विश्वास हमाल
अफ्रिका बसाइका धेरै सम्झनाहरूमध्ये यो एउटा रमाइलो घटना म सधैं सम्झिरहन्छु। नोवेम्बरको त्यो दिन तान्जानियाको दार-एस-सलाममा सधैं झै घमाइलो थियो। यहाँ न जाडो हुन्छ न गर्मी। वर्षैभरि उस्तै मौसम हुँदो रहेछ। लोकल च्यानलमा नाइजेरियन फिल्म हेर्दै बसेको थिएँ । दिउँसो दुई बजे अचानक बत्ती गयो। बेला-बेलामा लोड शेडिङ हुँदानेपालको याद बल्झिन्छ। आजको तीनवटा पत्रिका सबै पढी सकेको थिएँ। त्यसैले घरमा बसिरहन बोर लाग्यो र बाहिर निस्किएँ ।
म बसेको घर तल नरिवलको लटरम्म रुख छ। त्यसैको अर्को तीर केराको रुख छ। नरिवलको रुखमुनि सेतो प्लास्टिकको कुर्ची पनि छ। त्यो थोत्रो कुर्चिमा बसी पत्रिका पढ्नुको मजा बेग्लै छ।दार-एस-सलाम तान्जानियाको मात्र नभै पुर्वी अफ्रिकाकै सबै भन्दा ठुलो शहर हो। जसलाई दार भनि चिनिन्छ। यहाँ राष्ट्रपतिख र प्रधान्मन्त्री कार्यालयदेखि लिएर सम्पुर्ण वैदेशिक नियोग हरू छ्न् तैपनि यो तान्जानियाको प्रशाशनिक राजधानी भने होईन । दारबाट अली टाढाको सानो शहर डोडोमामा राजधनी सरेको छ। दारको जनसंख्या ५० लाख भन्दा बढी छ। त्यो मानेमा हाम्रो काठ्मान्डु, भक्तपुर र ललितपुर जोडदा पनि ठ्याक्कै दोब्बर।
ठूलो शहर ठुलै समस्या। भाग्यवश मैले राम्रो ठाउँमा बस्नको लागि घर पाएँ। यो घर सरकारी आवास अन्तर्गत पर्दो रहेछ। यो शहरमा मात्र नभै देशैभरि यस्ता सरकारी घरहरू छन्। जसले त्यो घरमा बास्ना पाउन्छ उ चिट्ठा परेसरि भाग्यमानी ठहरिँदो रहेछ किनकि सुविधा धेरै भाडा कम।ती घरहरु पाउन निकै तोरी पेल्नु पर्छ भन्ने कुरा पछि थाहा पाएँ। की ठुलै नेताको मान्छे हुनु पर्ने कि त कतै सोर्स फोर्स। मलाई थाहा छैन, कसरी मेरो घरबेटीले त्यो घर पायो। पछि थाहा भो, उसका स्वर्गिय पिता देशकै गृहमन्त्रीरअर्थमन्त्री भैसकेका रहेछन्।यो इलाकालाई उपाङा भन्छ, जुन शहरकै अत्यन्त महँगो र शौखिन क्षेत्र भित्र पर्ने। म बसेको डबल बेडरुमको घरमा मेरो अपार्ट्मेन्ट मेट र म बस्छौ। उसले पुरै घरको तिर्ने भाडा भन्दा बढी मैले एउटा कोठाको लागि तिरेको छु। तर पनि मेरो यसमा केही गुनासो छैन। खुशी छ कि यति छोटो समयमा मैले यस्तो राम्रो ठाउ पाएँ।
गर्मिमा घर बसिरहन मन लागेन। झ्यालबाट तलको सेतो कुर्ची हेरें, खाली थिएन। म सधैं अफिस जाँदा आउँदा बसबाट बाटोमा ठूलो मन्दिर देख्ने गर्थे। आज फुर्सदको समय त्यहीँ जाने निर्णय गरें।तान्जानियामा भारतीयहरू यति धेरै छन् कि यिनीहरूको आफ्नै संसार छ।शहरमा भएका आधा जसो सिनेमा हलहरुमा रिलिज भएकै दिन हिन्दी चलचित्रहरू लाग्छन्। ठूला उद्योग देखि, शपिङ कम्प्लेक्स, निर्माण कम्पनी, बैँक सबैमा यिनीहरूको आधिपत्य छ। तर दुस्खको कुरा के भने दशकौदेखि यहीँ बस्दै आए पनि भारतीयहरूको स्थानीयसँग अत्यन्त कम मात्र घुलमिल छ। यिनीहरूको यहाँ आफ्नै स्कुल, आफ्नै मन्दिर्, आफ्नै समाज र आफ्नै संसार छ।
