एपीएफलाई हराउँदै मनाङ दोस्रो स्थानमा उक्लियो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एपीएफलाई हराउँदै मनाङ दोस्रो स्थानमा उक्लियो

१६ पुस, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

सोमबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-० ले पराजित गर्दै मनाङले उपाधी होड कायमै राखेको हो । जितपछि १० खेलबाट २१ अंक जोडेको मनाङ कम्तिमा २४ घण्टाका लागि दोस्रो स्थानमा उक्लिएको छ । २० अंकका साथ चौथो स्थानमा रहेको मच्छिन्द्रले भोलि संकटासँग खेल्नेछ ।

संकटालाई पराजित गरे मच्छिन्द्र दोस्रो स्थानमा उक्लनेछ । लिग लिडर थ्रीस्टारको २५ अंक छ । ९ अंक जोडेको एपीएफ १२ औं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले मनाङलाई पहिलो हापसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर, ४८ औं मिनेटमा मनाङले पेनाल्टी गोलमार्फत अग्रता लियो । एपीएफका राजेन्द्र श्रेष्ठले शिव श्रेष्ठलाई लडाएपछि पाएको पेनाल्टीमा सविन्द्र श्रेष्ठले गोल गरेका हुन् ।

५१ औं मिनेटमा मनाङका कप्तान अनिल गुरुङले गोल गरेपनि रेफ्रीले अफसाइड दिए । ५८ औं मिनेटमा शिवले मनाङको अग्रता दोब्बर पारे भने ८६ औं मिनेटमा सिकोले गोल गर्दै मनाङलाई ३-० को महत्वपूर्ण जित दिलाए ।

अर्को खेलमा जाउलाखेल युथ क्लबले बौद्धलाई ३-० ले पराजित गरेको छ । खेलमा जाउलाखेलले ५ औं मिनेटमा जुमाको गोलबाट अग्रता लियो । ५७ औं मिनेटमा जुमाले अग्रता दोब्बर परे भने ७३ औं मिनेटमा जोन डिकेले गोल गर्दै ३-० को जित दिलाए ।

जितपछि १० खेलबाट १४ अंक जोडेको जाउलाखेल आठौं स्थानमा उक्लिएको छ भने पुछारमा रहेको बौद्धको एक अंक मात्र छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु