’ बैठकपछि प्रवक्ता अग्नि सापकोटाले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताउनु भयो । पार्टी अध्यक्ष प्रचण्डले सरकार छाड्न आग्रह गर्दा प्रधानमन्त्रीले नमानेपछि प्रचण्डकै आग्रहमा पार्टी नेताहरुको म्यान्डेट लिन लाजिम्पाटमा बैठक बोलाइएको थियो ।