१२ पुस, काठमाडौं । कप्तान माइकल क्लार्क एकै क्यालेण्डर वर्षमा सर्वाधिक रन बनाउने अष्ट्रेलियाली क्रिकेटर बनेका छन् ।
श्रीलंकाविरुद्धको टेष्टको दोस्रो दिन १ सय ६ रन बनाएपछि उनी एकै क्यालेण्डर वर्षमा सर्वाधिक रन बनाउने अष्ट्रेलियाली क्रिकेटर बनेका हुन् । उनले ११ टेष्टमा १ हजार ५ सय ९५ रन बनाएका छन् । यसअघि रिकी पोन्टिङले सन् १००५ मा १५ टेष्टमा १ हजार ५ ४४ रन बनाएका थिए ।
उनको यो २२ औं टेष्ट शतक हो । उनले भनेका छन्-’रन बनाउनु सँधै राम्रो छ र अष्ट्रेलियालाई शतक बनाउनु सँधै राम्रो हो ।’ ३ विकेटको क्षतिमा १ सय ५० रनबाट दोस्रो दिनको खेल थालेको अष्ट्रेलियाले दिनको खेल सकिँदा ८ विकेटको क्षतिमा ४ सय ४० रन बनाएको छ ।
उसँग अझै २ विकेट छ र २ सय ८४ रनले अग्रता लिएको छ । श्रीलंका पहिलो पारीमा १ सय ५६ रनमा समेटिएको थियो । तीन टेष्टको श्रृखलामा अष्ट्रेलिया १-० ले अघि छ ।