बर्डफ्लु लागेका कुखुरा रातारात मासु पसलमा ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बर्डफ्लु लागेका कुखुरा रातारात मासु पसलमा !

११ पुस, काठमाण्डौ । पशु स्वास्थ्य निर्देशनालयको रेपिड रेस्पोन्स टोलीले बर्ड फ्लु फेला पारेको फार्मबाट रातारात सबै कुखुरा गायब गरिएको छ । सञ्चालकले सबै कुखुरा गाडेको बताए पनि गाडेको प्रमाण फेला परेको छैन्  । निर्देशनालयको टोलीले त्यसरी फ्लु लागेका कुखुरा रातारात काठमाण्डौका मासु पसलमा पुर्याइएको र ग्राहकका घरसम्म पुगेको हुनसक्ने अनुमान गरेको छ ।

काठमाडौंस्थित श्री मन्जु फिड एन्ड पोल्ट्री इन्डस्ट्रिजमा मंगलबार पुगेको विज्ञ टोलीलाई सञ्चालकले कुखुरा देखाउन सकेनन् । फार्ममा करिब २ हजार १ सय ३५ कुखुरा थिए । सर्भिलेन्स गर्ने  चिकित्सकको प्रतिवेदनअनुसार अघिल्ला दुई दिनमा क्रमशः पाँच सय र डेढ सय कुखुरा मरेको देखिन्छ । करिब डेढ हजार बर्ड फ्लु लागेका कुखुरा बजार पठाइएको शंका गरिएको बुधबारको कान्तिपुर दैनिकले छापेको छ ।

निर्देशनालयका प्रवक्ता डा. नारायणप्रसाद घिमिरेका अनुसार अनुगमन गर्दाताका फार्ममा कुखुरा मर्दासमेत धनीले सरका पशु चिकित्सकलाई फार्मभित्र प्रवेश गर्न अवरोध गरेका थिए । बर्ड फ्लु रोग नियन्त्रण आदेश २०६४ अनुसार आफूखुसी त्यस्ता रोगी पन्छी नष्ट गर्न पाइन्न ।

सञ्चालकले बर्ड फ्लु लागेका कुखुराहरू आफैंले नष्ट गरेको दाबी टोलीसँग गरे पनि त्यसको पुष्टि हुन सकेको छैन । टोलीले साढे १९ हजार अन्डा भने नष्ट गरेको छ । कृषि मन्त्रालय स्रोतले संक्रमित कुखुरा रातारात काठमाडौंको कोल्ड स्टोरहरूमा पठाइएको दाबी गरेको छ । उक्त पोल्ट्री इन्डस्टिजको रामकोट गाविस-६ स्थित फार्म र काठमाडौं नगरपालिका-१३ बाफलस्थित ह्याचमा संक्रमणमुक्त प्रक्रिया अपनाउन दुईवटा टोली खटिएका थिए ।

महानगरपालिकास्थित ह्याचबाट फार्म करिब डेढ किलोमिटर टाढा छ । टोलीका अनुसार फार्ममा उत्पादित अन्डा ह्याचमा राखिन्छ र त्यहाँबाट चल्ला उत्पादन गरेर बजारमा बेचिन्छ । ह्याचले सातामा आठ/नौ हजार चल्ला उत्पादन गर्दै आएको प्रवक्ता घिमिरेले बताए । ह्याचबाट १९ हजार चार सय ४० वटा अन्डा नष्ट गर्नुका साथै संक्रमणमुक्त समेत गरिएको छ । बुधबार पनि यो प्रक्रिया अपनाइने छ ।

‘कुखुरा व्यवसायीले असहयोग मात्र गरेनन्, अरूको स्वास्थ्यमाथि नै खेलबाड गरे,’ डा. घिमिरेले भने, ‘कुखुरा पालकले मरेको कुखुरा गाडेको भनेर बताए पनि यो विश्वसनीय देखिन्नँ ।’ सञ्चालकले चिकित्सकलाई फार्ममा पस्नसमेत नदिएको उनले बताए । ‘बर्ड फ्लु निश्चित भएपछि भोलिपल्ट निर्णय गरेर उक्त स्थलमा प्राविधिक टोली जाँदा एउटा कुखुरासमेत नपाउनु शंकास्पद छ,’ उनले भने ।

पन्छीजन्य रोग भए पनि यो मान्छेमा सर्ने खतरा छ । मान्छेमा सरे घातक हुने चिकित्सकको भनाइ छ । संक्रमित पन्छीका सम्पूर्ण र्‍याल, सिँगान र सुलीमा यो भाइरस रहन्छ । यो भाइरस भएको एक ग्राम दूषित सुलीले १० लाख कुखुरा संक्रमित पार्न सक्छ । सुलीसँग टाँसिएको वस्तुहरू ज्ास्तै अन्डा, अन्डाको क्रेट, दानाको बोरा, फार्ममा जाने मानिसको जुत्ता, लुगा, हात तथा सुली टाँसिएको सवा साधनको पांग्रा आदिको माध्यमबाट एक ठाउबाट अर्को ठाउँमा रोग सर्न सक्छ ।

‘मानिसमा ज्वरो आउने, खोकी लाग्ने, घाटी दुख्ने, केहीमा फोक्सोमा गम्भीर असर पर्न गई निमोनिया भएमा रोग घातक हुन्छ’, स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.जीडि ठाकुरले भने, ‘मासु खाने उपभोक्त भन्दा पनि कुखुरा फार्मका कामदार, मासु विक्रेता, बधशालामा काम गर्नेलाई रोग सर्ने बढी सम्भावना छ ।’

One Comment on “बर्डफ्लु लागेका कुखुरा रातारात मासु पसलमा !”
  • ashok prajapati wrote on 26 December, 2012, 3:00

    यस्तो हुँदा पनि केही गर्न नसक्ने कानून हाम्रै देशमा भएकोले गर्दा नै हामी जमताहरु मारमा परिरहेका छौं त्यसैले यसको विरोध गरौं

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु