अमुर्त तर अब्बल : समयका चोइटा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अमुर्त तर अब्बल : समयका चोइटा

मिलन संग्रौला

साहित्यक विधाहरुमा सबैभन्दा जटिल परिभाषा कविताकै परिभाषा हुनुपर्छ । कविता मात्र होइन कविता लेख्ने कवि पनि उस्तै जटिल हुन्छन् । अरुले हत्पत् बुझ्ने साम्यर्थ राख्दैनन् । तर जसले बुझेर कवि र कविताभित्र पसेर भिज्न सक्छ , उसले अद्धितीय रस्वादन गर्न सक्छ ।

हुन त प्रत्येक व्यक्ति जीवनमा एकपल्ट कवि भइटोपल्छ । तर सबैमा त्यो कवित्व टिकिरहँदैन । थोरै टिकेकाहरु पनि कोही रहरमा टिकेका हुन्छन् त कोही लहडमा । तिनीहरु पनि रहर र लहडको म्याद सकिएपछि कवि भइरहन सक्दैनन् । जो रहर र लहडभन्दा माथि उठेर साधना, मात्र साधनामा लिप्त भएर आफ्नै संसारमा कविता कोर्छन्, तीचाहिँ वास्तविक कवि हुन् ।

यस्ता थोरै वास्तविक कविमध्येका एक तर चर्चाबाट ओझेल कवि हुन् अञ्जीर प्रधान । जस्तो व्यक्तित्व त्यस्तै कवित्व र जस्तो कवित्व त्यस्तै कविता । अमुर्त तर अब्बल । उनका कविता पढ्न थाल्नु भनेको महासागरमा हेलिनुबराबर हो । जो पौडिएर सकुशल तर्न सक्छ उसले मात्र कविताको वास्तविक अर्थ बुझ्न सक्छ, आनन्द उठाउन सक्छ ।

नेपाली साहित्यको इतिहासमा एक समय हलचल ल्याउन सफल ऐतिहासिक बुटपालिस आन्दोलनका अभियन्ता मध्येका एक कवि हुन् अन्जीर प्रधान । उनका समकालिनहरु कति चर्चाको शिखरमा पुगे तर उनी कहिल्यै चर्चामा आएनन् । कारण उनी चर्चालाई पछ्याउन नचाहने कवि हुन् । एकान्तप्रेमी, आफ्नै दुनियाँमा रमाउने, साधनामा डुबेपछि हत्पत् निस्कन नचाहने उनको व्यक्तित्वका कारण उनी साहित्यक वृत्तमा छाउन सकेनन् । यद्यपि उनको सिर्जनात्मक स्तर र उनका कविताले बोक्ने शक्तिलाई मनन गर्ने हो भने उनी एक अब्बल कवि होइनन् भनेर कसैले अस्विकार गर्न सक्दैन ।

यिनै कवि अन्जीर प्रधान कुनै छोटा र कुनै लामा ७ वटा कविताहरुको संगालो : “समयका चोइटा” लिएर आइपुगेका छन् ।

यस संग्रहमा संग्रहित कविताहरुमा कुनै खास विषय उठान गरिएको छ वा यस्तो अर्थ खुलेको छ भनेर किटान गर्न सकिने अवस्था छैन । कविता पढ्दै जाँदा एकथोक बुझ्दै गरेको पाठक बीचमा पुगेपछि अर्कैथोक बुझ्न सक्छ । सकिदाँ अर्कै निष्कर्षमा पुग्छ । त्यतिमात्र होइन प्रत्येक कवितासँग दोहोर्याए नै पिच्छे फरक फरक अर्थबोध गराउन सक्ने खुबी रहेको छ ।

कविता पढ्दै जाँदा कविले आफैलाई व्यगं हानेजस्तो लाग्छ सुरुमा, तर केही समयपछि त्यो व्यगं पाठक स्व्ायमंतिर तेर्सिन्छ । हुँदाहुँदा त्यो सम्पूर्ण मानव प्रवृत्तिलाई नै झटारो हान्न थाल्छ । विल्कुल मौलिक शैली, विम्ब र प्रतिकको आफ्नै किसिमको अनौठो संयोजन र कल्पनाशीलताको माध्यमबाट सशक्त ढंगले यो युगका पीडालाई मुखरित गर्न सफल भएका छन् कवि । सबैजसो कवितामा प्रथम वाचकको प्रयोग भए पनि कहिँ पनि कविले आफ्नो व्यक्तिगत कुण्ठा वा आक्रोस पोखेका छैनन् । उनका कविताले यस युगमा प्रत्येक मान्छेलाई कुनै न कुनै रुपमा सम्बोधन गर्ने सामर्थ्र्य राख्छन् ।

उनका कविताहरु अमुर्त चित्रजस्ता छन् । झट्ट हेर्दा केही नबुझिने अमुर्त चित्रहरुजस्तै उनका कविताहरु पनि सरसर्ती पढ्दा नबुझिन सक्छन् । अमुर्त चित्र बुझ्न पाठकमा धैयर्ता र बौद्धिकता दुवै चाहिएझैं उनका कविता बुझ्न पनि यि दुवै कुरा अनिवार्य छन् ।

आजको युग र मान्छेहरुको विसंगतिपूर्ण अवस्था उनका कविताहरुको मुख्य केन्द्र भने मान्न सकिन्छ । निकै लामो तर शक्तिशाली कविता “शुन्यतामा उठेका रागहरु” मा उनी यसरी पोखिन्छन् :

धेरै हुल भए पनि शहरमा

रागहरु प्रक्षेपित छन् ,

यहाँ कुइरो लागेको दिनजस्तो

हराएर मिल्किएको सडकमा

जथाभावी बोलेर आर्कषण

खोजेको मान्छेजस्तो

विज्ञापन ठोकेर आफ्नै छातिमा

जसले जे गर्यो, त्यो ठिक छ

अलिक अघि बढेपछि यही कवितामा उनी भन्छन् :

‘जिउँदो लासको लागि

यहाँ राम्रो घर हरे’

यतिबाट प्रष्ट हुन्छ कि उनी कुन् स्तरबाट यस युग र मान्छेको चित्रण गर्न सक्षम छन् ।

“समयका चोइटा” कवितामा उनी आजका मान्छेहरुको पीडा ओकल्छन् र यी पीडा हटाउन आएका प्रभुहरु : बुद्ध वा जेसस् आदिका विचारहरु समयसँगै कसरी चोइटिएर सामान्यकृत भइसकेका छन् भन्ने संकेत गरेका छन् ।

बुद्ध प्रभो, तिमीले दिएका

ध्यानका सूत्रहरु

तिमीले दिएका मूल्य

अनन्त सत्य

कहीँ शब्दभारले पनि

स्वतन्त्रता सम्मवद्ध,

नत्र यी पनि साधारण मानिसको

कुराजस्तो हुन्छ प्रभो ।

समग्रमा आफंैलाई भनेजस्तो गर्दै सारा संसारलाई भन्ने, युगका विसंगति र पीडालाई आफ्नै निजात्मक शैलीमा उतार्ने उनका कविताहरुको मुख्य विशेषता मान्न सकिन्छ । उनका कविताहरुको एउटै कमजोरी हो : ती सजिलै बुझिदैनन् । साधारण पाठकलाई सजिलै ग्राहृय हुन सक्दैन । र जसले आँट गर्छ एकैचोटिमा किमार्थ सक्दैन ।

जमाना प्रचारको छ । सम्बन्धको छ । जसले प्रचार र सम्बन्धको जालो फ्याक्न सक्यो उसले चर्चा पायो । यस्तो बेला शक्तिशाली कविता लिएर देखा परेको अन्र्तमुखी कवि अन्जीर प्रधानका कवितालाई कुनै दिन समयले न्याय देला । उनका कविताहरुको कुनै दिन उचित मुल्याङ्कन हुने नै छ । हुन त साधनामा रम्ने यी कविलाई चर्चाको मतलब नभए पनि आउँदा दिनमा उनीबाट अझ सशक्त कविताको आश गर्न सकिन्छ ।

2 Comments on “अमुर्त तर अब्बल : समयका चोइटा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु