८ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधीको दावेदार थ्रीस्टार र मच्छिन्द्रले बराबरी खेलेका छन् । आइतबार भएको खेलमा १-१ गालेको बराबरी खेल्दै थ्रीस्टार र मच्छिन्द्रले अंक बाँडेका हुन् ।
मच्छिन्द्रले थ्रीस्टारलाई बराबरी रोकेपछि यसको प्रत्यक्ष फाइदा शीर्ष स्थानमा रहेको रानीपोखरी कर्नर टिम आरसीटीलाई पुगेको छ । आसीटी ८ खेलबाट २० अंकका साथ शीर्ष स्थानमा छ । १९ अंक जोडेको थ्रीस्टार दोस्रो र १७ अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको मनाङ मस्र्याङ्दीको १५ अंक छ र उसले एक खेल कम खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले सुरुमा नै अग्रता लिने मौका गुमायो । दोस्रो मिनेटमा नै कर्ण लिम्बुको प्रहार बारमा लागेर फर्कियो । १८ औं मिनेटमा मच्छिन्द्रले अर्को मौका गुमायो । विशाल राईको प्रहार बारमा लागेर फर्कियो । खेलको २१ औं मिनेटमा थ्रीस्टारले गोल गर्यो । फेमीले थ्रीस्टारलाई अग्रता दिलाएका हुन् ।
तर, दोस्रो हापको सुरुमा नै मच्छिन्द्रले बराबरी गोल फर्कायो । कप्तान दीपक राईले ४७ औं मिनेटमा थ्रीस्टारका रक्षक किरण चेम्जोङको टाङबाट बललाई जाली चुमाए । खेलको ६६ औं मिनेटमा इदि्रस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मच्छिन्द्र १० खेलाडीमा सिमित भयो ।
१० खेलाडीमा सिमित भएपनि आक्रामक खेल खेलेको मच्छिन्द्रले केही गोल गर्ने मौका गुमायो भने थ्रीस्टारले पनि अग्रता लिने केही अबसर खेल फलेको थियो ।
अर्को खेलमा हिमालयन शेर्पाले दोस्रो जित हात पार्ने क्रममा सरस्वती क्लबलाई पराजित गरेको छ । एक सून्य गोल अन्तरले पछि परेको स्थिति उल्टाउँदै हिमालन शेर्पाले सरस्वती क्लबलाई ३-१ को गोल अन्तरले पराजित गरेको हो ।
खेलको १२ औँ मिनेटमा सरस्वतीका रमेश दंगालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६१ औँ मिनेटमा हिमालयनका पुकार गहतराजले बराबरी गोल फर्काए भने त्यसको तीन मिनेट वित्न नपाउँदै हेमन गुरुङले गोल गर्दै २-१ को अग्रता दिलाए ।
खेलको ६६ औँ मिनेटमा मिकेल दोहोरो पहेँलो कार्ड खाँदै मैदानवाट बाहिएपछि सरस्वती १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै ७१ औँ मिनेटमा धिरज तामाङले गोल गरे र हिमालयनलाई ३-१ को जित दिलाए ।
जितपछि हिमालयन ७ अंकका साथ लिग तालिकाको १२ औँ स्थान उक्लिएको छ भने पराजित सरस्वती ८ अंकका साथ लिग तालिकाको ११ औँ स्थानमा यथावत छ ।