पुस्तक समीक्षा- अन्त्यहीन परिवेश :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

पुस्तक समीक्षा- अन्त्यहीन परिवेश

नेपाली साहित्यका सबैभन्दा सस्ता समालोचक डा. गोविन्दराज भट्टराईको भूमिका देखेपछि किन्नका लागि हातमा उठाइसकेको पुस्तक पनि छाडेर हिड्ने पाठकको संख्या बढ्दै गएको छ । पढ्न पट्यार लाग्ने कृतिहरुलाई पनि विभिन्न पगरी गुताएर शब्दको दुरुपयोग गर्ने तथा विदेशीका अनेक कृतिसँग दाँजेर ‘सुन्दर’ र ‘अब्बल’ अनि ‘नेपाली साहित्यमा यसअघि यति उत्कृष्ट कृति लेखिएकै थिएन’ भनेर लेखिदिने डाक्टरसाबको बानीबाट पाठकहरु विच्किन थालेका छन् । यो कुरा थाहा पाएका भए कथाकार मधुवन पौडेलले आफ्नो पछिल्लो कृति ‘अन्त्यहीन परिवेश’ मा डा. भट्टराईको भूमिका सायदै राख्थे होला !

अघिल्लो पुस्ताका आख्यानकार मधुवनको अर्को परिचय पनि छ । उनी पूर्वप्रशासक र हाल कुवेतका नेपाली राजदूत हुन् । प्रशासनिक व्यस्ततालाई थाती राख्दै सिर्जनामा रमाउन मन पराउने यी कथाकार समाजभित्रका विसंगतिका पाटा केलाउन र मान्छेको मनका अतृप्तिहरुलाई उधिन्न साँच्चै खप्पिस छन् । कूल २२ वटा कथा भएको ‘अन्त्यहीन परिवेश’ भित्र पनि उनले समाज र मान्छेको मनका अनेक पाटा र बाटाहरुको छिन्द्रान्वेषण गरेका छन् ।

‘तिलकबहादुर केही बोल्दैन’ संग्रहभित्रको उत्कृष्ट कथामध्येको एक हो । बैंकमा गार्ड काम गर्ने उसलाई बैंक लुट्न उक्साउने किस्ने यतिखेर युवानेता कृष्णराजमा रुपान्तरण भएको छ । गाउँका अधिकांश युवाहरु उसैको जयगानमा छन् । तर पाँच वर्ष जेलमा विताएर गाउँमा फर्केको तिलकबहादुर छोरो हराएको पीडामा छ । त्योभन्दा पनि दैनिक गुजाराको समस्यामा छ । राजनीतिका अगाडि कानुन कसरी निकम्मा भइरहेको छ र राजनीति गर्नेहरुका कारण समाज कसरी स्खलित भइरहेको छ भन्ने देखाउने यो कथा पाठकलाई रन्थन्याउने खालको छ । कथाको पात्र तिलकबहादुरले केही नबोलेर के भो त ! यो कथाले धेरै कुरा बोलेको छ । दबे-दबाइएकाहरुको पीडाको पटुका खोलेको छ ।

‘पानीको फोका’ कथा पनि निकै सुन्दर ढंगले बुनिएको छ । शहरिया समाजमा प्रशस्तै देखिन थालेका अवसरवादी महिला चरित्रका महिलाहरुको प्रतिविम्ब हो यो कथा । स्वार्थका लागि जस्तोसुकै प्रेमको नाटक गर्नसक्ने चरित्रलाई राम्रैसँग उजागर गरेको छ यो कथाले । पढ्न थालेपछि छाड्नै मन लाग्दैन ।

लघु आकारको ‘अतिक्रमण’ कथा शहरका सुकुम्वासीका बारेमा छ । चुनावका बेला भोटका लागि उपयोग गर्ने अनि जितेपछि आफ्नै बाचा बिर्सने प्रवृत्तिलाई राम्र्रैसँग कटाक्ष गरेको छ । त्यस्तै ‘गोकुलको बिहे’ कथाले पछिल्लो समयमा विखण्डित भइरहेको पति-पत्नीबीचको हार्दिक प्रेमलाई समेटेको छ । जतिसुकै दूरी बढे पनि नयाँ जीवन सुरु गर्नका लागि पूर्व पति वा पूर्व पत्नी जति नजिक अरु कोही हुन नसक्ने सन्देश दिने यो कथा डिभोर्सीहरुका लागि सन्देशमूलक छ । हुर्केका छोराछोरीको खुसीको लागि पनि नयाँ जीवन सुरु गर्नुअघि एकपटक गम्भीरतापूर्वक सोच्न यो कथाले बाध्य गराउँछ ।

‘मासंगल्ली २०२५’ सामाजिक स्खलनमाथि लेखिएको अर्को अब्बल कथा हो । मासंगल्लीको मदिरालयमा पैसा तिर्न नसकेर बाहिरिएको कुनै पात्र केही वर्षको अन्तरालमा रातारात कारमा सवार हुने स्तरमा पुगेको र फुटपाथमा सँगै हिँडिरहेकी आफ्नी आमाको मजेत्रो भिज्ने गरी हिलो छ्यापेको सन्दर्भ निकै चोटिलो छ । यो कथामा कथाकारले आमाको प्रतिकात्मक रुपमा मातृभूमिलई अघि सारेका छन् । आफ्नी मातृभूमिलाई लात हान्दै, उनको अनुहारमा हिलो छ्प्दै स्वार्थसिद्धि गर्ने लम्पटहरुका लागि दरिलो कटाक्ष हो यो कथा ।

कथा धेरैले लेख्छन् । उठाउने विषय पनि समाजिक परिवेश र मान्छे नै हुन् । तर पाठकलाई आकषिर्त गर्ने नगर्ने भन्ने कुराचाहिँ शैलीमा भर पर्छ । यो कुराको राम्रै हेक्का भएका कथाकार मधुवनका प्रत्येक कथा पाठकका लागि मधुरसयुक्त छन् । कुनै कथाले पाठकको मन कटक्क पार्छन् भने कुनैले रोमान्चको उत्कर्षमा उतार्छन् । पात्रका नाम समेत प्रतीकात्मक रुपमा प्रयोग गर्न खप्पिस यी कथाकार परिवेशलाई पनि उत्तिकै सजिवतासँग सिंगार्छन् ।

रु १७५ मूल्य रहेको १२८ पृष्ठको मधुवनको यो संग्रह रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । पुस्तकभित्रका भाषिक त्रुटि अनि लाइन-लाइनै दोहोरिएको भेटिँदा रत्नले पनि लापर्वाही गर्न थालेको हो कि भन्ने लाग्छ । जे होस् कथाकार पौडेलबाट नेपाली आख्यान जगतले अझै धेरै आशा गर्ने ठाउँ यो संग्रहले जगाइदिएको छ ।

One Comment on “पुस्तक समीक्षा- अन्त्यहीन परिवेश”
  • kalyan Poudel wrote on 1 January, 2013, 7:24

    कथाकार दाई मधुबन पौडेल को यो रचना निकै राम्रो छ …..कुनै कथाले पाठकको मन कटक्क पार्छन् भने कुनैले रोमान्चको उत्कर्षमा उतार्छन् । पात्रका नाम समेत प्रतीकात्मक रुपमा प्रयोग गर्न खप्पिस यी कथाकार परिवेशलाई पनि उत्तिकै सजिवतासँग सिंगार्छन् ।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु