किरात एकेडेमीले यस वर्षको किरात एकेडेमी राष्ट्रिय पुरस्कार ‘बि्रटिस साम्राज्यको नेपाली मोहरा- गोर्खा भर्तीको नालीबेली’ पुस्तकका लेखक झलक सुवेदीलाई प्रदान गरेको छ ।
एक सय २०औंँ माओ दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पचास हजार राशिको पुरस्कार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रचण्डले राजनीतिक चटाराले गर्दा आफू कला र साहित्य जस्तो विशाल क्षेत्रमा प्रवेश गर्न नसकेको बताउँदै भन्नुभयो-”बौद्धिकता, कला र साहित्यको क्षेत्र विशाल छ भन्ने थाहा पाउँदा पाउँदै पनि म त्यसमा पौडिन सकेको छैन, त्यसबाट अलग्गिनु परिरहेको छ ।”
एकेडेमीका संरक्षक तथा एमाओवादी नेता गोपाल किरातीले श्रमजीवीको पक्षमा निकै कम मात्रै कृति प्रकाशन हुने गरेको बताउँदै श्रमजीवीको पक्षमा लेख्नेहरुलाई सम्मान गर्ने उद्देश्यले आफूहरुले पुरस्कारको सुरुआत गरेको जानकारी दिनुभयो ।
प्रा अभि सुवेदी र लेखक खगेन्द्र सङ्ग्रौलाले सुवेदीले आफ्नो कृतिमा निकै राम्रो किसिमले आख्यान र गैरआख्यानको सम्मिश्रण गरेर कृतिलाई क्वाँटी जस्तो स्वादिलो बनाएको बताउनुभयो । रासस