आन्दोलनकारीलाई प्रचण्डले भने-’दैलेखका गुण्डाहरु’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

आन्दोलनकारीलाई प्रचण्डले भने-’दैलेखका गुण्डाहरु’

झडपमा डीआइजीसहित ५० घाइते, माओवादी कार्यालयमा आगजनी

१० माघ, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत् विपक्षी दलहरुको अवरोधका बीच एकीकृत नेकपा माओवादी दैलेखको जिल्ला सम्मेलन सुरु भएको छ ।

सभामा सहभागी हुन गएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई रोक्ने प्रयास स्वरुप दैलेख बन्द आहृवान गरेका विपक्षी दलहरुले उद्घाटन समारोहका लागि बनाइएको मञ्चमा नै आक्रमण गरेपछि केहीबेर सभा अवरुद्ध भएको थियो । उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बोल्ने क्रममा विपक्षी कार्यकर्ताले मञ्चमा नै ढुंगामुढा गरेका थिए । त्यसपछि सुरक्षा घेराका बीचमा पुनः सभा सुरु गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैलेखमा आन्दोलनरत् विपक्षी दलहरुलाई ‘गुण्डा’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो-’दैलेखका गुण्डाहरुले सभामा ढुंगा हानेर हामी तीन नेतालाई थप एक बनाइदिएकोमा धन्यवाद ।’

प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टराई विदेशी डलरको खेती गर्नेहरुले शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री भट्टराईले गुण्डाहरुले आफ्नो पार्टीको सभा बिथोल्न खोजेको भन्दै जनताले तह लगाउने चेतावनी दिनुभयो । न्याय नपाए दैलेख जानु भन्ने केही ठूला मिडियाले भनार्इ सिरोपर गर्दै आफूहरु न्याय खोज्न दैलेख आएको भन्दै उहाँले अन्य दलको शान्तिपूर्ण सभामा आक्रमण गर्ने लोकतन्त्रवादीहरुको न्याय पनि देखिएको बताउनु भयो ।

डीआइजीसहित ५० घाइते

सभामा अवरोध गर्न खोज्ने विपक्षी कार्यकर्ता र प्रहरीबीच पटक-पटक झडप भएको थियो । झडपका क्रममा डीआइजी टोपेन्द्रध्वज हमालसहितका ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा एमाले जिल्ला अध्यक्ष अमरबहादुर थापा, कांग्रेस सभापतिसहितका आन्दोलनकारी घाइते भएका छन् ।

प्रर्दशन गर्दै विपक्षी कार्यकर्ता ।

दैलेखबाट प्रतिक्रान्ति सुरु भोः सापकोटा

प्रदर्शनकारीहरूले गणेशचोकमा रहेको  माओवादी कार्यालयमा आगजनी गरेका छन् । एमाओवादीले आफ्नो पार्टीको दैलेख जिल्ला कार्यालयमा विपक्षी काँग्रेस-एमाले कार्यकर्ताबाट भएको आगजनीप्रति निन्दा गरेको छ । प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै विचारमा प्रतिस्पर्धा गर्न डराएकाहरुले आफ्नो पार्टी कार्यालयमा आगजनी गरेको बताउनुभएको छ । जिल्ला अधिवेशन भाँड्ने षड्यन्त्र विफल भएपछि अत्तालिएका विपक्षीले तोडफोड र आगजनीको साहरा लिएको प्रवक्ता सापकोटाको भनाइ छ ।

काँग्रेस, एमाले, राप्रपा र राप्रपा नेपालजस्ता विपक्षी गठबन्धनमा रहेका दलहरूले दैलेखबाट योजनाबद्ध रुपमा प्रतिक्रान्ति थालेको सापकोटाको टिप्पणी छ । ‘विपक्षी गठबन्धनले योजनाबद्ध रुपमा दैलेखबाट प्रतिक्रान्ति थालेको छ’, सापकोटाले भन्नुभयो, ‘तर जनता र हाम्रो पार्टीका कार्यकर्ताले उनीहरुको प्रतिक्रान्तिकारी हर्कत चकनाचुर पारिदिएका छन् ।’ आफ्नो पार्टीको कार्यक्रममा विशाल जनताको उपस्थिति देखेर काँग्रेस-एमाले आत्तिएको सापकोटाको दाबी छ ।

शान्तिपूर्ण रुपमा अधिवशेन भइरहेका बेला लुकेर आक्रमण गर्नु अलोकतान्त्रिक र अप्रजातान्त्रिक हर्कतबाहेक केही हुनै नसक्ने भन्दै सापकोटाले विचारमा प्रतिस्पर्धा गर्न चुनौती दिनुभएको छ ।

पत्रिकाको कार्यालयमा तोडफोड

विपक्षी दलहरुको आन्दोलनलाई साथ दिएको भन्दै एमाओवादीका कार्यकर्ताले हाम्रो तेस्रो आँखा दैनिकको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले कम्प्युटर, टेबल, कुर्सी र सिसा तोडेका हुन् । यसअघि बिहान वाइसीएलका कार्यकर्ताले १० पत्रकारलाई डेकेन्द्रकै हालत बनाउने धम्की दिएको उनीहरुले बताए ।

सम्बन्धित शीर्षकहरु