घरबाहिर निकें, कालो चश्मा लगाए पनि टाउकोमा सूर्यको किरण सिधै ठोक्किए जस्तो भान हुन्थ्यो। ट्याक्सी ड्राइभरहरुले सोधे ,कता जाने ? दारमा चल्ने ट्याक्सीहरूमा मैले अझसम्म मिटर चलेको देखेको छैन। जति सोझो उति बढी भाडा। कम से कम हाम्रो काठमाडौंमा नामको लागि मात्र भए पनि मिटर त छ। नजिकैका युगान्डा र रुवान्डामा जस्तो मोटरसाइकल ट्याक्सी चल्दैनन् यतातिर। तर म डाला-डाला समाउने सोचमा छु। दारमा चल्ने सिटीबसलाई डालाडाला भन्छन्।घुम्ने मेरो सपना हो। मानिसहरू भन्छन् जब म सफल र धनी हुन्छु संसार घुम्ने छु। म यो जीवनमा सफल या धनी हुन्छु हुँदिन थाहा छैन। तर घुम्ने सपना भने विस्तारै विपना हुँदैछ। जब म कुनै विकसित देशमा जान्छु, आफूले धेरै वर्ष तर उपलब्धिबिहीन भएर बिताएको देश फिनल्याण्डसँग दाँज्न मन लाग्छ। त्यस्तै विकासोन्मुख देश घुम्ने मौका पाउँदा भने आफ्नै प्यारो मातृभूमी सँग तुलना गर्न मन लाग्छ। दारलाई मैले प्रत्येक पल्ट काठमाडौंसँग तुलना गरेर हेर्छु। काठमाडौंभन्दा दार धेरै अगाडि छ। रोडहरू ठूला छन्, सार्वजानिक यातायात राम्रा छन्, ट्राफिक लाइट पनि त्यति खराब छैनन्, खेलकुदमा धेरै रुचि भएकोले म यंहाको राष्ट्रिय रङशालामा दुई पटक गेम हेर्न पनि गएको थिएँ। साठी हजार सिट भएको अत्यन्त आधुनिक रङशाला लाई हाम्रो दशरथ रङशाला लाई तुलना नै गर्न मिल्दनैथ्यो। तर, त्यो भन्दैमा यो गरीब अफ्रिकी मुलुक हामि भन्दा विकसित छ भने भने गलत हुन सक्छ।
गर्मिमा बस स्टपनिर डालाडाला (सिटिबस) कुरिरहें। तर, नेपाल यातायात जस्तै जहिले पनि भरिएर आउँथ्यो। ३ किलोमिटरको लागि ट्याक्सीमा चढ्नु भनेको अनावश्यवक खर्च जस्तो लाग्थ्यो । त्यसैले बस स्ट्यान्ड नजिकैको रहेको ठेलामा नरिवल पानी किनेर खाँदै पैदल हिंडे। त्यसपछि भने एक जना लुटेरासँग मेरो जम्काभेट भयो। त्यो सोझो लुटेरासँगको घटना जति सम्झ्यो, उति हाँसो लाग्छ।नरिवलको पानी पिउंदै म व्यस्त सडक पेटीमा हिंडे। अफ्रिका महादेशका प्रत्यक देशमा कुनै न कुनै समयमा हिंसा, हत्या, जातीय युद्द र जनयुद भएका छन् । तर, यस बिषयमा तान्जानिया अपवादको रुपमा रहेको छ। सिमाना जोडिएका मोजाम्बिक, केन्या, युगान्डा, रुवान्डा, कंगो, बुरुन्डि, मलावी सबै कुनै न कुनै हिंसाले पीडित छन्। तर नेपाल भन्दा छ गुणा ठुलो भएर पनि ४ करोड जनसंख्या भएको यो राष्ट्र हिलोमा फुलेको कमल जस्तो छ। मैले थाहा पाएसम्म अफ्रिकाका तीन देशहरू शान्तिप्रिय देशका अनुपम उदाहरण हुन्। घाना, जाम्बिया र तान्जानिया।
यो शहरको बाटोमा पनि रत्नपार्कमा जस्तै चहलपहल छ। उस्तै फोहोर, उस्तै अस्तब्यस्त। स्कुल जाने बच्चाहरू पत्रिका बेच्दैछन् कोहि टन्टालुपुरे घाममा पानीको बोतल बेच्दैछन्। एउटा फुच्चेसँग मैले आज निस्कने साप्ताहिक पत्रिका किनें। त्यो फुच्चेले ङिच्च हाँसेर असान्टे साना (धन्यबाद) भन्यो। मैले जब जब यहाँको पत्रिका, रेडियो, टिभी हेर्छु, तब लाग्छ यो देशमा मिडियाको विकास हुन धेरै बाँकी छ। यहाँको मुख्य दैनिक पत्रिकामा २-३ पेज पनि विज्ञापन हुँन। लेखको स्तर, डिजाइन अति कमजोर लाग्छ। यस मानेमा नेपालले धेरै फड्को मारेको छ। यहाँको बाटो बाटोमा नाइजेरिअन र साउथ अफ्रिकन फिल्म र संगीत को सी डीहरू छ्याप छ्याप्ती बेच्न राखिएको हुन्छ। यो देशको आफ्नो संगीत आफ्नो चल्चित्र होला, तर ब्यवसायिक रुपमा अति नाजुक। नेपाली संगीत चलचित्रको बजार भारत र चीनको दाँजोमा अवश्य सानो छ, तर विश्वका धेरै देशभन्दा माथि नै छ। मलाई लाग्छ, त्यो षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाखौंले रोजगारी पाएका छ्न्।
बाटो काट्ने चोकनिर आइपुगें। अब यहाँबाट मन्दिर नजिकै छ। जेब्रा क्रसिङनिर रातो बत्ति बलेको छ । तर, संसारको सबै ठाउँमा जस्तै यहाँ पनि सबैलाई हतार छ। नियम छैन। जसले ठुलो स्वरमा हर्न बजायो त्यस्कै बाटो। अफ्रिकनहरूको पहिलो सोख भनेको गाडी किन्नु हो किनकि यहाँ गाडी किन्नु र नेपालमा मोटर्साइकल चढ्नु उस्तै लाग्यो । नेपालमा जस्तो सयौ गुणा ट्याक्स छैन। हजार डलरमा युरोप-जापानतिर पुराना भएका गाडीहरू अनलाइन बुक गर्यो भने एक महिनामा घरमै आइउपुग्दो रहेछ। गाडी हुनेको इज्जत पनि त कम छैन ।
बाटोमा ट्याक्सी ड्राइभरहरुले बोलाएर हैरान पार्छन्। तर उनिहरुलाई थाहा छैन, म पनि उनिहरुको जस्तै देशबाट आएको हो भन्ने। म किन मन्दिर जाँदैछु मलाई थाहा थिएन किनकि मेरालागि मन्दिर, मस्जिद, चर्च सबै एकै हो। तर पनि एक पटक अफ्रिकाको मन्दिर हेर्ने इच्छा भने तिब्र थियो। सुनेको थिएँ शहरको अर्को भागको मन्दिरमा गुल्मीका नेपाली पुजारी पनि छन् रे। यो पापी पेटको लागि मान्छेले के पो गर्दैन रु आफ्नो गाउँ छोडेर यो बिरानो ठाउँमा पुजारी हुने नाटक गर्ने के इच्छा थियो होला उनलाई रु जसोतसो जिन्दगी चलाउनु नै छ।यत्तिकैमा एकजना सेतो शर्ट र सिलिक्क आइरन गरेको प्यान्ट लगाएको ५०-५५ वर्षको मान्छेले मेरो बाटो रोक्यो। अभिभावदन गरेपछि निकै विनर्मतापूर्वक अङ्रेजीमा सोध्यो, तिमी यो देशको नागरिक हो कि विदेशी ? किनकि सायद् उसले मलाइ भारतीय-तान्जानियन सोचेको पनि हुन सक्छ। उसको बोली मधुर थियो।
ब्यस्त सडकको छेउमा लगेर उसले भन्यो ुअहिले यो शहरमा लुट र चोरी बढेको छ। म जासुस प्रहरी हुँ, तपाइसंग एक छिन् काम छ भन्योु मैले पनि होला भनी पत्याएँ। त्यसपछि उसले अली विस्तृत रुपमा भन्न थाल्यो ुदिनमा हजारौं मोबाइल, वालेट, घडी जस्ता चिजहरू हराउन थालेका छन् त्यसैले हामीले बाटोमा सबैको मोबाइल र वालेट चेक् गर्छौ। तँपाइ चिन्ता नलिनुस् हामीलाई तँपाइको जम्मा ५ मिनेट भए पुग्छ।’ यति भनेपछि उसले मेरो पासपोर्ट माग्यो। मैले कहिल्यै पनि आफ्नो पास्पोर्ट बोकेर हिँड्दिन तर फोटोकपी भने सधैं साथमा हुन्थ्यो। तैपनि उसलाई आफ्नो परिचय दिनुभन्दा पहिला उसको परिचय पात्र माग्ने विचार गरें।
