१० पुस, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लब राजधानीमा जारी टी-२० राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको समूह चरणको तेस्रो खेलमा क्षेत्र नम्बर १ विराटनगरलाई ८४ रनले पराजित गरेको एपीएफ ३ खेलबाट ६ अंकका साथ समूह ए बाट अन्तिम चारमा पुगेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले व्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५९ रन बनायो । उसका लागि परेश लोहनीले ३७, बसन्त रेग्मीले ३५ र सुवास खकुरेलले ३४ रन जोडे । विराटनगरका मंजित श्रेष्ठ र पुष्प थापाले समान २-२ विकेट लिए ।
१ सय ६० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएकेा विराटनगर १४ दशमलव ४ ओभरमा ७५ रन जोड्दा अल आउट भयो । उसका लागि महबुब आलमले २७ र पुष्प थापाले १८ रन जोड्नु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा म्यान अफ दि म्याच बसन्त रेग्मीले ३ तथा संजम रेग्मीले २ विकेट लिए ।
प्रतियोगितामा क्षेत्र नम्बर २ वीरगञ्जलाई ५ विकेटले पराजित गर्दै क्षेत्र नम्बर ३ काठमाडौंले पहिलो जित हात पारेको छ । हारपछि ३ खेलबाट अंकका खाता खोल्न नसकेको वीरगञ्ज समूह चरणबाटै बाहिरिएको छ ।
पहिले व्याटिङ गरेको वीरगञ्जले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन बनायो । जवाफमा काठमाडौंले अन्तिम ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि म्यान अफ दि म्याच रोविन जोशीले ४७ र प्रमोद बस्नेतले ३५ रनको योगदान दिए ।