७ पुस, काठमाडौं । रानीपोखरी कर्नर टिम आरसीटी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै आरसीटी ८ खेलबाट २० अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो ।
दोस्रो स्थानमा रहेको थ्रीस्टारको एक खेल कम खेलेको छ र उसको १८ अंक छ । एपीएफ भने ८ खेलबाट ९ अंकका साथ नवौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आरसीटीले १९ औं मिनेटमा ओलावलेको गोलबाट अग्रता लियो । गणेश लावती विनै मैदान उत्रिएको एपीएफले गोल गर्ने आकर्षक मुभ बनाउन सकेन । खेलको ५८ औं मिनेटमा सुदिप दोहोरो पहँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएपछि एपीएफ थप दबावमा आयो ।
खेलको ७० औं मिनेटमा एपीएफका श्याम नेपालीले गोल गरे पनि रेफ्रीले अफसाइड दिए । खेलको ८३ औं मिनेटमा अमर डंगोलले आरसीटीको अग्रता दोब्बर पारे भने ८४ औं मिनेटमा ओलावलेले गोल गर्दै ३-० को अग्रता दिलाए । खेलको ९० औं मिनेटमा टोपबहादुर विस्टले एपीएफका लागि सान्त्वना गोल फर्काए । खेलको अन्तिम मिनेटमा आरसीटीका अमरले दोहोरो पहँलो कार्डसँगै रातो कार्ड खाएका थिए ।
अर्को खेलमा न्यूरोड टिम एनआरटीले बौद्ध क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै ८ खेलबाट १४ अंकका साथ आठौं स्थानमा उक्लिएको छ । समान खेलबाट १ अंक मात्र जोडेको बौद्ध पुछारमा छ ।
खेलमा बौद्धले एनआरटीलाई ३५ मिनेटभन्दा रोक्न सकेन । ३६ औं मिनेटमा अकिनेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । दोस्रो हापको सुरुमा नै बौद्धको राजन अधिकारीले बराबरी गोल फर्काए । तर, त्यसको दुई मिनेटमा नै बौद्धको गोलरक्षकले अकिनेलाई लडाएपछि एनआरटीले पेनाल्टी पायो ।सेगनले पेनाल्टीमा गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए ।
बौद्धमाथि हावी भएको एनआरटीका लागि ६९ औं मिनेटमा लक्ष्मण रुचालले गोल गरे भने ८३ औं मिनेटमा अकिनेले व्यक्तिगत दोस्रो गोल गर्दै एनआटीलाई ४-१ को जित दिलाए ।