१४ पुस, काठमाडौं । सैनिक तालिमबाट बाहिरिन खोजेका माओवादी सेनाका पूर्व लडाकूलाई बाहिरिने अवसर प्रदान गरिने भएको छ ।
लडाकू रेखदेख, पुनःस्थापना तथा समायोजनसम्बन्धी विशेष समितिको सचिवालयमा शनिबार बसेकोे बैठकले तालिमका क्रममा केही लडाकूहरुमा मानसिक तथा शारीरिक समस्या देखिई उनीहरु बाहिरिन चाहेका कारण यस्तो अवसर प्रदान गर्न लागिएको हो । तर, तालिम छाड्दा उनीहरुले सुविधा पाउने वा नपाउने भन्नेबारे कुनै टुङ्गो लागेन ।
बैठकले तालिममा छनोट भइसकेर पनि विभिन्न कारण देखाउँदै स्वेच्छिक अवकाशका लागि निवदेन दिएकाहरुलाई तालिमबाट मुक्ति दिने निर्णय गरिएको विशेष समितिका सदस्य भीम रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो-’तालिममा नसक्नेहरुलाई मानवीय हिसाबले मुक्ति दिन सेनालाई सहमति दिने निर्णय गरिएको छ, अन्य कुनै विषयमा निर्णय भएन ।’
विशेष समितिको बैठकमा एमाओवादीले तालिम छाड्ने लडाकुलाई कम्तीमा ७५ नभए ५० प्रतिशत रकम दिइनुपर्ने प्रस्ताव गरेको बताइएको छ । तालिममा ७१ अधिकृतसहित एक हजार ४ सय ४२ जनाले नेपाली सेनामा समायोजन हुन सैनिक तालिम लिइरहेकामा ४० भन्दा बढी लडाकुले तालिम छाड्ने इच्छासहितको निवेदन दिएको बताइन्छ ।
सेना समायोजन विशेष समितिका अर्का सदस्य डा रामशरण महतले तालिमरत माओवादी लडाकुहरुमा शारिरीक तथा मानसिक समस्या देखिएका कारण अवकाश दिने निर्णय गरिएको जानकारी दिनुभयो । बैठकमा सचिवालय संयोजक बालानन्द शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल भएको सदस्य डा महतले जानकारी दिनुभयो ।
बैठकमा संयोजक शर्माले लडाकु समायोजनमा अहिले देखिएका विभिन्न अप्ठयाराबारे समितिलाई जानकारी गराउनु भएको थियो ।