१४ पुस, चितवन । राजधानीका विभिन्न ठाउँमा कुखुरामा बर्डफ्लू देखा परेपछि देशकै बढी कुखुरा उत्पादन हुने चितवनमा रोग भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ । सरकारी तवरबाट भन्दा व्यवसायीहरू स्वयम् साङ्गठनिकरूपमा जैविक सुरक्षा अपनाएर रोग भित्रिन नदिन लागिपरेका छन् । रु ५० अर्बभन्दा बढीको लगानी भएको नेपालको कुखुराजन्य व्यवसायमा आधा हिस्सा चितवनले ओगटेको छ ।
नेपाल हृयाचरी उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष टीकाराम पोखरेल व्यवसायीहरू स्वस्फूर्त जैविक सुरक्षामा लागेको बताउनुभयो । चितवनमा अहिलेसम्म कुनै किसिमको रोग देखा नपरेको पशुसेवा कार्यालय चितवनले जनाएको छ । आकस्मिकरूपमा धेरै कुखुरा मरेमा तत्काल पशुसेवा कार्यालय र व्यावसायिक सङ्घ सङ्गठनमा खबर गर्न सूचित गरिएको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्षसमेत रहेका कुखुरा व्यवसायी डा तिलचन्द्र भट्टराईले बताउनुभयो ।
चितवनका व्यवसायीहरू अनुभवी भएका र व्यवस्थित फार्म भएकाले रोग भित्रिनबाट रोक्न सकिएको डा भट्टराईको तर्क छ । राजधानीमा बर्डफ्लू देखिए पनि अन्डा, मासु र चल्लाको मूल्यमा गिरावट आएको छैन । माग बढ्दो रहेको बताउँदै अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले जैविक सुरक्षालाई ध्यान दिन सके रोग भित्रिनबाट रोक्न सकिने बताउनुभयो ।