इलामका चर्चित सात ‘अ’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

इलामका चर्चित सात ‘अ’

टंक खनाल

‘इलामको सिलाम फाकफुके तोरी तेल र्झछ तुरुरु

दुःखिया जीवन सम्झेर ल्याउँदा मन रुन्छ धुरुरु’

पूर्वीनेपालको इलाममा बूढापाकाहरुका पालामा यस्तो गीत सुनिन्थ्यो । तर, अहिले यो जिल्ला पूर्णरुपमा फेरिएको छ । नेपालमै पहिलो झुल्के घाम हेर्न पाइने ‘श्रीअन्तु’ पर्यटकीय स्थल रहेको इलाम यतिबेला दुखिया नभएर सुखी मानिसहरु बस्ने जिल्ला बनिसकेको छ । र, इलामलाई सुखी र रमणीय जिल्ला बनाउने काम चाँहि ७ वटा ‘अ’ले गरेका छन् ।

प्रकृति र संस्कृति इलामका पर्याय हुन् । इलामलाई ‘पहाडकी रानी, नगदेवालीको खानी’ उपनामले समेत चिनिन्छ । इलाम बजार, बिब्ल्याँटे, फिक्कल, पशुपतिनगर, नयाँबजार, मंगलबारे, देउराली इलामका मुख्य व्यापारिक केन्द्रहरु हुन् । इलाममा अधिकाँश मानिसहरु कृषि पेशामा आधारित छन् । इलाम जिल्लालाई विभिन्न ७ ‘अ’ को जिल्ला भनेर चिनिन्छ । जसमा अलैंची, अदुवा, अकबरे खोर्सानी, अर्थोडक्स चिया, आलु, अम्लिसो तथा ओलन (दूध) पर्दछन् ।

अलैंचीः

वि.सं. १९७६ सालमा भारतको सिक्किमबाट इलाम भित्रिएको मानिएको अलैंची २०१५ सालदेखि किसानको आम्दानीको राम्रो स्रोत बन्दै आएको छ ।

अलैंची खेतीमा अग्रणी मानिएको इलाममा केही वर्षदेखि विभिन्न रोगका कारण यसको उत्पादन घट्दै गएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । आर्थिक वर्ष ०६६/०६७ मा दुई हजार एक सय हेक्टरबाट नौ सय ६३ मेटि्रक टन अलैंची उत्पादन भएकोमा हाल १ हजार ७ सय ६० हेक्टरमा मात्र खेती भइरहेको र बाषिर्क उत्पादन ४ सय ४० मेटि्रक टन उत्पादन भएको कार्यालयले जनाएको छ । यस बर्ष अलैची सरदर प्रतिमन ४० हजार रुपैयाँमा बिक्री भएको छ ।

अदुवाः

अदुवा इलाममा सफल नगदे बाली हो । केही वर्षदेखि इलामका कृषकले अदुवाको व्यवसायिक खेती गर्दै आएका छन् । इलामका प्रायः सबै गाविसहरुमा अदुवा खेती हुने गरेको छ । आर्थिक वर्ष ०६८/०६९ मा तीन हजार एक सय ७० हेक्टरमा अदुवा खेती गरीएकोमा ४५ हजार मेट्रीक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय इलामका प्राविधिक सहायक केशरबहादुर मंग्रातीले जानकारी दिनुभयो ।

अदुवाखेतीबाट दुईपटक आम्दानी लिन सकिन्छ । पहिलो आम्दानी जेठ अन्तिमदेखि असार अन्तिमसम्म अदुवाको बुढी (माउ) बाट हुन्छ भने दोस्रो आम्दानी मंसिर, पुस देखि माघ अन्तिमसम्म हुने गर्दछ । अदुवा माघ महिनाको अन्त्यदेखि फागुन महिना भर र बैशाखमा समेत रोपिन्छ ।

यहाँ उत्पादित अदुवा झापाको काँकडभिट्टा हुँदै भारतका विभिन्न स्थानमा पुग्ने गरेको छ । यहाँको बजार प्रणाली सुदृढ र सशक्त हुन नसकेको कारणबाट कहिलेकाँही एकै दिनमा दुईबटा दररेटमा खरिद बिक्री हुने कुरा व्यापारीहरु बताउँछन् । आ.व. ०६८/०६९ मा अदुवाको मूल्य ३५ रुपैयाँ प्रतिकेजीदेखि ५५ रुपैयाँसम्म पुगेको कृषि विकास कार्यालय इलामले जनाएको छ । जसमा माउ अदुवा प्रतिकेजी ३५ रुपैयाँदेखि ४० रुपैयाँको भाउमा बिक्री भएको थियो ।

अकबरे खुर्सानी :

अकबरे खुर्सानीको उत्पादनमा समेत इलाम अग्रणी जिल्ला मानिन्छ । औषधीय गुण समेत भएको अवकरे खुर्सानीको सेवनबाट ग्याष्ट्रिक तथा डायविटिज रोग निको हुने तथा पेट नपोल्ने विश्वास रहेको छ । इलाममा डल्लो लामो, मझौला (वयरे) र मसिनो गरी ३ किसिमका अकवरे पाइन्छ ।

इलामका जिर्मले, लक्ष्मीपुर, पञ्चकन्या, कोल्बुङ्ग, कन्याम, फिक्कल, सोयाङ्ग, नाम्सालिङ्ग, गोदक गाविसहरुमा यसको खेती गरिन्छ । आ.व. ०६८/०६९ मा एक सय ६० हेक्टरमा अकवरे खेति गरिएकोमा पाँच सय ५६ मेट्रीक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । यहाँ उत्पादन हुने खुर्सानी भारतीय सिमा दार्जिलिङ्ग र सिक्किममा निकासी हुने गरेको छ । अहिले यसको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँ रहेको प्राविधिक सहायक मंग्रातीले जानकारी दिनुभयो ।

 अर्थोडक्स चिया :

इलाममा विस्तारै व्यवसायिकता पाएको चियालाई कृषकहरुले मुख्य खेतीको रुपमा अगाँलेका छन् । इलामका सबै उद्योगमा अर्थोडक्स चिया उत्पादन हुन्छ । इलामको अर्थोडक्स चियाले विश्व बजारमा निकै महत्व पाएको छ ।

जर्मनी, जापान, युएइ, अमेरिका लगायतका देशहरुमा अर्थोडक्सको निर्यात हुने गरेको छ । इलाममा उत्पादन हुने चियाअन्तर्गत किसानहरुले प्रशोधन कारखानालाई बिक्री गर्दा अर्थोडक्स भएको प्रमाणित बगानमा उत्पादित हरियो पत्ति चिया प्रति केजी ५० रुपैयाँमा बिक्रीहुँदै आएको र सदर हरियो पत्ति चिया प्रतिकेजी २५ रुपैयाँमा बिक्री वितरण भइरहेको केन्द्रीय चिया सहकारी संघले जनाएको छ ।

प्रशोधित अर्थोडक्स चिया प्रतिकेजी एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । त्यस्तै ग्रिन टी प्रतिकेजी एक हजार दुई सय रुपैयाँ र वाइट टि चार हजार पाँचसय सम्मा बिक्री हुने केन्द्रीय सहकारी संघका सचिव रविन राईले जानकारी दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालयले भने सम्पूर्ण चियालाई एकै ठाउँमा गणना गरेको जानकारी दिएको छ । कार्यालयको तथ्यांक अनुसार ५ हजार २ सय ६२ हेक्टरमा लगाइएको चियाबारीबाट बाषिर्क एक हजार ६ सय १२ मेट्रिकटन उत्पादन भएको छ । चिया सरदरमा ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्ममा बिक्री वितरण भएको छ ।

आलुः

आलु पनि इलामको एक महत्वपूर्ण नगदे बाली हो । इलामका सबै गाविसहरुमा आलुको ब्यवसायिक खेती हुने गरेको छ । यहाँ विशेष गरी बिट्टे, झ्याले कुफ्री सिन्दुरी, टि.पि.एस. लगायतका जातका आलु लगाउने गरिन्छ । आलु खेती हिउँद र बर्षा दुबै मौसममा गरिन्छ ।

आ व २०६८/०६९ मा हिँउदमा ४ हजार ८ सय ५ हेक्टरमा लगाईको आलु ६७ हजार ७ सय ५० मेटि्रक टन उत्पादन भएको थियो । उक्त आलु प्रतिकेजी ३५ रुपैयाँदेखि ४५ रुपैयाँसम्ममा बिक्री भएको थियो । त्यस्तै २० हजार १० हेक्टरमा लगाइएको बर्षे आलु ३२ हजार दुईसय मेटि्रक टन उत्पादन भएको थियो । सो आलु प्रतिकेजी २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बिक्री भएको कृषि विकास कार्यालयले तथ्यांकमा उल्लेख गरिएको छ ।

अम्लिसो :

इलामको अर्को ब्यवसायीक खेतीमा अम्लिसो पनि पर्दछ । अम्लिसोको फूल कूचोको रुपमा बिक्री हुने र यसको घाँस पनि उत्तिकै राम्रो हुने र यसको बोट दाउराको रुपमा प्रयोग गर्ने गरिन्छ । वारीको कान्ला र अन्य खेती नहुने पाखाहरुमा गरिने अम्लिसो खेतीबाट किसानहरुले राम्रो आम्दानी गर्दै आएका छन् ।

इलामबाट गत आर्थिक बर्ष ०६८/०६९ मा ५१ हजार ८१ दशमलब ५८ हेक्टर क्षेत्रफलमा लगाइएको अम्लिसोबाट ६७ हजार ३ सय ६० दशमलब ५४ मेटि्रक टन कुचो उत्पादन भएको छ । सदरद ३५ रुपैयाँ प्रतिकेजीमा बिक्ने कुचोबाट किसानले बाषिर्क २ अर्ब ३५ करोड ७६ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको जिल्ला पशुसेवा कार्यालय इलाममा पशुसेवा प्राविधिक डिगबहादुर कार्कीले जानकारी दिनुभयो । इलाममा उत्पादित कूचो झापाको धुलाबारीमा प्याकिङ गरी मलेसियालगायतका मुलुकमा निकासी हुने गरेको छ ।

ओलन (दूध) :

दूध उत्पादनमा पनि इलाम पूर्वकै अग्रणी जिल्लामा पर्दछ । उत्पादन हुने दूधको आधा हिस्सा अहिले पनि प्रयोगमा आउन सकेको छैन । जिल्ला पशु सेवा कार्यालय इलामका अनुसार जिल्लामा गत आर्थिक बर्षमा १ लाख ५ हजार ९ सय ७८ मेटि्रक टन दूध उत्पादन भएको छ । यो अघिल्लो बर्षको तुलनामा ६ दशमलब १ प्रतिशत बढी हो । अघिल्लो बर्ष ९९ हजार ५ सय १३ मेटि्रक टन दूध उत्पादन भएको कार्यालयले जनाएको छ । पछिल्लो समय चीज कारखाना र ललिपप उद्योग सञ्चालनमा आएका छन् भने इलाम उत्पादीत गरेको दूधले सीमा क्षेत्रका भारतीय बजारमा पनि राम्रो स्थान ओगटेको ब्यवसायीहरु बताउँछन् । यति हुँदाहुदै पनि इलाममा उत्पादित दूधमध्ये आधाले अझै बजार पाउन नसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । इलाममा उत्पादित दूध प्रतिलिटर २८ रुपैयाँ देखि ३५ रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

पर्यटकीय सम्भावना

पूर्वी नेपालको सबैभन्दा रमणीय जिल्ला हो इलाम । महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्वी-दक्षिण काखमा अवस्थित इलाम प्राकृतिक दृष्टिले रमणीय छ । यहाँका चियाबारी, हरिया डाँडाकाँडा, सुन्दर नदी नाला, पोखरी, मठ मन्दिर, पर्वतीय शिखर तथा अन्य सम्पदाहरुले पर्यटकहरुलाई लोभ्याउने गरेका छन् ।

चारखोलाको जिल्लाको नामले समेत चिनिने इलाम जिल्ला सूर्योदयको दृश्यावलोकनका लागि समेत प्रसिद्ध छ । इलामका अन्तुडाँडा, सिद्धिथुम्का, मिर्मिरे डाँडा, सन्दकपुरवाट देखिने सुर्योदयको दृश्य सर्वाधिक मनमोहक मानिन्छ । इलामका सेतीदेवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी आदि धार्मिक तथा कन्याम, करफोक, मंगलबारे आदी स्थान पर्यटकीय सम्भावनाले भरिपुर्ण रहेका छन् । नौ कुना भएको माइपोखरी र टोड्के झरना पर्यटकीय गन्तव्यको केन्द्र रहेको छ । तीन हजार मिटर अग्लो सन्दकपुर, छिन्तापु, श्रीअन्तु पूर्वी नेपालका चर्चित पर्यटकीय क्षेत्र मानिन्छन् ।

विभिन्न जातजातिको बासस्थान रहेको इलामका धान नाच, च्याब्रुङ्ग, चण्डी नाच, मारुनी नाच, बालन, संगिनी, डम्फु नाच यहाँका साँस्कृतिक परम्परा हुन् । विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालकलगायतका जनावरहरु पनि इलाममा पाइन्छन् ।

13 Comments on “इलामका चर्चित सात ‘अ’”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु