२१ पुस, काठमाडौं । जनवादी कलाकारहरुको दुईदिने सांस्कृतिक महोत्सव राजधानीमा जारी छ । शुक्रबार राष्ट्रिय सभागृहमा जनकलाकार रामेश र रायनले ‘हामी जित्ने छौं एक दिन’ बोलको गीत गाएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
गीती कार्यक्रमको पहिलो दिन जनवादी कलाकारहरु जेबी टुहुरे, जीवन शर्मालगायतले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एमाओवादी र माओवादी दुबै पक्षका सामना टोलीका कलाकारले एकै मञ्चबाट गीत गाएका थिए । कार्यक्रममा कलाकार एवं नेता मणि थापाका गीत पनि गाइएका थिए ।
पहिलो दिनको कार्यक्रममा कार्यक्रममा माधव प्रधान, ईश्वर जोशी, सानु पहाडी, बदन शर्मा, झन्कार मगर लगायतले गीत गाएका थिए भने कवि मात्रिका पोखरेल, बलराम तिमल्सिना, केशव सिलवाल, डा. विश्वनाथ प्रेम र पुन्य गौतमले बकिता वाचन गरेका थिए ।
शनिबारको कार्यक्रममा रामेश र रायनले विशेष सांगीतिक प्रस्तुती गर्नुका साथै चर्चित कलाकार जीवन शर्मा र जेबी टुहुरे लगायतले गीत गाउने आयोजक ‘जनसंस्कृति नेपाल’का कलाकारले बताएका छन् ।
कुनै पनि पार्टी र गुटमा नलागी साझा रुपमा जनवादी कलाकारहरुले गत सालदेखि वर्षेनी यस्तो सांगीतिक कार्यक्रम गर्न थालेका हुन् । गत साल प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कार्यक्रमको उद्घाटन लगाइएकोमा यसपालि स्वच्छ छविका कोही पनि नभेटिएकाले नेतालाई कार्यक्रममा नबोलाइएको आयोजकको तर्क छ ।