म संग कुरा गर्दा-गर्दै उसले अर्को मान्छेलाई रोक्यो र मलाइ भनेको कुरा दोहोर्यायो। हेर्दा हेर्दै त्यो मान्छेले आफुसँग भएको मोबाइल, पर्स खोलेर इमान्दारिरुर्वक ‘जासुस प्रहरी’लाई बुझायो। त्यो प्रहरीले सबै सामान लागेर हिंड्न लाग्दा अर्को मान्छेलाई भन्यो ,’हाम्रो अफिस त्यहीँ छ। आउने भए संगै आउ हेर्न, होईन भने ५ मिनेट्मा तिम्रो सामान् फिर्ता हुन्छु। त्यो केटाले पनि इमान्दारिपूर्वक भन्यो,’पर्दैन पर्दैन यसबारेमा मैले टिभीमा न्युज हेरेको थिएँ। यति भन्दै त्यो जासुसले मतिर फर्किदै भन्यो ‘यसपछि तँपाइको पालो आँछ, सबै सामान् ठीक पारेर राख्नु होला’। मुर्ख भन्दा मुर्ख मान्छेले पनि बुझ्ने कुरो, कसैको वालेट र मोबाइल हेरेर उसको हो होईन कसरी पत्ता लाउन सकिन्छ? मलाई एकातिर झनक्क रिस उठ्यो भने अर्कोतिर हाँसो लाग्यो। यो सबै व्यस्त सडकको छेउमा भएको थियो। यदि चाहेको भए त्यहाँबाट हिंड्न सक्थें या परेको भए अरुसँग सहयोग पनि माग्न सक्थें। तर मलाइ यो खेल रमाइलो लागिरहेको थियो। एक किसिमको सस्पेन्स मुभी हेरे जस्तो। अब के होला भनी म त्यहीँ बसिरहें।
अहिले हामी दुइ जना जासुसलाई कुरेर बसिरहेका छौं। ब्यस्त सडकमा हर्नको प्वाँ आवाजले कान खान्छ। त्यसमाथि धुलो। गरीब देश, जँहा पनि उस्तै। स्वतन्त्र हुनभन्दा पहिला अङ्रेजको साशनमा रहेको यँहाको दोस्रो मुख्य भाषा अङ्रेजी हो, त्यसैले यहाँका मानिसहरू राम्रो अङ्रेजी बोल्छन्। त्यो मान्छे पनि मसंग अङ्रेजीमै कुरा गर्न थाल्यो। उसले मलाइ सुनाउँदै थियो ‘आजकाल देशमा असुरक्षा बढेको छ, यी पुलिसहरूले राम्रो काम गर्दैछन्। अस्ति भर्खर् एक जना यसरी नै भाग्न खोज्दा पुलिसले गोली चलाउन परेको थियो त्यसैले पुलिसँग अटेर गर्नुभनेको भनेको आफ्नै ज्यान खतरामा हाल्नु हो’। म उसलाई एक टकले हेरिरहन्छु। बाउलानिर थोरै च्यात्तिएको चेल्सी फुटबल क्लबको निलो जर्सी लगाएको छ। चेल्सीको ड्रोग्बा अफ्रिकाको गौरव हो। जब सिंह जस्तो ड्रोग्बा जोशिएर विश्वकै उत्कृष्ठ टिममा गोल गर्छन् अफ्रिकामा भुकम्प आउँछ। बिचरा संसारले दबाएर राखेका अफ्रिकालाई यसैमा कति गौरव गर्छन्। फुटबलले जोडेको त्यो अर्को अलग्गै संसार हो। अहिले म सम्झिन्छु, ड्रोग्बा चीन छिरेपनि उनको इज्जत र रवाफ उत्तिकै होला।
मैले बुझिसकेको थिएँ त्यो मान्छे त्यँहा मलाइ कुर्न को लागि बसेको छ। तर म पनि थाहा नपाए जसरी नाटक गर्दै थिएँ। यत्तिकैमा उताबाट जासुस प्रहरी सबै समान फिर्ता लिएर आयो। त्यो मान्छेले मतिर हेर्दै भन्यो ‘मैले भनेको होईन’ यी इमान्दार पुलिसहरू राम्रो काम गर्छन् भनेर ? नचोरेको आफ्नै सामान हो भने किन डराउनु ? अब तँपाइको पालो आउँदै छ हैु। यतिबेला सम्म मलाई यँहा पक्कै केही गडबड हुदैंछ र यो जासुस प्रहरी पनि होईन भन्ने शंका लागिसकेको थियो। त्यो कुरामा अझ बल पुग्यो, जब चेल्सीको फ्यान आफ्नो समान फिर्ता पाएको नाटक गरिसकेपपछि पनि त्यँहाबाट हिँडेन। जासुस प्रहरीले यसपापलि फेरि मेरो पासपोर्ट माग्यो। मसँग पासपोर्ट साथमा छैन, चाहिन्छ भने काम गर्ने ठाउँको फोन नम्बर दिन्छु भने। उसले अझै जिद्दी छोडेन। यी सबै भैरहँदा उसको आँखा एक किसिमले झुकिरहेको थियो। आँखाको ईशारा बुझ्नेहरूले तुरुन्त बुझ्न सक्थे कि उ एउटा नाटक गर्दैछ। एउटा मुजुंगो (विदेशि) को मोबाइल र अलिकति डलर झ्याप पार्ने दाउ थियो होला तिनीहरुको। उ अझै जति सक्यो नरम बन्ने प्रयास गर्दै थियो।
काठमाडौंको न्युरोडजस्तै ब्यस्त सडकमा यो घटना भैरहेछ। वरपर हिंडेका कसैलाई थाहा छैन। एक मनले सोचें अरु कसैको सहयोग मागु कि । नजिकै चोकमा २-३ जना ट्राफिक प्रहरीहरू पनि ब्यस्त थिए। सोचें, नहुने केही भयो भने उनीहरुलाई गुहार्नु पर्ला। उसले मेरो पासपोर्ट माग्ने क्रम नरोकिएपपछि मैले उसको परिचय पत्र मागें। सेतो शर्टको खल्तिबाट एउटा भिजिटिङ कार्ड निकाल्दै उसले आफ्नो परिचयपत्र भनी देखायो। जसमा माउन्ट किलिमन्जारो ट्राभल एजेन्सीको फोन नम्बर थियो। अचम्म मान्दै मैले दोहोर्याइ तेहेर्याइ हेरें। मैले ’ट्राभल एजेन्सीको भिजिटिङ कार्ड होईन, तेरो जासुस प्रहरीको आइडि कार्ड मागेको’ भनेपछि उ झसंग भयो। उ विस्तारै नरम हुँदै गयो तर, कस्तो अचम्म ! उसले जासुस भएको नक्कली कार्ड पनि देखाउन सकेन। भित्रभित्रै मलाई दया लाग्यो, बिचरा यसरी पनि के लुट्न बस्या होला। उ गलेको देखेर मेरो हिम्मत बढ्यो। मैले भनें ‘मेरो सबै फोन, वालेट चेक गर्न दिनको लागि तयार भएर बसेको थिएँ तर तैले आफ्नो परिचय पत्र देखाउन सकिनस्।’
बिचरा उ गरीब देशको एउटा गरीब नागरिक थियो। परिवार होला, दारको महँगो कोठाभाडा तिर्नु पर्ने होला। या नुवाकोट, सिन्धुपाल्चोकबाट काठ्मान्डु झरे झै कामको खोजीमा दार झरेको होला। संसारमा चाहने हो भने प्रत्येक मान्छे एउटा चलचित्र बन्छ। मैले त्यसरी हेर्न चाहें उसलाई। तर अचम्म के लाग्यो भने किन यस्तो सोझो र नमिल्दो तरिका अपनायो ? अब जासुसलाई लागिसकेको थियो कि मैले आफ्नो समान उसलाई बुझाउँदिन। मैले एक टकले उसलाई हेरिरहें। यो कथाको अर्को नाटककार केटो पहिले नै हिँडिसकेको थियो। अब मलाई पनि केही रमाइलो गर्न मन लाग्यो। आफ्नो वालेट निकालेर उसलाई देखाउँ झैँ लाग्यो। वालेट झिक्दा मेरो आँखा मेरै ड्राइभिङ लाइसेन्समा पुग्यो। युरोपबाट निकालेको ड्राइभिङ लाइसेन्स भएकाले सबै त्यही देशको लोकल भाषामै थियो। जसमा मेरो फोटो, युरोपियन युनियनको ठुलो झन्डा र बारकोड समेत थियो। कार्डको पछाडिको भागमा मात्र गाडीको संकेत भएकोले अगाडिको मात्र भाग देखाउँदा ड्राइभिङ लाइसेन्स नै हो भनी चिन्न गार्हो हुन्थ्यो। कहिल्यै त्यो कार्ड नदेखेकालाई इन्टेलिजेन्सको आइडी कार्ड भन्दा कम देखिन्थेन। बुढीऔला र चोर औंलाले त्यो कार्ड च्यापेर उसको अनुहारनिर लगेर मैले भने ‘तान्जानियाको जासुस प्रहरीको कार्ड कस्तो हुन्छ मलाई थाहा भएन, तर युरोपको भने यस्तो हुन्छ।’ त्यति भनेर म सरासर मन्दिरतिर लागें।
