हाम्रो पालामा सहवासबाट प्रेम शुरु हुन्थ्यो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

हाम्रो पालामा सहवासबाट प्रेम शुरु हुन्थ्यो

-राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरे उमेरले ९४ वर्ष लाग्नुभयो । तर, उहाँ अझै हट्टाकट्टा र फुर्तिलो हुनुहुन्छ । कुराकानीका लागि उहाँको घर लाजिम्पाट पुग्दा उहाँ माथि कोठाबाट ठमठमी तल बैठकस्थल आउनुभयो । अनलाइनखबरले सञ्चोबिसञ्चो सोध्न नभ्याउँदै उहाँ आफैंले हाम्राबारे सोध्नुभयो । कामको होइन, पढाइ र जन्मस्थानबारे ।

एकछिन भलाकुसारीपछि कवि घिमिरेले भन्नुभयो- ‘लौ मेराबारे पहिल्यै आइसकेका कुरा नसोध्नुस्, नयाँ कुरा गरौं ।’

उमेरले ९४ काटिसक्यो, अझै फुर्तिलो र हट्टाकट्टा हुनुहुन्छ । कसरी सम्भव भयो यस्तो ?

–बुढो भए पनि बुढो छैन भन्ने भावना चाहिन्छ । यसले पनि अलिकति उर्जा दिन्छ । के गर्दै हुनुहुन्छ घिमिरे जी भन्दा खै के गर्ने भन्ने, बुढो भएँ, जानेबेला भयो भनेर भन्दा निराशाको भावना उत्पन्न हुन्छ । हैन, काम गर्दैछु, बाँच्या छु, घाम ताप्दै छु, डुल्दै छु, खाँदै छु भन्यो भने यसले उर्जा दिन्छ ।

अर्को तीन कुराले गर्दा मलाई तपाईंले फुर्तिलो देख्नुभएको हो । पहिला, सृजनशीलता । सृजनाको लागि तत्पर भैरहने । लेख्नैपर्छ भन्ने छैन, कुनै सिर्जनाको कल्पना गरिरहने । दोस्रो कुरा सद्विचार । खराब विचार आउन नदिने । असल विचारले तपाईंलाई राम्रो गर्छ । र, तेस्रो कुरा योगाभ्यास, जुन मैले १५/१६ वर्षको उमेरदेखि नै सिकेको हो ।

बिहान कति बजे उठ्नुहुन्छ ?

–बिहान त्यही ६ देखि साढे ६ बजेसम्म उठिसक्छु ।

राति कति बजे सुत्नुहुन्छ ?

–साढे १० देखि ११ बजेसम्म सुतिसक्छु ।

बिहान उठेदेखि राति नसुत्दासम्म के काममा व्यस्त हुनुहुन्छ ?

–सृजना । सृजनामा डुब्छु । अहिले त महाकाव्य लेख्न व्यस्त छु । त्यसमै बढी लागेको हुन्छु ।

सृजना बाहेक घरायसी अरु काम पनि गर्नुहुन्छ ?

–यो उमेरमा आरामको पनि जरुरत पर्छ । त्यसैले उर्जा सञ्चयका लागि आराम पनि गर्छु । अरु काममा पनि लाग्छु । एउटा त सृजनाकै काम हुन्छ । आङ थापेर बस्ने क्या । धामीलाई देउता कुनबेला चढ्छ, थाहा हुन्न । तर आङ चाहिँ थापिरहनुपर्छ । यो सृजनाको कुरा भयो । अर्को मेरो आफ्नो समाज छ, साहित्यकारहरुको समाज । साहित्यका कार्यक्रममा बोलाउँदा जानुपर्यो । अर्को, तपाईंहरु जस्ता पत्रकारसँग भेटघाट गुर्नपर्‍यो । यसैगरी बितिरहेका छन् दिनहरु ।

अर्को कुरा म प्रकृतिप्रेमी मान्छे । जता फर्के पनि भगवानको बरदान देख्छु । हिजो चन्द्रमा कहाँ थियो भनेर सोध्नुस् । मेरो झ्यालबाट ऊ त्यहाँ थियो भनेर देखाउन सक्छु ।

खानामा कत्तिको रुची हुन्छ ?

–पहिले अलि बढी हिँडडूल हुन्थ्यो । खान पनि धेरै रुच्थ्यो । तर, अहिले खाना कम हुँदै गएको छ । बिहानचाहिँ खान्छु । बेलुका अलि कम हुन्छ ।

खानामा के के बार्नुहुन्छ ?

–मलाई मधुमेह र रक्तचापको सामान्य समस्या छ । त्यसैले गुलियो खान्न । होस गर्नुपर्छ यसमा । बार्यो भने केही पनि हुँदैन । अरु त खान्छु । दाँत पनि बलिया नै छन् । चपाउँछु पनि ।

कविता अहिले पनि लेख्नुहुन्छ कि ? पहिलेजस्तै सरर दिमागमा फुर्छन् कविता ?

–दुईटा कुरा हुन्छ । पहिला चाहिँ केहीले छुनासाथ सरर आउँथ्यो । रोमाञ्चित भइन्थ्यो । अर्थात पहिले भावना बढी हुन्थ्यो । अहिले चाहिँ चिन्तन बढी हुन्छ । अनुभव र अनुभूति धेरै गरियो । अध्ययन पनि भयो । त्यसैले एउटा दृष्टिकोण बनिसकेको हुन्छ । त्यसैले अहिले पहिलेको जस्तो भावनाले मात्रै छोप्दैन ।

कति वर्षको उमेरदेखि कविता लेख्न थाल्नुभएको ?

–१५ वर्षको उमेरदेखि लेख्न थालें । पढाइमा लागेपछि केही कम भयो । फेरि पछि लेखनलाई जोड दिएँ ।

भनेपछि सानैदेखि चलाख हुनुहुन्थ्यो ?

–बुबाले त्यसै भन्नुहुन्थ्यो । म टाठो र चलाख थिएँ रे । गणितमा चाहिँ कमजोर थिएँ ।

केटाकेटीमा कत्तिको चकचके हुनुहुन्थ्यो ?

–डेढ वर्षको उमेरमा आमा स्वर्गीय हुनुभएकाले होला म अलि बढी भावुक थिएँ । त्यसैले त्यति चकचके भइँन । अरु केटाकेटीले गरेजस्तो रमाइलो त गर्थें । तर, आमा छैन भन्ने कुराले बेलाबेला झस्काउँथ्यो । त्यसैले उदण्डखालको म थिइँन । मलाई कसैले पनि नराम्रो रुपमा नलिऊन् भनेर म सधैं सचेत हुन्थें ।

कविता लेख्न थालेपछि चर्चा बढ्न थाल्यो होला । प्रेम प्रस्ताव राख्ने र मरिहत्ते गर्ने पनि धेरै थिए होला है ?

–आजभोलिको मान्छेले यो प्रसंग उठाउँछन् । अहिले प्रेम पनि हुन्छ, विवाह पनि हुन्छ । छोराछोरी नातिनातिना सबै हुन्छन् । तर, हाम्रो पालामा त बाबुआमाले बिहे गरिदिन्थे । सहबासबाटै प्रेम शुरु भएर बढ्दै जान्थ्यो । यो स्वभाविक प्रकृया हो ।

28 Comments on “हाम्रो पालामा सहवासबाट प्रेम शुरु हुन्थ्यो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु