६ पुस, काठमाडौं । एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
शुक्रबार भएको फाइनल भिडन्तमा क्षेत्र नम्बर ४ भैरहवालाई ६ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि उचालेको हो । प्रतियोगितामा अपराजित रहेको एपीएफले उपाधिसँग १ लाख ५० हजार पाएको छ भने उपविजेता भैरहवाले १ लाखमा चित्त बुझाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले व्याटिङ थालेको भैरहवाले फैजुल रहमानको शतकको ५० ओभरमा सबै विकेट गुमाएर २ सय २१ रन बनायो । १ सय २४ रन बनाएका उनी म्यान अफ दि म्याच घोषित भए । उसका अन्य व्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । एपीएफका शरद भेसवाकरले ३ विकेट हात पारे ।
जवाफमा मैदान उत्रिएको एपीएफले ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । पहिलो विकेटका लागि परेस लोहनी र सुवास खकुरेलले ६० रनको साझेदारी गरे । पहिलो विकेटका रुपमा परेस २५ रनमा आउट भए भने दोस्रो विकेटका रुपमा संजय श्रेष्ठ मात्र २ रन जोडेर पभेलियन फकिए । त्यसपछि आएका ज्ञानेन्द्र स्कोर बोर्डमा ९८ रन हुँदा व्यक्तिगत २३ रनमा आउट भए ।
त्यसपछि पारस खड्का र सुवासले एपीएफको पारी सम्हाले । एपीएफको १ सय ३९ रन हुँदा सुवास ६० रनमा आउट भए । त्यसपछि पारसले सरद भेसवाकरसँग मिलेर ८८ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । पारस ८० र सदर २९ रनमा नटआउट रहे ।
प्रतियोगितामा एपीएफका वसन्त रेग्मी उत्कृष्ट बलर घोषित भए । उनले ४ खेलमा १२ विकेट लिए । दुई शतक हानेका वीरगञ्जका अमित श्रेष्ठ उत्कृष्ट व्याट्सम्यान बने भने भैरहवाका सागर पुन प्लेयर अफ दि सिरिज र फैजुल रहमान प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । सागरले २० हजार तथा श्रेष्ठ र रेग्मीले १५/१५ हजार पाए ।