lau gajab nai vaye6 nepali lutnu vaneko bideshiko pasina 6utnu ho vanne po vaye6 ta.haaaaaaaaaaaaaaaaaa.
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
So interesting ..proud to be Nepali….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Ramro laagyo
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
chor mathi chandaal bhane jhai bhayo hahaha….j.. hos katha ramrai cha.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
jpt gaf website ma narakha na hou
Like or Dislike:
3
8
[जवाफ फर्काउनुहोस्]
salala bageko ramro lekh. Lekhako shaili man paryo. Interesting story.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
बिचरो साह्रै सोझो रहेछ , यदी उसको ठाउमा नेपाली वा भारतीय भैदिएको भए लेखक लाई त्यहिनीरकुटपिट गरेर जे भएको सबै लिएर टाप ठोकिसक्ने थियो
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
Biswas sir, Nice experience, keep on sharing such events.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Bishwas Reply: January 23rd, 2013 at 2:05 pm
Sharad G, pleasantly surprised to have your comment
Hope to catch you someday there in Brazil. Until then.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
j bhaya pani ramailo lagyo padhna hamal ji. ani tanzania ma ghum gham ko lagi matra ki kam ko silsila ma janu bhayako ho?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Rafiki, Dar es Salaam is not the largest city in East Africa. Kenya ko Nairobi chahi hola. Je hos.. katha ramro lagyo…
Asante ni Sana….
East Africa yetu… hakuna matata
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Lekh thikaichha tara lekhai ma sudharen and prasthaune kala ajaia dherai mihinet garna parchha kina bhnae yetro lekhi sake pachhi jaba मैले भनें ‘मेरो सबै फोन, वालेट चेक गर्न दिनको लागि तयार भएर बसेको थिएँ तर तैले आफ्नो परिचय पत्र देखाउन सकिनस्।’tesh pachhi ko kuro bhaneko interesting part ho tara tehi bhayana kina bhane nepal pani yesta ghatna hunchha ra timi pani testai desh bhata gaya ka hau
Gopal
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Good write up kanchha. Keep it up
Daji
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]