मंगलबार दिनको ३ बजे । सर्वनाम थिएटरको अँध्यारो कोठा । ‘अन्तिम सन्देश’ र ‘मरेर बाँचेकाहरु’ बृत्तचित्रको प्रदर्शनी भर्खरै सकिएको थियो । मैले धमाधम वरिष्ठ सञ्चारकर्मीहरुलाई प्रतिक्रियाका लागि मन्चमा बोलाउँदै थिएँ । तर, धन्यवाद ‘गणेश भाइ’ भन्दाभन्दै पत्रकार गोपाल बुढाथोकी भक्कानिए । केही समय चुप बसे, आँशुलाई गहबाटै सुकाउने कोसिस गरे, तर सकेनन । र, भक्कानिँदै रोए । २४ दिन लामो मृत्युलोकको सम्झनामा पत्रकारहरुले भरिएको हलमा बर्रर्र आँशु झार्दै भने-’मैले आज मेरा अतीतका ती कालरात्री सम्झिएँ, सम्झँदै भक्कानो फुटेर आउँछ ।’
बृत्तचित्र ‘मरेर बाँचेकाहरु’ले गोपाल दाइलाई निकै घोचेछ । थप भन्दै थिए-’मैले त गल्ती गरेर सजाय पाएँ, तर यिनी -वृत्तचित्रका पात्र) हरुले निर्दोषर्ीमै हात, खुट्टा गुमाए । मेरो गल्ती यही थियो कि मैले यिनीहरु जस्तै हातखुट्टा गुमाएकाहरुको विषयमा लेखें ।’ सशस्त्र द्वन्द्वका क्रममा राज्यको ज्यादतीका विषयमा लेखेबापत सेनाबाट भोग्नुपरेको यातना स्मरण गर्दै थिए, उनी । सकिनसकी गोपालले अफ्ना दुर्दिनहरु सुनाइरहँदा हलमा पूरै सन्नाटा छाएको थियो । पत्रकारहरु टंक पन्त, दीपक रिजाल, बालकुमार नेपाल, यम विरही, श्रीओम श्रेष्ठ, सुबासे गोतामे, पूर्वन्यायाधीश डा. हरिबंश त्रिपाठी, संविधानविद् भीमार्जुन आचार्य, अम्बर राउतको अनुहार ओइलाएको फूलझैं भयो ।
सर्वनाम थिएटरमा गोपाल दाइको त्यो कारुणिक कथा सुन्नेहरु राज्य र उसको व्यवहारप्रति लज्जित भए । ०५८ साल फागुन १९ गते राति साँघु साप्ताहिकमा लेखिएको एउटा समाचारको दुई शब्दले बुढाथोकीलाई २४ दिनसम्म अन्धकार कोठामा कालो खोल ओढाएर अपराधीझैं हातखुट्टा डोरीले बाँधेर मरेतुल्य जीवन बाँच्न विवश बनायो । जनताको सच्चा पहरेदार भएबापत अपराधीलाई झैं कालो खोल ओढाएर उज्यालो दुनियाँ देख्ने आँखाहरु छोपिए । गोपाल अहिले त्यही सम्झँदै भक्कानिरहेछन् । डकुमेन्ट्रीका केही प्रतिनिधि पात्रहरुझैं गोपाल पनि ‘मरेर बाँचेकाहरु’मा पर्छन् ।
माओवादीको द्वन्द्व नभएको भए बर्दिया सानोश्रीका अशोक सोडारीले सायद खुट्टा गुमाउनु पर्ने थिएन । तर, कांग्रेसमा आस्था राखेकै कारण उनले माओवादीको चरम यातना भोग्नुपर्यो । ८/१० बन्चरोसम्म हान्दा त उनले थाहा पाए, त्यसपछि कति बन्चरो हाने कति, उनलाई स्मरण छैन । त्यही चोटले दायाँ खुट्टा काट्नुपर्यो, भान्जालाई यातना दिएको देख्ने अशोककी माइजुको बेहास हुँदाहुँदै प्राण गयो । गाउँमा बसेर समाजसेवा गरिरहेका सोडारीलाई अहिले सेवा गर्ने कोही छैन, चढ्दो उमरेका लालाबालालाई कसरी पाल्ने, त्यही पिरलो छ, उनलाई ।
बर्दिया शमशेरगन्ज गाविस, हबल्दारपुरका जगदीश यादवलाई माओवादीले राजनीतिक पूर्वाग्रहकै कारण चरम यातना दिए । दर्जनौंपटक घनले हानेका कारण उनका दुवै खुट्टा काम नलाग्ने अबस्थामा छन्, दिदीबहिनी र ससुराबाट ऋण लिएर उपचार गर्दागर्दै झण्डै १० लाख रुपैंया उड्यो, माओवादीले ससुरालाई समेत मारिदिए । जगदीशलाई पाशविक ढंगले घनले हानेको देख्ने उनका साथी परदेशी खटिक पागल भए । तीन वर्षसम्म पशुलाई झैं बाँधेर राखेपछि उनी केही सम्झने भएका छन्, तर व्यवहार उस्तै छ । अशोक, जगदीश र परदेशीलाई मरेतुल्य अबस्थामा पुर्याउनेहरु अहिले पनि बाँके र बर्दियामा पार्टीका हर्ताकर्ता छन् ।
बाँके कोहलपुरका युवराज गिरीले त ९ महिनासम्म उज्यालो नै देख्न पाएनन । नेपाली सेनाको मध्यपश्चिम पृतनामा ९ महिनासम्म चरम यातना पाएका युवराज माओवादी पनि थिएनन, तर राज्यले उनलाई ‘आतंककारी’ देख्यो । साँढेको जुधाई बाच्छाको मिचाई भनेझैं राज्य र माओवादीको लडाईंमा उनी अनाहकै मिचिए । यातनाका कारण युवराज अहिले सहजरुपमा काम गर्न सक्दैनन । बेकसुर यातना पाएका गिरीले तत्कालिन पृतनापति रुक्मांगत कटुवालविरुद्ध मुद्दा हाले, जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुग्दा पनि गिरीले न्याय पाएनन, संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिलाई घच्घचाउन पुगेका गिरीलाई राष्ट्रसंघले न्याय दियो, प्रधानसेनापतिबाट अवकाश भइसकेका कटवाललाई ‘गिरीको मुद्दामा अनुसन्धान गरी ६ महिनाभित्र कारबाही गर्नु’ भनी नेपाल सरकारलाई निर्देशन पनि गर्यो, तर कटवाललाई कानुनी कठघरामा ल्याउने ल्याकत कुन प्रधानमन्त्रीसँग छ र गिरीले न्याय पाऊनु ?
अहिले पनि पीडितहरु राजधानीका गल्ली-गल्ली, सडक-सडकमा भौंतारिरहेका छन, राजनीतिक दलका कार्यालय धाइरहेछन्, प्रशासनिक मुख्यालय सिंहदरबारको गेटमा धर्ना कसिरहेछन, तर राज्य उनीहरुलाई सुन्दैन । राज्यको उपेक्षाले पीडित र उनका लालाबालामा बदलाको भावनामात्रै चढेको छैन, कुकर्ममा फस्ने सम्भावना पनि उत्तिकै बढेको छ, जुन देशको हितविपरीत छ । किनकी द्वन्द्वको सही समाधान नहुँदा मुलुकको के दुर्दशा हुन्छ भन्ने त सोमालिया, रुगान्डा, ल्याटिन अमेरिकाजस्ता देशहरुले देखाइसकेको छ ।
विद्रोहीबाट राज्य बनेको माओवादी कमसेकम यसप्रति गम्भीर बन्नुपर्ने हो । तर, माओवादीका नेताहरु केवल सत्ता, कुर्सी र सरकारतर्फमात्रै अल्मलिएको झैं देखिन्छ । युद्वकालमा अनाहकमा सर्वसाधारणलाई यातना दिने आफ्नै कार्यकर्तालाई त माओवादीले कारबाही आशा गर्नु दिपासपना मात्र हो । तर, आफ्नालाई यातना वा माओवादीका नाममा चरम यातना दिनेलाई समेत डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले बढुवा र पुरष्कार दिइरहेको छ । भैरबनाथ गणलाई मानव बधशाला बनाउने नेपाली सेनाका अधिकृतलाई बढुवा गरेको भन्दै अहिले आफ्नै पार्टीका केन्द्रीय सदस्य कृष्ण केसी तथा विद्यार्थी नेता हिमाल शर्माहरु डा. भट्टराईको धज्जी उडाइरहेका छन् ।
हुन त नेपालका राजनीतिक दलका नेताहरुले पनि कयौं जेलनेल र यातना भोगेका छन् । हाम्रो बृत्तचित्रका एकजना पात्र भीम रावल त यातनाकै क्रममा मरेको भन्ने समाचार २०३९ सालमै गोरखापत्रमा छापियो, मरेका भनिएका उनै रावल देशको गृहमन्त्री समेत बने । केपी ओली, रामचन्द्र पौडेल, कृष्ण सिटौला, कृष्णबहादुर महरा या भीम रावल, देशको गृहमन्त्रीका बनेका यी सबै नेताले कुनै न कुनै चरणमा राज्यबाट यातनाको शिकार बने । तर पनि देशमा यातना रोकिएको छैन, बरु आफ्ना विरोधीलाई ठीक पार्ने अस्त्र यातना नै हो कि भन्ने गलत मान्यता स्थापित हुने खतरा बढेको छ, मुलुकमा । देशको संविधानले यातनालाई अपराधको रुपमा स्वीकारेपनि यातना सम्बन्धी कुनै कानुन बनेको छैन । मुलुकमा लोकतन्त्र बहालीपछि पनि यातना रोकिएको छैन । अहिले पनि प्रहरी हिरासत बधशाला बन्ने गरेको छ । राजनीतिक आवरणमा दलका भातृ संगठनले अफ्ना विरोधीलाई ठीक पार्न अपहरण र यातना दिइरहेका छन ।
गणतन्त्रका चर्काचर्का नारा दिने नेताहरुको व्यवहार हेर्ने हो भने निराश हुनुपर्ने अवस्था छ । दण्डहीनतालाई सदाका लागि अन्त्य गरी विधिको शासन बहाली गर्नेतर्फ राजनीतिक हरुलाई छिट्टै सद्बुद्धि मिलोस् । त्यसो भएमात्र गोपालहरुको आँशु रोकिनेछ ।
Good Article Ganesh Ji..
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Dear Writer, Thank you for heart touching article
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
I Agreed. yo maobadi vanne jat nai yestai ho….
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Article ko lagi ganesh ji lai dhanyebad… Documentary pani derai ramro cha jasto lagyo… kasari herne hola?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
hamra sabai neta haru naya raja bhayaka chan. byakti change bhayaka matra hun, sabai ko byabhahar ustai 6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]