भुवन तामाङ
मानिसहरुले कहिलेकाहीँ सुन्दै आएको चन्द्रशम्शेरको पालादेखि वैद्यखानाको बाकसमा थन्किएको “चन्द्रनिघण्टु” अब सर्वसाधारणले पनि पढ्न पाउने भएका छन् । दशभागमध्ये प्रथम-भाग प्रकाशित गरी, सिंहदरवार वैद्यखाना विकास समितिले अठारौँ धवन्तरि जयन्तिका दिनदेखि सबैका लागि बिक्री खुल्ला गरेको हो । नेपाल आयुर्वेदिक जडिबुटीको खानी भएको र राणा कालमा समेत आयुर्वेद नै स्वास्थोपचार माध्यम भएकाल पनि चन्द्रनिघण्टु लेखिएको मानिन्छ ।
आयुर्वेदः आयु (जीवन) र वेद (ज्ञान) को मेल आयुर्वेद हो । जीवनको आयु कायम राख्ने जडिबुटी हो र यसको उपयोगिताबारे जान्नु ज्ञान हो ।
नेपालमा आयुर्वेदः परापूर्वकालदेखिनै नेपाल आयुर्वेदमा विश्वमै धनी छ । राजा जनक, बुद्ध आयुर्वेद मर्मज्ञ थिए । अशोकले आयुर्वेद औषधालय बनाए । मालिनी नदी -हाल कणर्ाली) क्षेत्रमा कण्व ऋषि, हिमालय क्षेत्रमा अत्रि, तनहुँमा व्यास, कौशिकी क्षेत्रमा कौशिक ऋषि, विष्णुमती र बाग्मतीबीचमा पुलद ऋषि र म्याग्दी गलेश्वरमा पुलहस्त ऋषि (रावणको हजुरबा) बस्दथे । ती सबै ऋषिले नेपाली जडिबुटिले नै रोगको उपचार गर्दथे । नेपालमा प्राचीनकाल, मध्यकाल र आधुनिककाल शुरुभएपछिपनि आयुर्वेद नै रोग उपचारको माध्यम थियो भन्ने चन्द्रशम्शेरले लेख्न लगाएको ‘चन्द्रनिघण्टु’ प्रमाण हो ।
बैद्यखानाः नेपालको प्राचीनतम् स्वास्थ्य संस्थाको रुपमा ‘सिंहदरवार बैद्यखाना’ राजा प्रताप मल्लको पालामा हनुमानढोका दरवारमा स्थापित भएको हो । पछि राणा प्रधानमन्त्री जङ्गबहादुरले सिंहदरवार सारेका हुन् । बैद्यखानाबाट उत्पादित औषधी राजदरबार र प्रधानमन्त्रीहरुका लागि मात्र उपलब्ध हुन्थे । २००९ देखि राजा त्रिभुवनले सर्वसाधारणका लागि पनि सुलभ पारे । २०१६/०१७ सालदेखि देशका सम्पूर्ण सरकारी आयुर्वेद औषधालयहरुमा निःशुल्क वितरणका लागि पठाउन थालियो । २०५३ देखि देशभरका खुद्रा औषधी पसलमार्फत पनि सर्वधारणलाई औषधीहरु छुटदरमा उपलब्ध गराइँदै आएको छ । नेपाल सरकारको एकमात्र आयुर्वेदिक औषधी उत्पादक संस्था सिंहदरवार बैद्यखाना विकास समितिले लगभग ७५ भन्दा बढि खनिज एवं जान्तव द्रव्य, ५० भन्दा बढी मसला द्रव्य र ३०० भन्दा बढी जडिबुटी द्रव्यहरु प्रयोग गरी १७५ प्रकारका औषधीहरु निर्माण गरी आयुर्वेद विभाग, स्टकिष्ट र वैद्यखानाको काउन्टरबाट पनि सर्वसाधारणलाई उपलब्ध गराउँदै आएको छ । चार शताब्दिभन्दा लामो इतिहास बोकेको वैद्यखानाले शास्त्रीय विधिको आयुर्वेद औषधी तथा पेटेन्ट औषधी समेत उत्पादन गर्दै आएको छ । बैद्यखाना २०५२ सालदेखि भने “सिंहदरवार वैद्यखाना विकास समिति”को रुपमा सेवारत छ । यसलाई मानिसहरु वैद्यखाना भनेर पनि चिन्दछन् ।
विश्व स्वास्थ्य संगठनले “सबैका लागि स्वास्थ्य” नारा तय गरेकाले सो नाराको उद्देश्यपूर्तिका लागि नेपालको तर्फबाट सिं.वै.वि.स. पनि कार्य गर्दै आइरहेको समितिको परिचयात्मक लिफलेटमा उल्लेख छ ।
धन्वन्तरिः आयुर्वेदका प्राचीन आचार्यहरुमा ब्रम्हा, दक्षप्रतापति, अश्विनीकुमार, इन्द्र भरद्वाज, भेल हरित, पुनर्बसु आत्रेय, धन्वन्तरि, दियोदास, सुश्रुत, काश्यप र निमि प्रसिद्ध छन् । तीमध्ये ब्रम्हादेखि इन्द्रसम्मका आचार्यहरु वैदिककालका र बाँकी आचार्यहरु संहिताकालका हुन् । महाभारत एवं श्रीमद् भागवतगीतामा भगवान धन्वन्तरि समुन्द्र मन्थनको समयमा विष्णुको अवतारमा अमृत कलश लिएर अवतरण भएको पाइन्छ ।
धन्वन्तरिलाई नेपाल र भारतमा आयुर्वेदका विज्ञ-महषिर्का रुपमा पनि चिनिन्छ । सुश्रुत संहिताअनुसार, धन्वन्तरिले इन्द्रबाट शल्यतन्त्रमा शिक्षा लिए र शिष्य सुश्रुत (ऋषि विश्वमित्रका पुत्र)लाई सिकाए । हरिवंश पुराण अुनसार द्वितीय धन्वन्तरिको जन्म भारतको वाराणसी नगरी (काशी) को चन्द्रवंशी राजकुलमा भयो । भारद्वाजबाट धन्वन्तरिले आयुर्वेदको शिक्षा लिएर आठ शाखामा विभाजित गरी शिष्यहरुलाई शिक्षा दिए ।
धन्वन्तरि जयन्तीः आयुर्वेद जगतमा हिन्दू धार्मिक विधि अनुसार कार्तिक कृष्ण त्रयोदशीलाई नेपाल र भारतमा “धन्वन्तरि जयन्ती” तथा “राष्ट्रिय आरोग्य दिवस”को रुपमा मनाइने कुरा सिं.बै.वि.समितिले ५६ सालबाट प्रकाशित गर्न थालेको “धन्वन्तरि स्मारिका, २०६९” मा उल्लेख छ ।
रोचक कथनः उहिले एकदिन बृद्ध च्यवन ऋषिको आश्रममा देवबैद्य अश्विनीकुमार आउँदा ऋषिले देवबैद्यलाई भने “… मेरो यो क्षीण भएको शरीरबाट यस नवयौवना सुकन्याको भोग कसरी गरुँ ? त्यसकारण मलाई युवावस्था प्रदान गरिदिनुहोस, जुनयुवापन, स्त्रीलाई चाहिन्छ ।” ‘च्यवन ऋषिको प्रार्थनालाई स्वीकार गरेर देववैद्यले एउटा प्राशको उपदेश दिए । पछि त्यही प्राश ‘च्यवनप्राश’ नामले विख्यात भयो । च्यवनप्राशको सेवनबाट ती बृद्ध ऋषि युवा र यवनोचित पौरुषशक्ति सम्पन्न भए । … … उनले भारद्वाज -वीर्य सम्पन्न) रुप धारण गरे र सुकन्याको मनोचित लाभ लिए, दिए ।’ तसर्थः आयूर्वेद औषधीमा आरोग्यता, शक्तिको गुण अथाह छ ।
आयुर्वेदः ‘चन्द्रनिघण्टु : प्रथम-भाग’ प्राक्कथन अनुसार- सबै प्राणीहरुको जीवनसंग नित्य-निरन्तर सम्बन्धित भई स्वास्थ्यको रक्षा गर्ने, रोगीको रोगको निवारण गर्ने तथा रोग लाग्नबाट बच्ने उपायहरुसम्बन्धी ज्ञानको प्राचीनतम स्त्रोत ‘आयुर्वेद’ हो । महषिर्हरुले सर्वप्रथम दिव्य-दृष्टिद्वारा हेतु, लिङ्ग र औषध गरी त्रिसूत्र आयुर्वेदको ज्ञान प्राप्त गरेका थिए । यसमा आयु अर्थात जीवनको परिभाषा, आयुको मान, हितायु, अहित आयु, सुखायु र दुःखायुको सम्बन्धमा विवेचना गरिएको छ । आयुको संरक्षण, स्वास्थ्यको सम्बर्धन, रोगहरुको निवारणका लागि निर्दिष्ट अनेकौँ उपायहरुमध्ये आहार एवं औषधी द्रव्यहरुको समुचित ज्ञानका साथ प्रयोग सबैभन्दा महत्वपूर्ण पक्ष हो । चरकसंहितामा आयुष्य (आयु बढाउने) र अनायुष्य (आयु घटाउने) द्रव्य, गुण एवं कर्मको विवेचना गर्ने शास्त्रका रुपमा आयुर्वेदको परिचय प्रस्तुत गरिएको छ ।
ऋग्वेदमा द्रव्यगुणसम्बन्धी तथ्यहरु उल्लेख पाइन्छ । त्यसपछि सबैभन्दा बढी अथर्ववेदमा पाइन्छ । ऋग्वेदको पुरुषसूक्तमा उपयोगी वनस्पतिहरुको ६७ नाम उल्लेख छ । यजुर्वेदमा ८१ र अथर्ववेदमा २८९ वनस्पतिहरुको नाम उल्लेख छ ।
वैदिककालपछिको संहिताकाल सातौँ शताब्दीसम्म द्रव्यगुणविज्ञानको बौद्धिक समृद्धिका दृष्टिले महत्वपूर्ण रहेको पाइन्छ । हाल सुलभ रुपमा उपलब्ध चरकसंहिता, सुश्रुतसंहिता आदि आयुर्वेदका संहिताग्रन्थहरुमा द्रव्यगुणसम्बन्धी विषयहरुमा प्रसस्त विवेचना गरिएको पाइन्छ । चरकसंहितामा द्रव्यहरुको संख्या ११०० छ । सुश्रुतसंहिता अनुसार १२७० द्रव्य मानिन्छ ।
निघण्टुः संहिताकालकै अन्यतिर आहार एवं गुणकर्मसम्बन्धी छुट्टै संकलन गरिएका निघण्टु नामका ग्रन्थहरुको रचना गर्ने परम्परा प्रारम्भ भएको पाइन्छ । ग्रन्थहरुलाई कोश, द्रव्याभिधान, पर्यायरत्नमाला आदि भनिए पनि निघण्टु शब्द नै बढि प्रचलित भयो । समयक्रमसंगै अनेक निघण्टुहरुको रचना भए पनि अमरकोष, धन्वन्तरि निघण्टु आदिले विद्वत्समाजमा विशेष मान्यता पाएका छन् ।
चन्द्रनिघण्टुः राणा प्रधानमन्त्री वीरशम्शेरको प्रोत्साहनले जडिबुटि अध्ययन, सामग्री संकलन तथा निघण्टु लेखनकार्य थालिए पनि प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा पूर्णता पाएकाले निघण्टुको नाम ‘चन्द्रनिघण्टु’ रहेको मानिन्छ ।
‘चन्द्रनिघण्टु’को १ देखि ८ भागसम्ममा वनस्पति, ९ औँ भागमा जान्तव र १० औँ भागमा खनिज, धातु एवं आसव अरिष्टको वर्णन रहेको छ । १-८ भागमा संस्कृत, नेपाली र ल्याटिनभाषामा ९४० नाम उल्लेख गरिएको छ भने ९ औँ र १० औँ भागमा जान्तव, खनिज र धातुको रुपमा ३३६ द्रव्यको उल्लेख गरिएको छ । हस्तलिखित चन्द्रनिघण्टुमा विभिन्न जडिबुटीका रंगीन चित्रहरु, तिनका विशेषता, कर्म र उपयोगको वर्णन समेत छ । यसमा ९०० भन्दा बढी जडिबुटी र करीब २०० खनिज एवं जान्तव्य द्रव्यहरुको परिचय तथा उपयोग वर्णन छ । यो नेपाली कागजमा सुन्दर ढंगले देखिएको छ । १० भागको यो ग्रन्थ १९१८ पृष्ठको छ ।
चन्द्रनिघण्टु : प्रथम-भाग, २०६९ (जो अब सर्वसाधारणले पनि पाउन सक्छन्)
‘प्रकाशनार्थ सहयोग गरेकोमा नेपाल सरकार बधाइको पात्र छ’ भन्दै ग्रन्थको प्राक्कथनमा प्रथम-भागबारे भनिएको छ- ‘… ९८ वटा द्रव्यहरुलाई सोही क्रमानुसार समावेश गरिएको छ । पाण्डुलिपिका रंगीन चित्रहरु र हस्तलिखित विवरणहरुलाई जस्ताको तस्तै स्क्यानिङ गरि राखिएको छ र प्रत्येक द्रव्यकाबारेमा विवेचना पनि छ । … … । द्रव्यको नेपाली, संस्कृत, नेवारी, अंग्रेजी, हिन्दी, ल्याटिन भाषाका नामहरु, कुल -फेमेली), द्रव्यको सामान्य परिचय, प्राप्तिस्थान, रस, गुण, विपाक, वीर्य, प्रभाव, प्रयोज्याङ्ग, मुख्य रासायनिक घटक, दोषकर्म, उपयोग, कुनै विषाक्त प्रभाव भएमा सो र त्यस्तो प्रभाव हटाउने उपाय, सामान्य मात्रा, सो द्रव्यबाट बन्ने तयारी औषधीको नाम पनि दिइएको छ । … परिशिष्टका रुपमा पारिभाषिक शब्दको अर्थसहित सूची, ग्रन्थमा आएका द्रव्यहरुको वणर्ानुक्रम अनुसार सूची र सन्दर्भग्रन्थहरुको विवरण पनि प्रस्तुत गरिएको छ । … … । यसबाट आयुर्वेदीय जडिबुटिका जिज्ञासु र अध्येता-अनुुसन्धाता लगायत सबैलाई फाइदा पुग्ने अपेक्षा गरेका छौँ । यो ग्रन्थ, आयुर्वेद क्षेत्रका लागि मात्र नभई राष्ट्रकै महत्वपूर्ण निधी तथा अन्तर्राष्ट्रिय स्तरको सन्दर्भग्रन्थको रुपमा मान्य हुने विश्वास लिइएको छ ।’
सिंहदरबार वैद्यखाना विकास समितिको गुरुयोजना अनुसार देशको प्राकृतिक श्रोत उपयोग गर्दै सुरक्षित शास्त्रीय तथा पेटेन्ट औषधी निर्माण, प्रसार, वैज्ञानिक अनुसन्धान, लोपोन्मुख जडिबुटी संरक्षण, उत्पादन, निर्यात तथा स्थानीयको आयश्रोत बढाउने लगायतका उद्देश्य रहेकाछन् । वैद्यखानालाई राष्ट्रिय धरोहरको रुपमा स्थापित गर्न सकेमा आयुर्वेद औषधीको आयातलाई ८० प्रतिशत बढि प्रतिस्थापन गर्न सकिने विश्वास लिइएको छ । तसर्थ आयुर्वेदिक जडिबुटीको खोज, खेती र व्यापारले समस्त नेपालीकै जीवनस्तर उकास्ने प्रमुख माध्यम बन्न सक्ने देखिन्छ । तर, ‘चन्द्रनिघन्टु’ सबैका लागि सार्वजनिक भैसकेको सन्दर्भमा यसको ज्ञानको प्रसार बाहिर पुग्ने निश्चित छ र लाभ पनि उनैले लिने सम्भावना छ । सरकारले यसको प्रतिलिपि अधिकार मात्र होइन, उत्पादन अधिकार पनि वैद्य खानामै निहित राखी प्रबर्धन गर्नसके नेपालीमात्रले प्रचुर लाभ लिन सक्छन् । तसर्थः यस सम्बन्धमा सरकारले मौलिक पहल गर्नु जरुरी छ ।
हाम्रो प्राचीन ज्ञानको विकासको दिशामा यो महत्वपूर्ण कदम हो. यस कार्यको जती सुकै प्रशंसा गरे पनि कम हुनेछ. शाहवंशी राजाहरु राणाहरु संग डाह गर्ने भएर नै चन्द्र समसेरको पालाको यो ग्रन्थ अप्रकाशित रही रहेको हुनु पर्छ. चन्द्र शमसेरको पालामा बौद्धिक विकास राम्रो भएको ईतिहास शाक्षी छ. बीरगंजमा पनी मुनी चन्द्र वेद वेदांग विद्यालय जनप्रयासबाट अहिले सम्म चली रहेको छ.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
One or two to rmmebeer, that is.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]