९ पुस, काठमाडौं । सहिद स्मारक ए भिडिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीले कप्तान अनिल गुरुङको हृयाट्रिकमा मध्यपुर युथ एशोसिएसनलाई पराजित गरेको छ ।
सोमबार भएको खेलमा मनाङले मध्यपुरलाई ४-१ ले पराजित गरेको हो । जितपछि मनाङ ८ खेलबाट १८ अंकका सात तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको आसीटीको २० तथा दोस्रो स्थानमा रहेको थ्रीस्टारको १८ अंक छ । ७ अंक जोडेको मध्यपुर भने रेलिगेसन जोनमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सुरुमा केही दबावमा आएको मनाङ २१ औं मिनेटमा लय आयो । २१ औं मिनेटमा शिव श्रेष्ठले गोल गर्दै मनाङलाई सुरुवाति अग्रता दिलाए । २७ औं मिनेटमा कप्तान अनिल गुरुङले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । दोस्रो हापको सुरुमा नै अनिलले ब्यक्तिगत दोस्रो गोल गर्दै टालीलाई ३-० को अग्रता दिलाए । सविन्द्र श्रेष्ठको फ्रिकिकमा अनिलले हेडगोल गरेका हुन् ।
खेलको ७८ औैं मिनेटमा मध्यपुरले पेनाल्टी पायो र निराजन रायमाझीले गोल गर्दै मनाङको अग्रता ३-१ मा झारे । निकै लयमा देखिएका अनिलले ८४ औं मिनेटमा हृयाटि्रक पूरा गर्दै टोलीलाई ४-१ को अग्रता दिलाए । खेलको अन्त्यमा मनाङका सुजल श्रेष्ठ वान भर्सेज वानमा गोल गर्न चुके ।
अर्को खेलमा संकटा र जाउलाखेलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि संकटा ८ खेलबाट १३ अंकका साथ सातौं स्थानमा छ भने ८ अंक जोडेको जाउलाखेल ११ औं स्थानमा रहेको छ ।