१९ पुस, तनहुँ । तनहुँको माथिल्लो सेती परियोजना हाइड्रोपावर निर्माण गर्दा असर पर्ने घर जग्गाको मूल्याङ्कन गरी नेपाल सरकारले ११ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ ।व्यास नगरपालिका वडा नं ७ बेनीपाटन र काँहुशिवपुर गाविस-१ झापुटारका ३४ जनालाई उक्त रकम वितरण गरिएको हो । पहिलोचरणमा उक्त क्षेत्रका घर र बाटो परेकाहरूलाई मुआब्जा वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखापाल रघुनाथ पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार परियोजनाबाट असर पार्न सक्ने त्यस क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्दा करिब रु ४० करोड लाग्ने अनुमान गरिएको छ । एक वर्षअघि सेती नदीमाथिको दायाँ बायाँ क्षेत्रमा चट्टान परीक्षण गर्दा परियोजनाका लागि राम्रो स्थान मानिएपछि परियोजना सञ्चालनका लागि काम अघि बढाइएको हो ।
उक्त परियोजनका लागि जाइका, विश्व बैंकलगायतका विदेशी संस्थाहरूले लगानी गर्न तत्परतासमेत देखाएका छन् भने परियोजनाबाट करिब १४० मेघावाट विद्युत् उत्पादन हुने लक्ष्य लिइएको बताइएको छ । रासस