मान्छेले हिँड्ने जीवनका बाटामा भयको महाजंगल छ । यही महाजंगलमा छ समाज, देश, अन्तराष्ट्रिय । यही महाजंगलमा अहम्, लोभ, ईष्र्या, क्रोधजस्ता सानासाना जंगल छन् । त्यसैको पर्तिर दुःखको ठूलो कालो नदी छ ।
कृष्णप्रसाद भण्डारी मनोरोग पुस्तकमा लेख्छन् “जुन व्यक्तिहरूमा रोजगारीको असुरक्षाको भावना धेरै हुन्छ, त्यस्ता व्यक्तिहरूमा आत्महत्याको प्रवृत्तिको विकास धेरै हुन्छ ।” यहाँ रोजगारी भन्ने आधार रेखा हो । यो रेखाको तलमाथि धेरै प्रभामण्डल घुमिरहन्छ । रोजगारी गुमेपछि उसलाई सबैभन्दा पहिला भोकले छोप्छ ।
हामीले यी अनुत्तरित प्रश्नको छायाँसित संवाद गरिरहेका छौँ । हामी तनाव, अवसाद, आत्महत्या, पलायन सबैलाई अगाडिपछाडि लगाएर हेरौ । यो अहिलेको विश्वको समस्या हो । मनोविज्ञानको चुनौति हो । विश्व स्वास्थ्य सङ्गठनको सन् १९९९ को तथ्याङ्क अनुसार मानवजातिको उत्पादनशीलताको व्यवधानमूलक प्रमुख १० रोगमध्ये ५ वटा त मानसिक रोगहरू नै पर्छन् भनेर घोषणा गर्यो । ५ प्रतिशत मानसिक रोगीमध्ये ३ प्रतिशत भयको रोगी हुन्छन् । किनभने तनाव, अवसाद, पलायन सबै भयको कारणले जन्मिन्छ । यही फैलिँदै, विषाक्त हुँदै मान्छे आत्महत्या गर्न पुग्छन्, घरबार छोडेर हिँड्छन् । विभिन्न रोगमा रोग बर्द्धक हुन्छ । कति भयरोगी हुन्छन् । मान्छेले विस्वास गर्न गाह्रो छ भयरोगीको बारेमा । हामी सोचिहेरौँ । के भयरोगी हुन संभव छैन ? हिजो पनि त्यस्तै भएको थियो मनोविज्ञानको आविष्कार नभएन्जेल मनोरोगीहरूलाई बाँधेर राख्ने, कुट्ने, यातना दिने, बाटोमा लगेर छोड्ने, भिख माग्न लगाइने गरिन्थ्यो । कतिपय त्यस्ता अपाङ्ग, सुस्त मनस्थिति वा पागललाई राजदरबार, सामन्तहरूको घरमा रमाइलोको लागि पालिन्थे ।
रोमन सम्राट नीरोका शिक्षक सेनेकाको भनाइअनुसार नीरोकी श्रीमतीले एउटा अन्धो पागललाई आनन्दभोगको निम्ति पालेकी थिइन् । रोमन साम्राज्यका पछिल्ला दिनहरूमा हासँठटटा र आनन्दको निम्ति पालिने अपाङ्ग र अर्थपागलहरूको सङ्ख्या निकै बढ्दै गएको थियो । एरिस्टोटलले पोलिटिक्स शीर्षकको पुस्तकमा घोषणा नै गरे, “कुनै यस्तो विधान हुनुपर्छ जसले अपाङ्ग वा अङ्गभङ्ग भएका शिशुहरूले बाँच्न नपाउने भन्ने कानुनको तर्जुमा गरोस् ।”
यस्तो अपाङ्ग र पागलहरूप्रति ग्रीक र रोमन साम्राज्यमा प्रचलित रहेका पूर्वाग्रहहरू मध्यकालीन युरोपमा पनि चलि नै रहृयो । वास्तवमा कतिपय यस्ता अपाङ्ग वा पागल, अर्धपागल अहिलेको मनोरोगी नै थिए । तर त्यसबेला यसको पहिचान भएको थिएन । उपचार पद्धति थिएन र राज्यले भार ठान्थ्यो । त्यसैले उनीहरूलाई यातना दिने, श्राप ठान्ने, माग्न लगाउने, मनोरञ्जनको साधन बनाउने, कतै लगेर पुर्ने गर्थे । अहिले यस्ता रोगीहरूको पहिचान भएको छ, उपचार हुँदै आएको छ ।
भयकै कारण सरकारदेखि एक कोषीय जीव चलायमान भएका छन् । हाम्रोमा अझै देख्छौँ मनोरोगीलाई साङ्लाले बाँधेको, गाईवस्तुसित खोरमा थुनेको, सिस्नुपानीले पिटेको महाअन्धकार । यो रोग धेरै गरीब वस्ती, सिमान्तकृत समाज, सबाल्टर्न वर्गमा व्याप्त छ । दिनदिनै मान्छेले गाउँको गरीबदुःखीलाई किचकन्नी, बोक्सीको आरोप लगाएर जलाएर मारेको घटना जताततै घटिरहेको छ, त्यसमा आरोपित मनोरोगी कि आरोप गर्ने ? यो समाज दोषी कि समाजले आदिमकालदेखि चलाएर ल्याएको रुढिवादी र अन्धविस्वास ? रुढिवादी, अन्धविस्वास मनोरोगको कतिको नजिक छ ? रुढिवादी, अन्धविस्वास बढी पालेर बस्ने मान्छेहरू, धर्ममा एकोहोरो कुद्ने मान्छेहरू वा कुनै विचार, राजनीति, खेलमा बढी लाग्ने मान्छेहरू एक किसिमको मनोरोगी नै हुन्छन् । त्यसको मात्रा बढ्दै जाँदा मनोरोगी हुन्छन् र भयरोगी पनि । ‘अन्धविस्वास रोग हो’ भन्ने बारेमा मनोचिकित्सक डा. पुष्प शर्मा भन्छन् “यो एउटा रोग हो । जीवनमा केही गर्न नसक्नेहरूले आफूभन्दा पनि दुःख पाएकाहरूलाई कुटपिट गरेर लिने आनन्द हो यो ।”
धेरै वर्ष अगाडिदेखि हामीले विस्वास पाल्यौ, साधुसन्त, जोगी, देवदूत वास्तवमै हाम्रो कल्याणको लागि धर्तीमा आएको भनेर । उनीहरूको पहिला कदम भय नै हो । जब उनीहरू आफैलाई एक किसिमको भयरोग हुन थाल्यो, चिन्ताले घेर्न थाल्यो, त्यसबाट निस्किन मुक्तिको बाटो हिँडेका भेटिन्छन् । मुक्तिको बाटो कसरी हिँड्ने ? यो उनीहरूका अगाडि प्रश्न बन्यो र प्रवचन गर्दै, अनुभव बाँड्दै घरबार छोडेर, समाज छोडेर जोगी फकिर, भिक्षु, सुफी हुँदै मनको आगो, भय, चिन्ता, पीर बाँड्दै हिँड्न थाले ।
शाक्यमुनि सिद्धार्थलाई समग्रतामा भय थियो । त्यो भयबाट मुक्त हुन घरबार छोडेर हिँडे । मास्लोको आवश्यकताको सिद्धान्त, माल्थसको जनसंख्याको सिद्धान्त, डार्बिनको विकासवाद, माक्र्सवाद सबै नै भयबाट भाग्न, जुध्न, मुक्त पाउन आविष्कार भएका सिद्धान्त हुन् ।
त्यस्तै अस्पताल, प्रहरी, सेना, बिमा, बारुणयन्त्र, संयुक्त राष्ट्र संघको स्थापना, सरकार, संविधान, ऐन, संरक्षण संस्था, धार्मिक केन्द्र सबै भयबाट छुटकारा पाउन स्थापना गरिएका संस्थाहरू हुन् । संसारको सबैभन्दा ठूलो कानुन नै ‘भय’ हो । यदि कुनै कानुनले मान्छेलाई भय पैदा गरेन भने त्यो कानुन निस्त्रिmय हुन्छ, त्यो देश अभागी हुन्छ । आणविक हतियार भयबाट छुटकारा पाउन बनाइएका औषधि हुन् । भयबाट मुक्त हुन जति पनि आविष्कार, निर्माण भएका छन्, अन्तोत्वगत्वा त्यसले झन् विभिन्न प्रकारको भय दिन्छ ।
त्यसैले आदिमकालमा हामीसित खानु, बस्नु र प्राकृतिक शक्तिको सानो भय थियो । अहिले फैलिएर कदमैपछि ठोकिने हुन पुगेको छ । हुन त हामी यसको औषधि खोज्छौ, डाक्टर खोज्छौ, तर यो हामीभित्रबाट निस्किन्छ । हाम्रो सोचाइले उत्पादन गर्ने हानिकारक चेतनाबाट उत्पन्न सोच । केही परिस्थिति, केही वातावरण जोडिन्छ र हामीलाई चिमोट्न थाल्छ । यस्ता धेरै छन् मानवीय स्वभावहरू । आफूले नियन्त्रण गरे आशीर्वाद दिने, उसले नियन्त्रण गरे ज्यानै लिने । यी सबैको पछाडि भयको ओडार छ । त्यो मानसिकताको ओडार हो-आफैमा निर्भर गर्ने ।
हाम्रो समाजमा दिनै आत्महत्याको समाचार आउँछ । हामी ऋण तिर्न नसकेर, पारिवारिक सम्बन्ध बिग्रेर अथवा कुनै समस्यामा परेर मान्छेले आत्महत्या गरेछ भनेर चित्त बुझाउँछौँ । अगाडिको पर्दा उठाएर भित्रै छिर्यौ भने लाज, प्रतिष्ठा, मानमर्यादा, अपमान भेटाउँछौँ । अझै अर्को पर्दा खोलेर भित्र छिर्यौ भने अँध्यारो देख्छौँ । हामी थाहा पाउन सक्दैनौँ त्यहाँ के छ भनेर । कसैले त्यही अँध्यारोलाई इज्जत मान्लान्, कसैले समाज । यो नै मान्नुपर्छ भन्ने छैन । किनभने त्यो अँध्यारोमा हामी जेलाई पनि ‘भूत’ बनाउन सक्छौँ, तर्सिन सक्छौँ । त्यो भूत कहीँबाट निस्केको हुँदैन, हाम्रो मनले निकाल्छ, खेलाउँछ र तर्साउँछ । त्यहाँबाट निस्किने सिलसिलामा हत्या, हिंसा, युद्ध, लोभ, क्रोध सबै हुन सक्छ ।
कुनै कुनै बुद्धले भयलाई ‘दुःख’मा लगेर बाँड्ला । कुनै सात्रेले ‘अस्तित्व’मा लगेर बिसाउँला । कुनै माक्र्सले ‘द्वन्द्वात्मक भौतिकवाद’मा लगेर टुङ्गग्याउँला । कुनै ईश्वरको दूतले परमेश्वरको रूपमा बताउँला । त्यो अँध्यारो हाम्रो जीवनको रंगमञ्चमा जहीँको त्यहीँ हुन्छ । हामी अनेकौँ त्यसलाई, अनेकौँ भ्रम, अनेकौँ शंकामा राखेर आ-आˆनै संरचनाअनुसार व्याख्या गरिरहेका हुन्छौँ । आफूले बुझेकोलाई संसार भन्छौँ, जीवन भन्छौँ र आफूले सोचे अनुसारको ब्रहृमाण्ड बनाउन खोज्छौँ । आफूले मानेको संसार बनाउन शक्ति बटुल्छौँ र विमत राख्नेलाई शक्तिले हान्छौँ । युग युगमा यस्तै हुँदै आएको छ । मान्छेहरू विभिन्न बहानामा शक्तिले हानाहान गरिरहेछन्, भयले भागिरहेछन् । आज पनि विद्यमान छ ।
भयको लक्षण भएको रोगीलाई पनि मनोरोगी मान्छ मनोविज्ञान । तर यो मनोरोग भयको कारणले फैलिन्दै गएको समस्या हो । यस्तै हुन्छन् मनोरोगका बाटोहरू मानवीय स्वभावबाट लुकेर आउने । यही समस्याबाट भयभीत हुन्छन् मान्छे । समस्या ठूलो मान्ने कि सानो आफैमा भर पर्छ । यो कतैबाट आएको हुँदैन, मनको बाघ भएर निस्केको हुन्छ । यसलाई थुमथुमाउने, खेदाउने, दबाउने, तपाई हामी आफै हौँ । सानो समस्यालाई पहाड बनाएर समस्यामा फस्दै जाने हामी धेरै छौँ समाजमा ।
पहाडजत्रो समस्यालाई ढिस्काना बनाउँदै सम्याएको पनि धेरै उदाहरण छन् । यही पहाडलाई ढिस्काना बनाउने प्रयास हुन्छ, दर्शन, धर्म, विज्ञान सबैमा । मनोरोगको उपचारको तरीका पनि यही हो । त्यसकारण भयलाई कम गर्नासाथ धेरै मनोरोगको आफै समाधान हुँदै जान्छ । भयवादमा यही कुराको विस्तृत व्याख्या छ ।
right
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
भय आधारभूत मानवीय प्रवृतिहरु मध्ये एक हो. इश्वरले मानव मनमा भयको साफ्टवेयर किन हाल्यो ? विचार गरौं न. भय न भई दिएको भए मानव असुरक्षित हुन्थ्यो. जीवन असुरक्षित हुन्थ्यो. मानिसले साहस नगर्न हुने कुरामा साहस गर्ने परिणाम घातक हून सक्थ्यो. यसैले परम-पिता परमात्माले हाम्रो मनमा भयको प्रवृति हालनु भयो. तर भयको साथमा विवेक, साहस र अन्य वृतिहरु पनि मानव मनमा हुन्छ. ती वृतिहरुको विकासबाट भय जनित रोगहरुमा विजय पाउन सकिन्छ. अष्टांग योग नै मार्ग हो.
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
Atyantai sundar, sandarbhik lagyo.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]