मिलन संग्रौला
-”त्यति जाबो कुरो पनि गरिरहने हो र याद ?”
-”तिमीले त्यत्रो कुरो पनि कति सजिलै बिर्सेको हँ ?”
-”छि, त्यति सानो कुरोलाई पनि कत्ति सम्झिरहने ?”
-”खै मलाई त यादै छैन यार ती कुराहरु ।”
आफूलाई ठूला लागेका कुराहरु, अरुलाई नलागेका हुन सक्छन् । आफूलाई सामान्य लागेका कुरा अरुलाई ठूला लागिरहेका हुन सक्छन्, त्यसले उनीहरुलाई सताइरहेको हुनसक्छ । माथिंगल मथिरहेको हुनसक्छ । आफूले यादै नगरिएका कति क्षणहरु, कति पलहरु सम्झना भएर छापिएका हुन सक्छन् अरुका दिमागमा । त्यस्तै नै हुन सक्छ आफूमा पनि । अरुद्घारा वेवास्ता गरिएका कति कुराहरु सम्झिरहेकै हुन्छौँ हामी पछिसम्म पनि । र, तिनै कुराबाट अप्ठयारो परिस्थिति उब्जाउँछौ हामी एकअर्कामा ।
मन ढक्क पारेर सम्झनाका कुइनेटाहरु कोट्याउँदै ती क्षणहरु स्मरण गराउने प्रयत्न गर्छौ हामी त्यसक्षणका पात्रहरुलाई । तर भनिदिन्छन् उनीहरु, “खोइ ? मैले त खासै सम्झिन हौ ति कुरा ।” अनि त्यत्रो ढक्क परेको मन छक्क परेर सुस्ताउँछ । हामी फेरि बल गछौँ सम्झाउन ती कुराहरु तर जोड चल्दैन । उल्टै उताबाट सुरु हुन्छन् कुरा,”बरु त्यो बेलाचाहिँ यस्तो भएको थियो ? सम्झना छ हैन ?” अब हाम्रो पालो आउँछ । सम्झने प्रयत्न गर्छौं, अहँ सकिँदैन । अनि छक्किने पालो हुन्छ उनीहरुको ।
हरेक पल जब घट्ने गर्छन्, हामी आफ्नै कोणबाट गुजि्ररहेका हुन्छौं । तर त्यही क्षणमा गरिने हेराइका तरिका भने सयौं हुन सक्छन् । हामीसँगै रहने अन्य पात्रहरुले त्यसक्षणलाई फरक अनुभवमा भोगिरहेका हुन सक्छन् । र त्यही अनुभवको भिन्नताले नै हामी ती पललाई एकनासले सम्भिmरहँदैनौं । अनि केयौ पलहरु, जो अरुका लागि महत्वर्पूण लागिरहेका हुन्छन्, हाम्रा लागि ती झिनामसिना कुराहरु हुन्छन् ।
अरुले झिनामसिना सम्झिएका कयौं कुराले कहिलेकाहिँ हामीलाई अति नै तनाब दिइरहेका हुन्छन् । त्यस्तै हामीद्घारा अरुमा पनि भइरहेकै हुनसक्छ । तर यो कुरा विरलै ख्याल गर्छौं ।
एकपटक मान्नुपर्ने आफन्तको खुट्टा किल्चिदिएँ मैले । म हतारमा थिएँ । काम सकिएपछि पो मैले त्यो कुरो सम्झिएँ । अनि मलाई आत्मग्लानिले पोल्न थाल्यो । ठूलै गल्ती गरेको भान भयो । माफ माग्ने मनशायले उनलाई खोज्न थाले । तर उनी त अघिनै फर्किसकेका रहेछन् । अनि मलाई कतिखेर उनलाई भेटेर माफी मागुँजस्तो भयो । तर लगातार तीनदिनसम्म उनी भेटिएनन् र म त्यही कुराको औडाहाले पिरोलिइरहे । तीनदिनपछि जब भेट भयो , हतारिँदै उनीसामु गएर भनें, “अस्ति तपाईंको खुट्टा कुल्चिएछु, जानेर हैन । माफी चाहन्छु ।”
सुनेर उनी छक्क परे । अनि भने, “हैन के भन्छ यो ? कहिलेको कुरो ?” मैले कति सम्झाउँदा पनि सम्झएनन् त्यो क्षण । उल्टै हाँस्दै धाप मार्दै भने, “त्यस्तो झिनोमसिनो कुरो पनि सम्झिरहने हो र ?” अनि मैले आफूलाई चेखबको कथा “कारिन्दारको मृत्य” को कारिन्दार र विपीको “दोषीचस्मा”को केशवराजसँग दाँजे । सोचें, ती दुवै झिनामसिना कुराका सिकार न भएका थिए !
सबैको हेर्ने कोण बेग्लै । सबैको बुझ्ने अर्थ बेग्लै । सबैको भोग्ने भोगाई बेग्लै । कोही कसैको हेराई, बुझाई र भोगाईमा समरुपता हुन सक्दैन, चाहे जति नै नजिकका ठानिएका किन नहुन् एकअर्कामा । यो पनि मेरो बुझाई हो । यसमा अरुको भिन्नतालाई स्वागत छ । लाग्छ, यिनै भिन्नताकाबीच जन्मिन्छन् महत्वपूर्ण र झिनामसिना कुराहरु ।
कुनै चीज माथिबाट खस्यो । कति झिनोमसिनो कुरो हो यो ? तर यही झिनोमसिनो कुरोले न्युटनलाई गूरुत्वाकर्षणको त्यस्तो महत्वपूर्ण सिद्धान्त पत्ता लगाउन मद्दत गर्यो । न्युटनको ठाउँमा हामी भएको भए, स्याऊ त के, फर्सी नै खसे पनि याद गर्दैनथ्र्यौ होला । त्यसो त नयुटनले पनि पहिले पहिले चीजहरु खसेको देखेका थिएनन् र ? त्यसैले लाग्छ, मान्छेले गर्ने अनुभव स्वयमं पात्रमा मात्र हैन, समय, स्थान, परिवेश, उसका वरिपरि उपस्थित अन्य पात्रहरु र त्यसबेलाको उसको ध्यानमा समेत निर्भर हुने रहेछ । त्यसैले होला मान्छे मर्नु, बुढो हुनु, रोगी हुनुजस्ता अरुले वास्तै नगरेका झिनामसिना कुराले नै बुद्धलाई बुद्धत्वको मार्ग देखायो ।
हाम्रो दैनिकीमा घटिरहेका कयौँ घटनाहरु यसरी नै झिनामसिना भएर बितिरहेका हुन्छन् । हामीले मष्तिष्कमा राखेका महत्वपूर्ण ठानिएका पनि अरुका दृष्टिमा झिनामसिना पनि हुनसक्छन् । हामीले वास्तै नगरेका कयौँ झिनामसिना कुराहरुमा अर्को गुरुत्वकार्षण सिद्धान्त पत्ता लगाउने दम नहोला भन्न सकिन्न । तर यसो भन्दैमा कहाँ कतिखेर महत्वपूर्ण घटना घट्ला भनेर ढुक्न पनि त हामी सक्दैनौ । यसो गर्यौं भने त हाम्रो दैनिकी नै भताभुङ्ग भएर जान्छ ।
लाग्छ, झिनामसिना कुराहरु हाम्रा दैनिकीका सत्य हुन्, अनिवार्य हुन् । वरु महत्वपूर्ण ठानिएका चाहिँ भ्रम मात्र पनि हुन सक्छन् तर अनिवार्य भ्रम । यी दुवैलाई साथ नलिई हामी अघि बढ्न सक्दैनौँ । सबै कुराहरु महत्वपूर्ण हुन सक्दैनन् । त्यसैले हाम्रा सामु झिनामसिना कुराहरु नै बढी हुन्छन् आआफ्ना नजरमा । महत्वपूर्ण ठानिएका पनि हुन्छन् आआफ्नै कोणबाट ।
घट्ने कुराहरु घट्दै जान्छन् । जसरी दैनिकी गुजि्रनुपर्ने हो, त्यसरी गुजि्रन्छ, गुजि्रन दिनुर्पछ । हामीले झिनामसिना कुराहरुलाई महत्वपूर्णमा बदल्ने प्रयास पनि गर्नु बेकार हो जस्तो लाग्छ । यदि हामीले यसो गर्ने सोच बनाएर प्रत्येक कुरालाई, प्रत्येक घटनालाई महत्वले हेर्न थाल्यौँ भने हाम्रो यो कार्य नै स्वयमं झिनामसिना कुरामा दरिन पुग्नेछ ।
हामी संसारकितामा यसरी बाँधिएका छौँ कि आफ्नो कोणबाट मात्र हेरिएका महत्वपूर्ण कुराले मात्र हामी यहाँ टिक्न सक्दैनौँ । त्यसैले आफ्नो मात्र होइन अरुले सोचेका, महत्व दिएका कुराहरुलाई पनि हामी बुझिदिएझैँ गर्नैपछ । तर यही कुरो नबुझ्दा मानिसहरुबीच द्घन्द्ध चर्किने गर्छ । यो कुरो नबुझ्ने अबुझहरुमा लाग्छ सबैभन्दा बढी नेताहरु पर्छन् ।
मैले यसरी झिनामसिना कुराका बारेमा लेख्नु पनि कतिका नजरमा झिनोमसिनो कुरो भइसकेको होला । मैले महत्वपूर्ण देखेका यी झिनामसिना कुराहरुको झिनोमसिनो कुरो यहाँ लेख्ने जमर्को गरिहाँले । पढेर जे लाग्छ त्यही रहन दिनुहोला । झिनोमसिनो भए झिनोमसिनो नै रहन दिनुहोला र लेख पढेर महत्वपूर्ण कुरा खोज्ने जमर्को गरेर दैनिकीलाई नबिगार्नु होला ।
(संग्रौला आख्यानकार हुन् । उनको ‘च्याटकी केटी’ कथासंग्रह प्रकाशोन्मूख छ ।)
lu badhai chha hai lekh lekhnu bhayekoma
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
sahrai ramro lago hajurko darshan
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Good One!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Kura ramrai ho ,jivan ma hamila khatidheri mahata nadiya ka kurahuru la ni thulo role play gar6n ni
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ekdum ramro cha lekh milan ji, tapai lai uttarotar pragati ko subhakamana.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]