९ पुस, काठमाडौं । राजधानीमा जारी टी-२० राष्ट्रिय क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लब र बैतडीले लगातार दोस्रो जित हात पारेका छन् भने पोखरा र भैरहवाले पहिलो जित हात पारेका छन् ।
पुल्चोकमा भएको खेलमा एपीएफले क्षेत्र नम्बर २ वीरगञ्जलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ थालेको वीरगञ्जले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १२ रन बनायो । उसका लागि शिव तन्डुकारले ३२ तथा अमित श्रेष्ठले २९ रन बनाए । एपीएफका बसन्त रेग्मीले २ विकेट लिए ।
जवाफमा एपीएफले म्यान अफ दि म्याच सुवास खकुरेलको अर्धशतकको मदतमा १५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । खकुरेलले ३८ बलमा २ छक्का र ४ चौकाको मदतमा अर्धशतक बनाएका हुन् । वीरगञ्जले कुमार थापाले ३ तथा अविनाष कर्णले २ विकेट लिए ।
यस्तै क्षेत्र नम्बर ६ बैतडीले क्षेत्र नम्बर ५ जनकपुरलाई ८७ रनले पराजित गर्यो । पहिले व्याटिङ थालेको बैतडीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनायो । उसका लागि म्यान अफ दि म्याच विनोद भण्डारीले ८२ रन बनाए भने प्रेम तामाङले ४४ रन बनाए । जनकपुरका समिर नेपालले ३ विकेट लिए ।
१ सय ९६ रनको लक्ष्य पछ्याएको जनकपुर १७ ओभरमा १ सय ८ रन बनाए । उसका लागि कुमार प्रशोनले अविजित ३५ तथा अनिल मण्डलले ३० रन बनाएपनि हार टार्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा विनोद लामाले ४ तथा चन्द्र साउद र भुवन कार्कीले समान २-२ विकेट लिए ।
अर्को खेलमा क्षेत्र नम्बर चार भैरहवाले क्षेत्र नम्बर ३ काठमाडौंलाई १२ रनले पराजित गर्यो । पहिले व्याटिङ थालेको भैरहवाले सागर पुनको अर्धशतकको मदतमा २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनायो । ३५ बलको सामना गरेका सागरले १ छक्का र ८ चौकाको मदतमा अर्धशतक बनाएका हुन् ।
जवाफमा मैदान उत्रिएको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाउन सक्यो । प्रमोद बस्नेतले ३९ र इन्द्रकुमार मर्हजनले ३१ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा सागर पुनले ५ तथा लालबहादुर अधिकारीले २ विकेट लिए ।
पहिलो जित हात पार्ने क्रममा क्षेत्र नम्बर ८ पोखराले क्षेत्र नम्बर ५ नेपालगञ्जलाई ४६ रनले पराजित गरेको छ । पहिले ब्याटिङ थालेको पोखराले दिपेश खत्रीको अर्धशतकको मदतमा २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन बनायो । ५१ रन बनाएका दिपेश म्यान अफ दि म्याच घोषित भए ।
जवाफमा मैदान उत्रिएको नेपालगञ्जले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४ रन मात्र बनाउन सक्यो । उसका लागि महेश क्षेत्रीले ५८ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा राहुल विश्वकर्माले ४ विकेट लिए ।
NE KA PA
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]