३ माघ, काठमाण्डौ । क्षेत्रीय खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालय धनगढीले गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्ने भीमदत्तनगर बजारका व्यवसायीमाथि कारबाही सुरु गरेको छ । चालु आर्थिक वर्षमा नमूना जाँच गरिएकामध्ये गुणस्तरहीन देखिएको १३ व्यवसायीलाई कारबाहीका लागि पत्र पठाएको हो ।
क्षेत्रीय कार्यालयले २६ व्यवसायीको खाद्य पदार्थको नमूना जाँच गरेको थियो । क्षेत्रीय कार्यालयका प्रमुख सञ्जीवकुमार कर्णले नमूना जाँचमा गुणस्तरहीन भेटिएका व्यवसायीलाई खाद्य ऐन, नियमावलीअनुसार कारबाही थालिएको बताउनुभयो । “पहिलो चरणमा पत्र पठाएका छौं, त्यसको जवाफका आधारमा थप प्रक्रिया अघि बढाउँछौ” उहाँले भन्नुभयो ।
कारबाहीमा पर्नेमा खाद्यान्न, किराना पसल, उद्योग तथा मिठाइ पसलहरु छन् । ती पसलमा न्यूनस्तरका खाद्य पदार्थ भेटिएपछि क्षेत्रीय कार्यालयले जाँचका लागि लगेको थियो । क्षेत्रीय कार्यालयको प्रयोगशालामा जाँच गरिएकामध्ये बैलकोल्हु र सखी ब्राण्डको खाने तेल, दूध तथा दुग्ध पदार्थ, मिठाइ, प्राइम ब्राण्डको भारतीय नुन, गोल्डी मसाला, चिसो पेय कोकाकोला, म्याजिक सस र मुना चिया छन् ।
सबै प्रकारका खाद्य पदार्थका दुईदेखि तीन वटासम्म नमूना जाँच गरिएको कार्यालयले जनाएको छ । क्षेत्रीय कार्यालयका अनुसार पत्र पठाएका व्यावसायीमा गङ्गा जनरल स्टोर, महालक्ष्मी प्रोभिजन, पाठक डेरी, नर्मदा डेरी, आरएन किराना पसल, पारस डेरी, दर्ता नभएको करण मल्ल र वीरेन्द्र शाहीको पसल, पूजा किराना पसल, गुड्डु स्वीट हाउस, कैलपाल स्वीट हाउस छन् । रासस