साहित्यकार मदनमणि दीक्षितलाई लेखनाथ साहित्य पुरस्कार तथा गिरिराज न्यौपानेलाई लेखनाथ प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
लेखनाथ साहित्य सदनले कवि शिरोमणि लेखनाथ पौडेलको १२९ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उहाँहरुलाई पुरस्कृत गरिएको हो । नेपाली भाषा साहित्यको उन्नतिमा योगदान गरेवापत साहित्यकार दीक्षितलाई नगद रु ५० हजारसहितको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार लेखनाथ साहित्य प्रतिष्ठान कास्कीले स्थापना गरेको हो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागबाट २०६८ सालमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका न्यौपानेलाई नगद रु १५ हजारसहित लेखनाथ प्रतिभा पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार लेखनाथ साहित्य सदनले स्थापना गरेको हो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले उहाँहरुलाई पुरस्कार प्रदान गर्दै समाजमा देखिएका विभिन्न विसङ्गतिलाई अन्त्य गर्न साहित्यकारहरु एकजुट भइ अघि बढनुपर्ने समय आएको बताउनुभयो ।