सोसल नेटवर्किड साइट फेसबुकको सिको गर्दै माइक्रो ब्लगिड साइट टि्वटरले पनि सार्वजनिक शेयर जारी गर्ने भएको छ । आउँदो वर्ष सन् २०१४ मा सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी टि्वटरले गरिरहेको बताइएको छ ।
अमेरिकी शेयर बजारमा १५ अर्ब अमेरिकी डलर बराबरको कम्पनीको रुपमा टि्वटरले सुरुवाती शेयर जारी गर्नेछ । दशौँ लाख प्रयोगकर्ता रहेको टि्वटरले सार्वजनिक कम्पनी बनेसँगै आफ्नो लोकपि्रयता झनै बढ्ने विश्वास गरेको छ ।
सन् २०१३ को चौथो त्रैमासिक सम्ममा सार्वजनिक कम्पनीको रुपमा शेयर जारी गर्न पाउनका लागि निवेदन दिने तयारी टि्वटरको छ ।
सार्वजनिक शेयर जारी गर्दा फेसबुकले पाएको असफलताबाट टि्वटरले पाठ सिक्दै अगाडि बढ्ने तयारी गरिरहेको र सोही अनुरुप आयस्तरको आधारमा शेयर मूल्यांकन गर्ने तयारी गरिरहेको बताइएको छ । पछिल्लो समयमा टि्वटरको आम्दानीमा तिब्र वृद्धि भैरहेको छ । सन् २०१२ मा मात्र टि्वटरले साढे २४ करोड डलर आर्जन गरेको छ ।
टि्वटरले आफ्नो आम्दानी उच्च रहेकै बेला सार्वजनिक शेयर जारी गर्ने सोँच बनाएको छ । यो सँगै टि्वटरलेे आफ्नो बजारीकरणमा समेत ठूलो कसरत गर्दै प्रयोगकर्ताको संख्या वृद्धिमा जोड दिइरहेकेा छ । अहिले विश्वमा २० करोड टि्वटर प्रयोगकर्ता रहेका छन् ।