७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो दोस्रो कार्यकालमा विदेशमन्त्रीको जिम्मेबारी जोन केरीलाई दिने घोषणा गर्नु भएको छ ।
केरीले हलारी क्लिनको स्थान लिनु हुनेछ । केरी विदेशमन्त्रीको भूमिकाका लागि तयार रहेको र उनले विश्वभरका नेताहरुको सम्मान र विश्वास जित्ने ओबामाले विश्वास व्यक्त गर्नु भएको छ ।
केरी सन् २००४ मा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदबार हुनुहुन्थ्यो र हाल सीनेटको विदेशसम्वन्धी समितिका अध्यक्ष हुनुहुन्छ । विदेशमन्त्रीका दावेदारका रुपमा हेरिएका राष्ट्रसघंका लागि अमेरिकी राजदूत सुसन राइसले हालै मात्र आफ्नो नाम फिर्ता लिनु भएको थियो ।
लिबियामा अमेरिकी दूताबासमा भएको आक्रमणमा राजदूतसहितका कूटनीतिज्ञ मारिएपछि राइस रिपब्लिकन पार्टीको आलोचनाको केन्द्र बन्नु भएको थियो ।
ह्वाइट हाउसमा सम्वोधन गर्दै ओबामाले सीनेटले केरीको नाममा मन्जुरी दिने विश्वास व्यक्त गर्नु भएको छ । नोभेम्बरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति ओबामाको मन्त्रिपरिषद्मा स्थान बनाउने केरी पहिलो व्यक्ति हुन् । बीबीसीका अनुसार रक्षामन्त्री लियोन पनेटाका स्थानमा नयाँ रक्षामन्त्री आउने छन् ।
सन् २००४ मा जर्ज डब्लु बुसविरुद्ध राष्ट्रपतिको चुनाव लडेका केरी २००८ मा विदेशमन्त्रीको दौडमा हुनुहुन्थ्यो तर, हिलारी क्लिन्टनले बाजी मार्नु भएको थियो ।