कास्कीको दक्षिण भेग उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कास्कीको दक्षिण भेग उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै

१८ पुस, पोखरा । विश्वमै प्रसिद्ध पर्यटकीय नगरी पोखराको दक्षिणी भेगमा पर्ने भरतपोखरीलगायतका क्षेत्र विस्तारै ग्रामीण पर्यटन गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि अपेक्षित विकास हुन नसकेको कास्की जिल्लाको दक्षिण भेग अहिले भने पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ ।

पोखरा बजार क्षेत्रबाट केही समयको दूरीमा रहेको दक्षिणी भेगका भरतपोखरी, निर्मलपोखरी र कृस्ती गाविसमा पछिल्लो समयमा पर्यटकीय गतिविधि बढेको छ । स्वदेशी एवम् विदेशी पर्यटकहरु पदयात्राका लागि यहाँ आउने गरेका छन् । करिब ८० वर्ग किमि क्षेत्रफलमा फैलिएको यस क्षेत्रले कास्की जिल्लाको कुल ३.९७ प्रतिशत क्षेत्रफल ओगटेको छ । तीन गाविसका भौगोलिक संरचना नेपालको उल्टो नक्साका रुपमा मिल्दो देखिन्छ ।पोखरा उपत्यकालाई पहरा दिएझैँ दक्षिणी भेगमा उभिएको यहाँको उच्च पहाडी भू-भागबाट माछापुच्छे्र, अन्नपूर्ण, धौलागिरिलगायतका हिमश्रृङ्खला, आधुनिकीकरणले सिँगारिदै गएको पोखरा उपमहानगरपालिका, सात तालको बगँैचा सहर लेखनाथ नगरपालिकाको अनुपम प्राकृतिक दृश्य निकै रमणीय देखिन्छ । स्याङ्जा, तनहुँ र नवलपरासी जिल्लाका देवचुली बरचुलीलगायतका विभिन्न स्थानको एकसाथ अवलोकन गर्न सकिने सो क्षेत्र ग्रामीण पदयात्राको रोजाइमा पर्दै गएको छ ।

काठमाडौँपछिको पहिलो रोजाइका रुपमा रहेको पर्यटकीय नगरी पोखरामा वाषिर्क एक लाखभन्दा बढी विदेशी पर्यटक पुग्ने गर्छन् । त्यस्तै स्वदेशी पर्यटकको रोजाइका रुपमा पनि पोखराको आकषर्ण दिन प्रतिदिन बढ्दै गएको छ । अन्नपूर्ण पदयात्रा मार्गको मुख्य प्रवेशद्वारका रुपमा रहेको पोखरा पुग्ने स्वदेशी एवम् विदेशी पर्यटकको बसाइ लम्ब्याउन कास्कीको दक्षिणी भेगमा पर्यटकीय गन्तव्यस्थलसँगै पर्यटन पूर्वाधार पनि विस्तार गर्दै लैजानुपर्ने आवश्यकता देखिएको छ । पर्याप्त पर्यटन विकासको सम्भावनाका बाबजुद हालसम्म ओझेलमा परेको कास्कीको दक्षिण भेगलाई आधारभूत पर्यटन पूर्वाधारको विकास गरी पर्यटनको उपयुक्त गन्तव्य बनाउन सकिने निर्मलपोखरी, भरतपोखरी कृस्ती सेवा समाजका अध्यक्ष पुष्पराज आचार्य बताउनुहुन्छ । सो क्षेत्रमा सडक, होटलका साथै रमणीय दृश्यावलोकनका लागि आवश्यक पूर्वाधार जुटाउनु पनि चुनौतिका रुप्ामा रहेको छ । सो क्षेत्रबाट देखिने तालतलैया, नदीनाला आदिको अवलोकन गराउन पर्यटकस्तरीय होटल, रिसोर्ट, पदयात्रा मार्ग आदिको व्यवस्था गरी त्यहाँको पर्यटकीय विकास गराउनु अपरिहार्य भएको अध्यक्ष आचार्यको भनाइ छ ।

लामो समयदेखि बन्ने चर्चा भएर पनि बन्न नसकेको कृस्ती गाविसको सिमानाबाट निर्मलपोखरी-८ शिवालय टोल हुँदै निर्मलपोखरी, भरतपोखरीका उच्च पहाडी भू-भागबाट लेखनाथको लामेअहाल जोड्ने सडक मार्गलाई पछिल्लो समयमा व्यवस्थित गर्न थालिएको छ । यसले सो क्षेत्रको विकासमा मात्र नभई त्यहाँको पर्यटकीय विकासलाई अघि बढाउन बल पुग्ने निर्मलपोखरी, भरतपोखरी ग्रामीण पहुँच सडक विस्तार उपभोक्ता समितिका सचिव गुरुप्रसाद पौडेलले बताउनुभयो । समग्र पर्यटकीय विकासका लागि सडक, खानेपानीजस्ता आधारभूत पूर्वाधारहरु जुटाउन नसकेका कारण लामो समयसम्म ओझेलमा परेको सो भेगमा हाल सडक निर्माण हुने क्रमसँगै खानेपानी योजनाहरु सम्पन्न हुन थाल्नुले त्यहाँको पर्यटकीय विकासमा थप टेवा पुग्ने विश्वास लिइएको पनि उहाँले बताउनुभयो ।

बस्तीभन्दा धेरै तल पानीको स्रोत भएका कारण पुस्तौँदेखि खानेपानीको चरम अभाव भोग्दै आएको त्यस क्षेत्रमा पछिल्लो समयमा सम्पन्न निर्मलपोखरी, भरतपोरी कृस्ती वृहत्त खानेपानी योजनाको पानी वितरण र पानीका वैकल्पिक स्रोतसमेतको खोजी हुन थालेपछि पानीको समस्या क्रमिक रुपमा समाधान हुँदै जान थालेको खुर्वादी हुँडीकोट लिˆटिङ खानेपानी सरसफाइ तथा सिँचाइ उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका पौडेल बताउनुहुन्छ ।सडक तथा खानेपानी समस्याको समाधान हुँदै जान थालेपछि पर्यटकका लागि तत्काल होटल, रिसोर्ट उपलब्ध नभए पनि सो क्षेत्रमा होम-स्टेका माध्यमबाट पर्यटकलाई आकषिर्त गर्नसकिने उहाँको धारणा छ । पर्यटकीय विकासका आधारभूत पूर्वाधार सडक, खानेपानीलगायतका समस्याको समाधान हुने क्रमसँगै सो क्षेत्रमा पर्यटनको सम्भावना बढेर गएको भरतपोखरी-५ का युवक विष्णु थापा बताउनुहुन्छ ।

हिमाली दृश्य, पोखरा उपत्यका, भूमिगतरुपमा बगेको सेती नदी तथा सात तालको दृश्य एकसाथ अवलोकन गर्नसकिने हुँडीकोट पर्यटकका लागि पुग्नै पर्ने गन्तव्यस्थल हो ।हुँडीकोटका साथै बरपाण्डेथुम, शिवालय, फोक्सिङ्गजस्ता रमणीय स्थलहरु पनि पर्यटकलाई लोभ्याउनसकिने गन्तव्यस्थ्ालका रुपमा विकसित हुँदै गएका छन् । ऐतिहासिक कोटभैरव मन्दिर, चण्डी मन्दिर, महारुद्रस्थान, सिद्धबाबा, भूलभूलालगायतका धार्मिक स्थलका कारण सो क्षेत्रमा धार्मिक पर्यटन विकासको सम्भावना पनि उत्तिकै रहेको छ ।  विगतमा विभिन्न ठूलठूला पोखरी रहेका कारण गाविसका नामसमेत भरतपोखरी, निर्मलपोखरी रहेको बताउँदै थापाले यहाँका ऐतिहासिक पोखरीहरु भरतपोखरी, निर्मलपोखरी, भोटेपोखरी -भरतपोखरी-५ को रङ्गेडाँडा र सैमराङ्ग बीचमा पर्ने) मा हिउँदमा पनि पानी नसुक्ने पोखरी रहेको जानकारी दिनुभयो ।उहाँका अनुसार चराचुरुङ्गीका चिरबिराहट सुन्दै चिरगादीबाट सुरौदीसम्मका भूभागमा पर्यटकका लागि उपयुक्त पदमार्ग निर्माण गर्नसकिने सम्भावना रहेको छ ।

त्यस भेगको चिरगादीफाँट सिँचाइको उपयुक्त व्यवस्था नभएता पनि मुलुककै उत्कृष्ट गोलभेँडा उत्पादन हुने ठाउँमा पर्छ । पछिल्लो समयमा पोखराबाट चिरगादीफाँट हँुदै लामगादीसम्म सडक व्यवस्थित गर्दै यातायात सेवा सञ्चालन गरिनु यसक्षेत्रको पर्यटकीय विकासका लागि महत्वपूर्ण उपलब्धि भएको निर्मलपोखरी, भरतपोखरी कृस्ती सेवा समाजका सचिव पीतृराज आचार्यले बताउनुभयो ।  चिरगादीफाँट क्षेत्रमा केही वर्षयता कृषिका विभिन्न प्रविधिको उपयोग गर्दै उत्पादन गर्न थालिएको र सिँचाइको उचित प्रबन्ध भएमा सो क्षेत्रलाई कृषि-पर्यटनको समेत उपयुक्त गन्तव्य बनाउन सकिने स्थानीयवासी बताउँछन् । त्यसक्षेत्रको पर्यटकीय विकाससँगै स्थानीय युवालाई उनीहरुका योग्यता एवम् दक्षताअनुसार स्थानीयस्तरमा रोजगारीका अवसरहरु सिर्जना गर्नसकिने सम्भावना रहेको शान्तिउदय उच्च मावि, भरतपोखरीका पूर्व विद्यार्थीसमेत रहनुभएका त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह-परीक्षा नियन्त्रक कृष्णप्रसाद आचार्य बताउनुहुन्छ । रासस

One Comment on “कास्कीको दक्षिण भेग उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु