८ माघ, बागलुङ । ब्लड क्यान्सरबाट पीडित बागलुङ भकुन्डेकी एक बालिकाको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले इजरायलबाट आर्थिक सहयोग प्राप्त भएको छ ।बालिका अङ्किता रिजालको उपचारका लागि गठित सहयोग समितिमार्फत इजरालमा कार्यरत भकुन्डे गाविस- ६ निवासी देवी शर्माको सक्रियतामा नेपालीबाट सङ्कलित रु २७ हजार देवी शर्माका श्रीमान् दानप्रसादले सहयोग समितिका सहसंयोजक गणेश पौडेललाई हस्तान्तरण गर्नुभयो ।
भकुन्डे गाविस- ६ निवासी तिलप्रसाद र कान्ता रिजालकी छ वषर्ीया छोरी अङ्किताको केही समयदेखि ब्लड क्यान्सरका कारण भारतको नयाँ दिल्लीमा उपचार भइरहेको छ । समितिले अङ्किताको स्वास्थ्य उपचारका लागि सहयोग गर्न सबैलाई आग्रह गरेको छ । अङ्किताको उपचारका लागि रु ३० लाखभन्दा बढी खर्च हुने भएकाले सबैको सहयोग आवश्यक रहेको बताइएको छ ।
सहयोग सङ्कलन समिति र आदर्श सञ्चार सहकारी संस्थाको सहकार्यमा सहयोग रकम सङ्कलनलाई तीव्रता दिइने जनाइएको छ । सहयोग समितिले आदर्श सञ्चार सहकारी संस्थाको माछापुच्छ्रे बैंकको खाता नं ४४४०५२४१७५५१९०१३ मा रकम पठाउन आग्रह गरेको छ । रासस