समर लभ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

समर लभ

सुबिन भट्टराई

‘साया शाक्य ।’

इन्ट्रान्स रिजल्ट हेर्न जाँदा हरियो बोर्डमा नम्बर एकमा देखेको नाम हो यो । देख्नेबित्तिकै मनमनै दोहोर्‍याएको थिएँ ।

सी.डी.इ.एस.मा १५२ जनाले इन्ट्रान्स दिएकोमा मेरिट लिस्टका आधारमा जम्मा ४८ जनाले पढ्न पाएका थिए । मेरो नाम अन्तिम-अन्तिमतिर थियो ।

सायाको नाम सबैभन्दा माथि भएकाले आफ्नो नामभन्दा पहिल्यै उसको नाममा आँखा परिहाल्यो । त्यो दिनदेखि एउटा स्थायी कुतूहलले डेरा जमाइहाल्यो मभित्र । टपरको अनुहार मात्रै भए पनि हेर्ने मेरो चाहना !

साया शाक्य । कुनै अनौठो र फरक नाउँ पनि थिएन । तर काउकुती लगाउन भने छोडेन । म मीठो विचलनमा उद्विग्न रहिरहेँ । अझ मनमनमै त्यो नाउँलाई एउटा आकृति दिन थालेँ । दिन जरूरी पनि थियो । मस्तिष्कलाई भुलाउनु थियो । अग्ली, गोरी, केही चिम्सा आँखा । अनि थाइकट कपाल । यस्तै यस्तै ।

ओरियन्टेसन क्लासको दिन मैले सायालाई चिन्न खोजेँ । जाँदाजाँदै सी.डी.इ.एस.को चौरमा झुण्ड-झुण्ड बसेका प्रत्येक केटीलाई लुकीछिपी हेरेँ । कक्षामा छिर्ने बेलामा पनि पहिल्याउने कोसिस गरेँ । क्लासमा पनि अन्तिम बेन्चमा बसेर आँखा सक्दो च्याती-च्याती अगाडि बसेका केटीहरु हेरिरहेको थिएँ । तर साया को हो, चिन्न असफल भएँ ।

मैले कल्पना गरेको आकृति त्यहाँ उपस्थित कुनै केटीसित मिलेन । न त्यो नाउँको उच्चारण नै त्यस माहौलमा कतै भयो ! मैले हार खाएँ, कमसेकम त्यो दिन । मनभित्रको रहस्यलाई रहस्यमै सीमित राखेर त्यसदिन सी.डी.इ.एस.को प्राङ्गणबाट र्फकन विवश भएँ ।

आइतबार क्लास सुरू भयो । ४८ जना विद्यार्थी थिए क्लासमा । ३२ केटा, १६ केटी । म र किरण भण्डारी ओरियन्टेसन क्लासमा बसेको पछाडिको बेन्च नै ओगटेर बस्यौँ । अरु विद्यार्थी पनि सायद यथास्थानमा बसेका हुँदा हुन् ।

अगाडि बेन्चदेखि एक-एक गर्दै विद्यार्थीको संख्या गन्न थालेँ । पूरै ४८ जना उपस्थित थिए । तिनै १६ जना केटीभित्र थिई साया शाक्य । तर कुन चाहिँ थिई त ?

पछाडिबाट एक-एक केटीलाई नियालिरहेको थिएँ । एउटा क्लास सकिएपछि अर्को क्लास सुरू हुनेबेलामा एकछिन ग्यापजस्तो हुन्थ्यो । त्यो बेला विद्यार्थीहरु ट्वाइलेट जान्थे । त्यति नै बेला म प्रत्येक केटीलाई हेर्थें ।

साया को हो, चिन्नु थियो । हरेक केटी देख्दा मलाई लाग्न लाग्यो- साया शाक्य त्यै केटी त होइन ?

कति मूर्ख म ! केटीहरु निधारमा आफ्नो नाम टाँसेर हिँडिरहेका थिए र, चिन्न सकूँ ? तर पनि मलाई त्यस किसिमको मूर्खतापूर्ण काम गरिरहन मन पर्‍यो । खेलिरहन मन पर्‍यो त्यस किसिमको खेल । केटाकेटी बेलामा खेलिने लुकामारी खेलभन्दा कम रोमाञ्चक पनि त थिएन !

साया यो हो कि त्यो हो कि भनेर कल्पिन भने छोडिनँ ।

केटीहरुले जम्मा चारवटा बेन्च ओगटेका थिए । अगाडिपट्टकिा केटीहरु अलिक भलाद्मी नै देखिन्थे । चार-पाँच जनाले त मोटो फ्रेम भएको चश्मा पनि लगाएका थिए । हेर्दै पढन्ते । पछाडिका केटीहरु भने अलिक जिस्किने, चल्ने र उत्ताउलिने पनि गर्थे । एउटीले अर्कीलाई प्याट्ट टाउकोमा हान्थी । पिटाइ खाने पनि कहाँ चुप लाग्थी ? फर्काइहाल्थी । बेलाबेलामा खित्का छोडेर हाँस्थे ती । तीमध्ये दुई-तीन जना उत्पात सुन्दर थिए । मैले मनमनै कामना गरेँ-साया तीनैमध्ये एक होस् ।

अगाडि बस्ने केटीहरु पूरै चुपचाप बस्थे । लेक्चर चलिरहेको बेला लाग्थ्यो, तिनीहरुको श्वासप्रश्वास अवरूद्ध छ । हाँस्नु तिनीहरुका लागि वर्जित थियो झैँ पनि लाग्थ्यो । ती स्वभावैले त्यस्तै थिए या रमाकान्त यादवले दिएको चेतावनीका कारण, त्यो उनीहरु नै जानून् ।

उनीहरुलाई हेर्दै म सोच्दै थिएँ, साया शाक्य अर्थात् इन्ट्रान्स टपर, क्लासमा भएमध्ये सबभन्दा पढन्ते विद्यार्थी होली ! पछाडिका जिस्किरहने, छिल्लिरहने बिछट्टै राम्रीमध्ये कसरी हुन सक्ली ? फस्टबेन्चमा बस्नेमध्येकै चश्मा लगाउने कुनै एउटी हुनुपर्छ साया । ती केटीहरु कोही पनि राम्री थिएनन् । एकछिन त चुकचुकाएँ ।

प्रतीक्षा गरिरहेको थिएँ कसैले ‘साया’ भनी कसैलाई बोलाओस् । दोस्रो दिन पनि कसैले बोलाएन न मैले चिन्न नै सकेँ ।

तेस्रो दिन ।

रमाकान्त यादवको क्लास थियो । हप्तामा तीनवटा क्लास थिए बूढाका । बूढा क्लासमा छिर्नेबित्तिकै अनुशासनको कारबाही गर्न लागेझैँ भन्न थाले, ‘आजदेखि प्रत्येक क्लास सुरू हुनु अगाडि तिमीहरुको हाजिरी हुनेछ । सबैको हाजिरीको मूल्याङ्कन हुन्छ । इन्टरनल एसेस्मेन्टमा एटेन्डेन्सको नम्बर पनि काउन्ट हुन्छ । म चाहन्छु कोही पनि अनुपस्थित नहोस् ।’ सबैजना फस्ट बेन्चमा बस्ने पढन्ते केटीहरुझैँ श्वासप्रश्वास तथा शरीरको हलचललाई शक्तिले भ्याउन्जेलसम्म स्थिर बनाएर बूढाका कुरा सुनिरहेका थिए ।

रजिस्टर पल्टाएर बूढाले हाजिर गर्न लागे । सबैका नाउँ बोलाउने क्रममा बूढाले साया शाक्यको नाउँ पनि अवश्य बोलाउनेछन् भनेर म सतर्क भएँ । मुटुको गति यथास्थिति भन्दा अलिक तेज भयो । सस्पेन्स सिनेमा हेर्दा अन्तिमतिर रहस्य उद्घाटन हुने बेलाका दर्शकझैँ कक्रिएँ म ।

‘रोल नम्बर एक…., रोल नम्बर दुई…., रोल नम्बर तीन…,’ बूढा कराउन थाले ।

यता म ट्वाँ परिरहेको थिएँ । त्यो नाउँ सुन्ने मेरा सम्पूर्ण शारीरिक एवम् मानसिक तयारी पूरै निष्काम भएका थिए । पहिलो हाजिरी थियो, नाउँले बोलाइदिया भए के जान्थ्यो बूढाको ? बूढासँग मलाई त्यसबेला रिस नउठेको होइन । तर बूढा जो आफैँ रिसका पोकाझैँ थिए, तिनका अगाडि रिसाउनु मेरा लागि फजुल हुन्थ्यो ।

त्यसपछिका हरेक क्लासमा आउने शिक्षकहरुले पनि हाजिर गर्न थाले, तर रोल नम्बर बोलाएर । त्यो दिन पनि मैले साया शाक्य को हो भनेर खुट्याउन सकिनँ ।

अनि एकछिनपछि फेरि आफैँदेखि रिस उठयो । यो यत्रो सब आफ्नै हठका कारणले भइरहेको थियो । व्यर्थ त्यो नाउँप्रति यत्रोविधि उत्सुक नभइदिया भए न रहस्य रहन्थ्यो, न रहस्योद्घाटनको अभीप्सा । धैर्य गर्नुसिवाय मसित कुनै उपाय पनि त थिएन ।

साया एउटा रहस्य बनेर रही मेरा लागि । मलाई लाग्न थाल्यो त्यो रहस्य सजिलै उद्घाटित हुनुहुँदैन । त्यो उद्घाटित हुन विशेष परिस्थिति, विशेष माहौल चाहिन्छ ।

रहस्य पत्ता लगाउने प्यास, जो कैयौँ दिनदेखि मेरो मनभरि स्थिर भएर बसेको छ, त्यो सजिलै नमेटियोस् भन्ने पनि लाग्यो । किनकि प्यास जति लामो भयो, त्यो मेटिँदाको आनन्द पनि त्यति नै ज्यादा हुन्छ । म अझै तड्पिन चाहन्थेँ, मीठो तृप्तिका लागि । तर मान्छेको अधैर्यवान् स्वभावबाट म पनि अछुतो त कहाँ रहन सक्थेँ र ? निरन्तर लागिरहेँ प्यास मेटाउन, तृप्तिको मिठासप्रति निरपेक्ष रहँदै ।

हृदयभरि रहस्य पालेर हिँड्न विवश भएँ । यद्यपि विवशताको स्थिति म स्वयम्ले निर्माण गरेको थिएँ, अनेक विकल्प हुँदाहुँदै । यही मेरो स्वभाव थियो ।

(आख्यानकार भट्टराईको बजारमा आउने क्रममा रहेको उपन्यास अंश)

17 Comments on “समर लभ”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु